सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रतिनिधिसभाको गतिरोध लम्बिने संकेत, उपेन्द्रलाई अझै दल विभाजनको डर !

एमसीसीको विरोधमा विप्लवको प्रदर्शन
सोमबार, २८ भदौ २०७८, २० : २६
सोमबार, २८ भदौ २०७८

आज २०७८ भदौ २८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा प्रतिनिधिसभाको गतिरोध लम्बिने संकेत, एमसीसीको विरोधमा विप्लवको प्रदर्शन, बागमती र प्रदेश १ सरकार ढाल्न नेकपा एकीकृत समाजवादी अग्रसर, डडेल्धुराको वडा अधिवेशनलाई रामचन्द्र पौडेल पक्षले नमान्ने, जसपा अध्यक्ष यादवलाई अझै दल विभाजनको डर !, राष्ट्रियसभा बैठकमा एमालेको अवरोध जारी, एमसीसीप्रति महन्थ ठाकुर सकारात्मक लगायत छन् । 

१. प्रतिनिधिसभाको गतिरोध लम्बिने संकेत
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले गर्दै आएको विरोध प्रदर्शन अन्त्य गर्ने पहल स्वरुप सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले नै सहभागी भएन । एमालेले बहिष्कार गरेका कारण पनि सो बैठकले ठोस निष्कर्ष निकाल्न सकेन । एमालेले सभामुखको भूमिकामाथि नै प्रश्न उठाउँदै आएको छ । दल विभाजनमा सभामुखले भूमिका निर्वाह गरेको भन्दै एमालेले आफूले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दबाब दिँदै आएको छ । छलफलका लागि बोलाएको बैठकमै एमाले सामेल नभएपछि प्रतिनिधिसभाको गतिरोध लम्बिने संकेत देखिएको छ ।

​२. एमसीसीको विरोधमा विप्लवको प्रदर्शन
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा विरोधसभा आयोजना गरेको छ । विरोधसभालाई सम्बोधन गर्दै विप्लवले एमसीसीले नेपालको राष्ट्रिय स्वाधीनतामा आँच आउने भन्दै उक्त सम्झौतालाई कुनै पनि हालतमा स्वीकार्न नहुने प्रस्ट पारे । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसी पारित भएमा नेपाल खरानी हुने चेतावनी दिए । नेकपा मालेका महासचिव सीपी मैनालीले नेपालमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यका साथ एमसीसी अघि बढाइएको आरोप लगाए ।

३. बागमती र प्रदेश १ सरकार ढाल्न नेकपा एकीकृत समाजवादी अग्रसर
नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती र प्रदेश १ सरकारलाई विस्थापित गर्ने अभियान थालेको छ । गठबन्धनको सहयोगमा नेकपा एकीकृत समाजवादी पार्टीले एमालेको नेतृत्वमा रहेका दुवै प्रदेश सरकारलाई विस्थापित गर्ने तयारी थालेको हो ।

४. डडेल्धुराको वडा अधिवेशनलाई रामचन्द्र पौडेल पक्षले नमान्ने
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ २५ मा डडेल्धुरामा भएको वडा अधिवेशनलाई रामचन्द्र पौडेल पक्षले नमान्ने भएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा भएको अधिवेशनलाई नै वरिष्ठ नेता पौडेल पक्षले अमान्य घोषणा गरेको हो । यसले गर्दा काँग्रेसभित्र संस्थापन र इतर पक्षबीच थप दुरी बढ्ने सम्भावना देखिएको छ ।

५. जसपा अध्यक्ष यादवलाई अझै दल विभाजनको डर !
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अझै पनि पार्टी विभाजन हुने हो कि भन्ने डरले सताइरहेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश कायम रहेको अवस्थामा आफूले मन्त्रिपरिषदमा सामेल हुने व्यक्तिको सूची पठाउँदा मन्त्री पद नपाएकाहरु मिलेर दल विभाजन गर्ने हुन् कि भन्ने चिन्ताले उनलाई सताएको हो । सोही अनुसार उनले प्रधानमन्त्री देउवालाई उक्त अध्यादेश फिर्ता लिन वा निस्क्रिय तुल्याउन सुझाव दिएका छन् ।

६. राष्ट्रियसभा बैठकमा एमालेको अवरोध जारी
राष्ट्रियसभा बैठकमा नेकपा एमालेको अवरोध जारी छ । सोमबार राष्ट्रियसभाको दुईवटा बैठक बसेकोमा दुवै बैठकमा एमालेले विरोध प्रदर्शन गरेको थियो । एमालेका सांसदहरु आफ्नो कुर्सीमा नबसी विरोध जनाइरहे । त्यसका बाबजुद बैठकको कारवाही भने जारी रह्यो ।

७. नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आह्वान
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको सांगठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न असोज ५ गतेका लागि बैठक बोलाइएको हो । यसैबीच नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सामेल हुने भएको छ ।

८. एमसीसीप्रति महन्थ ठाकुर सकारात्मक
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रति आफू सकारात्मक रहेको बताएका छन्  एमसीसीका उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमणका क्रममा भेटेका दलका नेताहरुमध्ये लोसपाका अध्यक्ष अध्यक्ष ठाकुरले मात्र एमसीसीबारे स्पष्ट जवाफ दिएका छन् ।

९.स्पञ्ज आइरनको आयातमा छुट दिने निर्णयको विरोधमा उद्योगीहरु
सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनको आयातमा छुटमाथि छुटको व्यवस्था गरेपछि डण्डी उद्योगीले विरोध गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार बजेट पेश गर्दै स्पञ्ज आइरनको आयात गर्दा शून्य प्रतिशत भन्सार र शून्य प्रतिशत अन्तःशुल्कको व्यवस्था गरेका थिए । 

१०. पछिल्लो २४ घण्टामा एक हजार ४८६ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट एक हजार ४८६ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार २६० जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको सुनुवाइको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । अधिवक्ता अर्यालले सोमबार सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता गराएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ जना चिकित्सक र नर्सको स्तरवृद्धि गरेको छ । स्तरवृद्धि भएका १३ स्वास्थ्यकर्मीमध्ये ११ जना चिकित्सक भने दुई जना नर्स रहेका छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप