विभिन्न प्रस्तावमा छलफल गर्न एमालेले बनायो दश समूह
नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पेस भएका तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठानिक र विधान संशोधन प्रस्ताव पेस गरेको केन्द्रीय सदस्य नारदमुनि रानाले जानकारी दिए ।
त्यसलगतै ती प्रस्ताव र प्रतिवेदनमा समूहगत छलफलका लागि दशवटा समूह बनाइएको थियो । सात प्रदेश, जनवर्गीय संगठन र फाँट इन्चार्ज गरी दशवटा समूहमा प्रस्तावमाथि छलफल हुनेछ । अर्को बैठक शनिबार बिहान ११ बजे बसेर समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरी बैठक समापन गर्ने तयारी छ । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ ।