प्रदेश २ मा एमाले संसदीय दलको नेता चयन
बिहीबार, १४ असोज २०७८, २२ : ११
नेकपा एमालेले प्रदेश २ मा लामो समयपछि संसदीय दलको नेता चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा सत्यनारायण मण्डललाई दलको नेतामा चयन गरेको हो । त्यस्तै प्रमुख सचेतकमा किशोरी साह कमललाई चयन गरिएको छ । प्रमुख सचेतकमा चयन भएका साहले बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए ।
यसबारे प्रदेशसभा सचिवालयलाई जानकारी समेत गराइसकिएको बताउँदै उनले भने– ‘अब बस्ने संसदीय दलको बैठकबाट उपनेता र सचेतक चयन गरिनेछ ।’ सर्वोच्च अदालतको अध्यादेशपछि ब्यूँतिएको नेकपा एमालेमा विभाजनलगत्तै लामो समयदेखि संसदीय दलका नेता लगायतका पद रिक्त थियो ।
एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएपछि अहिले प्रदेशसभामा एमालेका ८ जना र एकीकृत समाजवादीका १३ जना प्रदेशसभा सदस्य छन् ।