सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फेसबुकले मानिसमा विभाजन ल्याइरहेको छ, लोकतन्त्रलाई कमजोर बनाइरहेको छ : पूर्व कर्मचारी

बुधबार, २० असोज २०७८, १० : ५६
बुधबार, २० असोज २०७८

फेसबुककी एक पूर्व कर्मचारीले अमेरिकी सांसदहरूलाई कम्पनीको साइट र एपले बालबालिकाहरूलाई नोक्सान पु–याउने, विभाजनलाई बढावा दिने र लोकतन्त्रलाई कमजोर बनाउने बयान दिएकी छन् । ३७ वर्षीया फ्रान्सिस हगन फेसबुकमा प्रोजेक्ट म्यानेजरका रूपमा काम गर्थिन् भने अहिले उनी ह्वीसलब्लोअर बनेकी छन् । क्यापिटल हिलमा चलिरहेको एक सुनवाइमा उनले फेसबुकको कडा आलोचना गरिन् ।

पछिल्लो समय फेसबुकलाई नियमन गर्नुपर्ने माग बढिरहेको छ । यी आरोपहरूलाई खण्डन गर्दै कम्पनीका संस्थापक मार्क जकरवर्गले भने मिडिया कभरेजमा कम्पनीको ‘झूटो तस्बिर’ चित्रित गरेको आरोप लगाएका छन् । कर्मचारीहरूलाई लेखिएको पत्रमा उनले भनेका छन्, ‘यी दाबीहरूको कुनै मतलब छैन । हामी मानिसको सुरक्षा, भलाई र मानसिक स्वास्थ्य जस्ता मुद्दाको बारेमा गहिरोरूपमा ध्यान दिन्छौँ ।’

उनले पत्रमा भनेका छन्, ‘यस्ता कभरेज निकै दुखद छ जसले हाम्रो काम र हाम्रो उद्देश्यलाई गलत तरिकाले प्रस्तुत गरिरहेका छन् ।’ हगनले आइतबार सीबीएस न्युजलाई दिएको अन्तरवार्तामा उनले हालै वाल स्ट्रिट जर्नलसँग फेसबुकको कयौँ आन्तरिक दस्तावेज साझा गरेको बताएकी थिइन् । दस्तावेजको आधारमा जर्नलले आफ्नो मिडिया रिपोर्टमा इन्सटाग्रामले गरेको शोधमा एपले युवतीहरूको मानसिक स्वास्थ्यमा नोक्सान पु-याउन सक्ने पत्ता लगाएको बताएको थियो ।

फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो । कम्पनीका अनुसार हाल २.७ अर्ब प्रयोगकर्ता मासिकरूपमा सक्रिय रहेका छन् । करोडौँ मानिस कम्पनीका अन्य उत्पादन ह्वाट्सएप र इन्सटाग्राम प्रयोग गर्छन् । प्रयोगकर्ताहरूले आफ्नो प्राइभेसी कायम राख्न नसकेको र फेक न्युज र गलत जानकारीको प्रचार प्रसार रोक्न आवश्यक कदम चाल्न नसकेको भन्दै फेसबुकको आलोचना पनि गरिरहेका छन् ।  

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप