नियम मिच्दै ट्रमा सेन्टरमा निमित्त निर्देशक पठाइयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको नेतृत्वमा मेडिकल सुपरिटेन्डेन्ट खटाउनुपर्ने सट्टामा निर्देशक पठाएको छ । ट्रमा सेन्टरमा सुपरिटेन्डेन्टमा एघारौं तहका स्वास्थ्यकर्मीलाई पदबहाली गराउनुपर्ने हुन्छ । तर, राज्यमन्त्री स्तरीय निर्णय गर्दै दशौं तहका डा. प्रमोद जोशीलाई ट्रमा सेन्टरको निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।
ट्रमाको संगठन संरचना अनुसार निमित्त मेडिकल सुपरिटेन्डेन्टको पत्र दिनुपर्नेमा राज्यमन्त्री उमेश श्रेष्ठले नियमलाई मिच्दै निमित्त निर्देशकको पत्र दिएका हुन् ।
यसअघि पनि ओली सरकारले एघारौं तहको मेडिकल सुपरिटेन्डेन हुने व्यवस्थालाई लत्याउँदै दशौं तहका डा. सन्तोष पौडेललाई निमित्त मेसुको जिम्मेवारी दिएको थियो । ट्रमा सेन्टरका मेसु डा. पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरी काजमै ट्रमा सेन्टरमै राखिएको छ ।
यसअघि दशौं तहको चिकित्सकलाई मेसु गराउँदा ट्रमा सेन्टरका चिकित्सकहरुले काम गर्न असहज भएको भन्दै आपत्ति जनाएका थिए ।