सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ: मन्त्रिपरिषद् विस्तारमा देखिएको गाँठो फुक्दै, माओवादी केन्द्रमा एकै व्यक्ति दुई कमिटीमा बस्न नपाउने

प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा
बुधबार, १३ असोज २०७८, २० : ०५
बुधबार, १३ असोज २०७८

आज २०७८ असोज १३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा मन्त्रिपरिषद् विस्तार होला त बिहीबार !, प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा, एमालेको विधान अधिवेशनमा आउने प्रतिनिधिलाई एक छाकमात्र खाना, माओवादी केन्द्रमा एकै व्यक्ति दुई कमिटीमा बस्न नपाउने, माधवकुमार नेपाल अस्वस्थ, राष्ट्रपतिबाट बजेटसम्बन्धी दुई विधेयक प्रमाणीकरण लगायत छन् । 

१. मन्त्रिपरिषद् विस्तार होला त बिहीबार !
सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा देखिएको गाँठो बिहीबार फुकाउने भएको छ । गठबन्धन घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका अनुसार बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको छ । लामो समयदेखि मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा विभिन्न मन्त्रालयका काम प्रभावकारी हुन सकेको छैन भने सरकारले पनि आलोचना खेप्दै आएको छ । यसअघि मन्त्रिपरिषद् विस्तारका लागि भएका प्रयास विभिन्न कारणले सफल हुन सकेको थिएन । त्यसैले बिहीबार पनि मन्त्रिपरिषद् विस्तार हुनेमा आशंका भने कायमै छ । यद्यपि, दलहरुबीच मन्त्रालयको भागवण्डा लगायतका विषय टुङ्गिसकेको बताइएको छ । 

२. प्रदेश २ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा
प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मारेको छ । प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्य बराबरको साइकल खरिद गरेकोमा अनियमितता भएको उजुरीपछि आयोगले आवश्यक कागजात नियन्त्रणमा लिएको जनाइएको छ । यसैबीच प्रदेश २ प्रदेशसभाको अधिवेशन असोज २० गतेका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो ।

३. एमालेको विधान अधिवेशनमा आउने प्रतिनिधिलाई एक छाकमात्र खाना
नेकपा एमालेको विधान अधिवेशनमा सहभागी प्रतिनिधिलाई दैनिक एक छाक खाना र एक पटक खाजा खुवाइने भएको छ । यसका लागि पार्टीले आवश्यक प्रवन्ध गरिसकेको जनाइएको छ । अधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई आवासको व्यवस्था भने सम्बन्धित प्रदेश कमिटीले गर्ने भएको छ । बेलुकाको खाना भने प्रतिनिधि आफैले व्यवस्था गर्नुपर्ने बताइएको छ ।

४. माओवादी केन्द्रमा एकै व्यक्ति दुई कमिटीमा बस्न नपाउने
नेकपा माओवादी केन्द्रमा अब एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने भएको छ । बुधबार बसेको सो पार्टीको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने आँकलन समेत बैठकले गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन् । रुघा, खोकी र ज्वरो आएका उनी हाल घरमै बसेर आराम गरिरहेका छन् । उनको सचिवालयका अनुसार कोरोनासँग मिल्दो लक्षण देखिए पनि पीसीआर परीक्षणमा भने ‘नेगेटिभ’ रिपोर्ट आएको छ । 

६. राष्ट्रपतिबाट बजेटसम्बन्धी दुई विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गरेकी छन् । बुधबार राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी हुन् ।

७. हवाई उड्डयन क्षेत्रका समस्या छानबिन गर्न समिति गठन
आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेको समस्या तथा चुनौतीबारे छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बुधबार बसेको बैठकले सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

८. महिलालाई बन्धक बनाउने दम्पती पक्राउ
काठमाडौंको बानेश्वरमा एक महिलालाई बन्धक बनाएको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । पीडित महिलाको उजुरीका आधारमा प्रहरीले कात्यानी चोकमा डेरा गरी बस्ने मोरङ, विराटनगर–१७ घर भएका निरज शर्मा र नीतु शर्मालाई पक्राउ गरेको हो ।

९. चरित्र हत्याको आरोपमा विभिन्न युट्युव च्यानलका सञ्चालक पक्राउ
महिलाको चरित्र हत्या गरेको तथा समाजमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रसारण गरेको भन्दै प्रहरीले चार वटा युट्युव च्यानलका सञ्चालकलाई पक्राउ गरेको छ । एक पीडित महिलाको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

१०. पछिल्लो २४ घण्टामा एक हजार १५७ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट एक हजार १५७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ११३ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
अमेरिका जानका लागि ‘नक्कली सर्टिफिकेट’ किनेर दूतावासमा पेस गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । युएस डाइभर्सिटी भिसा (इडिभी)–२०२१ मा नाम निस्केपछि अमेरिकी दूतावासमा ‘प्लस टु’को नक्कली सर्टिफिकेट पेस गर्ने र बनाउनेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

राज्य सञ्चालकहरुको अपरिपक्व नीतिका कारण कसरी विकासका नाममा जनतामाथि थिचोमिचो हुँदोरहेछ भन्ने उदाहरण बन्न पुगेको छ बूढीगण्डकी आयोजना । यो आयोजनाका कारण कयौं मानिसहरु विस्थापित बनेका छन् । तर, ७ वर्षसम्म आयोजना बन्ने कुनै सुरसारै छैन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आगामी अक्टोबर २० मा चुनावको मिति तय भएको छ । चुनावको मिति नजिकिँदै गर्दा एनआरएनएभित्रको विवाद पनि सतहमा आइरहेको छ । महाधिवेशन प्रतिनिधि चयनको विवादमाथि परराष्ट्र मन्त्रालयले छानविन गरिरहँदा नेतृत्वका आकांक्षीमध्येका एक कुल आचार्य तोकिएको मितिमा चुनाव हुनेमा आफू द्विविधामा रहेको बताउँछन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप