सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
टिप्पणी

संविधान मिच्ने अपराधमा एमालेको संस्थागत ढाकछोप

सोमबार, १८ असोज २०७८, १५ : ०५
सोमबार, १८ असोज २०७८

 विभिन्न तीनवटा प्रस्ताव पारित गर्दै नेकपा एमालेको प्रथम तीन दिने विधान महाधिवेशन आइतबार सकिएको छ । विधान महाधिवेशनलाई मुख्यतः नीति र विधि बनाउने थलोका रुपमा चिनिन्छ । गल्ती र कमीकमजोरीहरू सच्याइन्छ, तर एमालेको सम्पन्न विधान महाधिवेशनले कमीकमजोरी सच्चाउने भन्दा पनि व्यक्तिले गरेका गल्तीहरूलाई सिंगो पार्टीले ढाकछोप गरेर संस्थागत रुपमै त्यसलाई वैधानिकता दिने प्रयासको दृष्टान्त बन्न पुगेको छ ।

संविधान मिचेर गम्भीर अपराध गर्ने व्यक्तिलाई नै एमालेले आगामी दिनमा पनि सर्वशक्तिमान बनाउने नीति अवलम्बन गर्ने बाटो खुला गरेको छ । नेपालको अहिलेसम्मको राजनीतिक इतिहासमै यति धेरै (झण्डै साढे ६ हजार) प्रतिनिधि भेला गरेर विधान महाधिवेशन गर्ने पार्टी पनि नेकपा एमाले नै भएको छ ।

६ हजार एमालेका नेता कार्यकर्ताहरु अध्यक्ष ओलीको संसद विघटन गर्ने गम्भीर अपराधको साक्षी बसेर फिर्ता भएका छन् । केन्द्र सरकारदेखि प्रदेश सरकारबाट समेत लगातार बाहिरिदै गएको नेकपा एमालेको यो महाधिवेशनले मुख्यत ओलीको अपराध ढाकछोप र उनै ओलीलाई सर्वशक्तिमान बनाउने लगायतका ५ सन्देश दिएको छ ।

पहिलो : ओलीको अपराध ढाकछोप

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा संविधानविपरीत दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए । ओलीको यो कदम असंवैधानिक भनेर सर्वोच्च अदालतले उल्टाइदियो । तर, यति ठूलो र गम्भीर अपराधमा पनि एमालेको यो महाधिवेशनमा संसद विघटन गल्ति थियो भनेर स्वीकार गरिएन । बरु ओलीको उक्त कदम गलत हो भन्ने नेताहरुको फरक मत समेत दबाएर राखियो ।

बहुमतका बलमा स्थायी समितिमा दर्ज गरिएका ति फरक मतको न सम्बोधन नै गर्ने प्रयास गरियो न कहिँकतै उच्चारण गर्ने हिम्मत ? त्यतिमात्रै होइन, ओलीले संसद विघटनलाई आफ्नो बाध्यता भनेर ढाकछोपमा उत्रँदा अरु नेता समेत त्यसैलाई सत्य भनेर ओलीकै प्रशंसामा रमाएको देखियो ।

दोस्रो : ओली नै सर्वशक्तिमान

ओली अपराधको त यो महाधिवेशनले उत्खनन त गरेन नै बरु अर्को गल्ती गर्यो । त्यो गल्ती थियो आगामी दिनमा पनि ओली नै नेतृत्वमा पुर्याउने गरि गरिएको विधान संशोधन । ७० बर्षे उमेर हद र कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल रहने व्यवस्था विधानमै गरेर ओलीलाई आगामी दशौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बन्ने बनाउने बाटो खुला गरिएको छ । यति धेरै नेता भएको यो पार्टीमा ओली बाहेक अरु कसैले नेतृत्व नै गर्न सक्दैनन् भन्ने सन्देश यो व्यवस्था गरेबाटै पुष्टि हुन्छ ।

तेस्रो : माधव नेपाल कमजोर सावितको प्रयास

ओलीले विधान महाधिवेशन उद्घाटनदेखि समापनसम्मका भाषणमा आफ्नो स्वेच्छाचारिताका​ कारण पार्टीमा विग्रह र विभाजन आएको स्वीकार त गरेनन् नै बरु माधव नेपाल र प्रचण्डहरूलाई गाली गरेर आफु पानीमाथिको ओभानो हुने प्रयत्न गरे ।

सँगै उनले माधव नेपालले गठन गरेको पार्टीलाई पार्टीको हैसियत नै नभएको भन्दै विधान महाधिवेशनमार्फत पार्टी विभाजन नभएको पुष्टि गर्ने प्रयत्न गरे । ‘एमाले एक ढिक्का छ र विभाजन ठिक होइन भन्ने सन्देश यो महाधिवेशनले दिएको छ । कार्यकर्तामा देखिएको उत्साहले पार्टी छोडेर गएका नेता कार्यकर्ताको पूर्ति पनि छिटै हुन्छ भन्ने आत्मबल बढाएको छ’, एमाले उपाध्यक्ष समेत रहेका युवराज ज्ञवालीको भनाइ छ ।  

चौथो : जबजलाई थप ब्रान्डिङ

नेकपा विभाजनपछि एमालेमा जनताको बहुदलीय जनवाद कि जनताको जनवादलाई मान्ने भन्ने अन्योल थियो । तर यो महाधिवेशनले यो अन्योल पनि हटाएको छ र जनताको बहुदलीय जनवादलाई आत्मसात गर्दै जवजबाटै समाजवादको आधार तय गर्ने किटान गरेको छ ।

‘पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको हुनाले र समाज पुँजीवादी बनिसकेकाले अबको कार्यक्रम समाजवादी कार्यक्रम हुने भन्ने तर्क गरियो वा जनताको बहुदलीय जनवादको सान्दर्भिकता नरहेको निष्कर्षमा पुगियो भने त्रुटिपूर्ण मात्रै होइन, हानिकारक हुनेछ’, अध्यक्ष केपी ओलीले पेश गरेर पारित भएको राजनीतिक प्रस्तावमा भनिएको छ ।

पाँच : सरकारको भण्डाफोर र चुनावी एजेण्डा  

एकै ठाउमा धेरै नेता कार्यकर्ता जम्मा पारेर सरकारका कमजोरी केलाउँदै भण्डाफोर गर्न पनि एमालेका लागि यो महाधिवेशन सहयोगी बनेको छ । किनभने देशैभरका नेता कार्यकर्ताले अव एक स्वरमा आ–आफ्नो ठाउँबाट भन्नेछन् तीन महिनासम्म मन्त्रिमण्डललाई पूर्णता दिन नसक्ने यो सरकारले केही काम गर्न सक्दैन ।

आगामी निर्वाचनमा तीनै तहमा पहिलो पार्टी बन्ने एमालेले उद्घोष गरेको एमालेले सरकारका कमजोरी जनतामा पुर्याएर आफ्नो पक्षमा जनमत तान्ने प्रयास गर्नेछ । किनभने एमालेको यो विधान महाधिवेशनबाट फर्केका नेता कार्यकर्ता आगामी फागुन चैतमा हुने स्थानीय चुनाव लक्षित प्रशिक्षण समेत पाएर फर्केका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप