नक्कली सर्टिफिकेट देखाएर अमेरिका जान खोज्ने ६ जना पक्राउ
दश जोड दुईको नक्कली सर्टिफिकेट देखाएर अमेरिका जान खोज्ने ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । इडिभी ‘यूएस डाइभर्सिटी भिसा’–२०२० को नतिजामा नाम निस्किएपछि भिसा प्रक्रियाका लागि नक्कली सर्टिफिकेट पेश गरेका ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा पाल्पा घर भएका सुमितरत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल, नवलपरासी घर भएका नरेश केसी, लक्ष्मण पाठक, काभ्रे घर भएका दिप विष्ट र काठमाडौंका सोहिली शाही छन् । आरोपीहरुले उच्च माध्यमिक शिक्षा परिषद्बाट जारी हुने शैक्षिक प्रमाणपत्र नक्कली बनाएको अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए । भिसा प्रक्रियाका लागी आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिहरुले भिसा प्रयोजनका नक्कली प्रमाणपत्र पेश गरेको सुचना प्रहरीले दूतावासले नै दिएको थियो ।
आरोपीहरुलाई महाराजगञ्जस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । मुलुकी अपराध संहिता–२०७४ अनुसार लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको एसएसपी खापुङ्गले बताए ।