घटस्थापनामा भुटनदेवी मन्दिरमा छैन रौनक (तस्बिरहरु)
मकवानपुरको भुटनदेवी मन्दिरमा विगतका वर्षमाजस्तो दसैँको रौनक देखिएको छैन । विगतका वर्षमा दसैँको घटस्थापनादेखि नै दर्शनार्थीहरूको भिड लाग्ने भुटनदेवी मन्दिरमा यसपाली भने खासै रौनक देखिएको छैन ।
भुटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले नवरात्री सुरु भएपछि मन्दिरमा जसरी दर्शनार्थी आउने गर्दथे, त्यो भिड नदेखिएको बताए । कोरोनाको जोखिम कायमै रहेकाले पनि मन्दिरमा भक्तजनको उपस्थिति कम भएको हुन सक्ने उनको भनाइ छ ।
भुटनदेवी मन्दिर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा अवस्थित एक प्रसिद्ध शक्तिपीठ हो । हेटौँडा नगरपालिकाको मध्य भागमा अवस्थित छ । महाभारतकालीन इतिहास बोकेको मन्दिरमा हिन्दु तथा बौद्ध धर्मावलम्बीले पूजा अर्चना तथा भाकल राख्ने चलन रहि आएको पाइन्छ । विशेषगरी बडा दसैँको नवरात्रीमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ भने हरेक शनिबार पनि उल्लेख्य रूपमा भक्तजनको उपस्थिति रहन्छ ।
दुई तहको छानायुक्त नेपाली तलेजु शैलीमा निर्मित भुटन देवीको मन्दिरले मध्यकालीन नेपाली शैलीलाई दर्साउने गर्दछ । मन्दिरको स्थापना मध्यकालतिर मकवानपुरे सेनहरूले गराएको मानिन्छ । पछि २०२८ सालमा यसको जीर्णोद्धार गरिएको थियो । तर पुराना घण्टीहरू करिब एक सय वर्ष अगाडिदेखिका पाइएका छन् ।
भुटनदेवी मन्दिरछेउ लक्ष्मीनारायण र गणेश लगायतका देवीदेवताका मूर्ति र मन्दिरहरू पनि छन् । भुटनदेवी मन्दिर पुरानो कला र संस्कृतिको परिचायक हो । हेटौडाको यस मन्दिर भेगमा प्रायः श्रद्धालुहरूको भीड भई नै रहन्छ ।