आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशविरुद्ध नेपाललाई इतिहास रच्ने अवसर

मङ्गलबार, २६ असोज २०७८, १८ : ०७
मङ्गलबार, २६ असोज २०७८

नेपालले साफ च्याम्पियनसिप फुटबलअन्तर्गत समूहचरणको अन्तिम खेलमा बिहीबार बंगलादेशको सामना गर्दैछ । यस खेलमा कम्तीमा बराबरी मात्रै खेल्न सके पनि नेपालले फाइनल यात्रा गर्दै नयाँ इतिहास रच्नेछ । 

यता, २००३ को च्याम्पियन बंगलादेशले भने फाइनल पुग्नका लागि खेल जित्नुपर्नेछ । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले यो खेल निकै दबाबपूर्ण हुने प्रतिक्रिया दिएका छन् । ‘खेल निकै दबाबपूर्ण हुनेछ । बंगलादेशले जित्न चाहन्छ । नेपालले पनि कम्तीमा बराबरी खेल्नुपर्ने अवस्था छ । त्यसैले यो खेल निकै कठिन छ,’ उनले भने । 

यता नेपाली टिमका गोलकिपर विशाल श्रेष्ठले दबाबलाई चिर्नका लागि लामो समयदेखि तयारी गरिरहेको बताए । ‘हामीले यो खेलका लागि लामो समयदेखि तयारी गरिरहेका छौँ । यो हाम्रा लागि दबाब र अवसर पनि हो । नयाँ इतिहास सिर्जना गर्नका लागि । हामीले देशका लागि केही गर्नुछ भन्ने भावना राखेर मैदानमा उत्रनेछौँ,’ उनले भने । 

मालदिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ मा सुरु हुनेछ । नेपाल र बंगलादेशबीच अहिलेसम्म खेलिएका १२ भिडन्तमध्ये ४ खेल नेपालले जितेको छ, चार खेल बंगलादेशले जितेको छ भने ४ खेल बराबरीमै टुंगिएको छ ।  

समूह चरणको अवस्था यस्तो ?

समूह चरणमा पहिलो स्थानको मालदिभ्स र दोस्रो स्थानको नेपालको तीन खेलबाट समान ६ अङ्क छ । गोलअन्तरमा माल्दिभ्सभन्दा नेपाल अघि छ । समान खेलबाट ५ अङ्क जोडेको भारत र ४ अङ्क जोडेको बंगलादेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् । श्रीलङ्काले समूह चरणका सबै चार खेल खेलिसक्दा केवल १ अंकमात्रै जोडेको छ । त्यसैले प्रतियोगितामा उसको चुनौती समाप्त भइसक्यो । 

समूह चरणमा शीर्ष दुई स्थान हासिल गर्ने टिमबीच फाइनल भिडन्त हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप