‘एनआएनमा राजनीतिक हस्तक्षेप असह्य’
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेता रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । आगामी अक्टोबरमा हुने निर्वाचनमा केन्द्रीय सचिव पदका प्रत्यासी समेत रहेका उनले पार्टीगत राजनीति गर्नेहरुका लागि पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए । एनआरएनलाई भने गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्ने उनको जोड छ ।
एनआरएनएको दशौं महाधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले शनिबार गरेको बहस कार्यक्रममा बोल्दै उनले एनआरएनमा पार्टी निकटका उमेदवारलाई जिताउन भन्दै कांग्रेस महामन्त्रीले लेखेको पत्रप्रति असन्तुष्टि जनाए ।
कुनै पार्टीको कार्यालय तथा मन्त्रालयबाट एनआरएनका मतदान अधिकृतलाई दबाब दिनु वा पत्र लेख्नु दुःखद भएको उनको भनाइ छ ।
पछिल्लो समय एनआरएनमा चुनाव जित्नका लागि जस्तोसुकै कदम चाल्न थालिएको भन्दै सिम्खडाले त्यसप्रति आपत्ति जनाए । ‘केन्द्रिय नेतृत्वमा धनी र सम्भ्रान्तहरुको बाहुल्यता बढ्दै गएकाले एनआरएनए सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकसित हुन नसकेको देखिन्छ । त्यसलाई चिर्न र संस्थालाई सबैको बनाउन मैले उमेद्वारहरु घोषणा गरेको हुँ,’ सिम्खडाले भने ।
आफ्नो उम्मेदवारी दलीय आधारमा वा गुटगत भागबण्डाका आधारमा नभएको सिम्खडाले दावी गरे ।