आफ्नै जन्मदिनमा यी अभिनेताले गुमाएका थिए पूरा परिवार, बुवाले नै हानेका थिए सबैलाई गोली
सन् १९९३ मा रिलिज भएको फिल्म रंगको गीत ‘तुझे ना देखूँ तो चैन’ आज पनि धेरैको मुखमा झुण्डिने गर्छ । यो गीतका सुन्दर लाइन र यसमाथि अभिनय गरेका जोडी दिव्या भारती र कमल सदानाले यसलाई सुनमाथि सुगन्ध पारेका थिए । अभिनेता कमल सदाना त्यसताका असाध्यै चर्चित थिए, चर्चित अभिनेत्रीसँग काम गरिरहेका थिए । तर आज उनको नाम गुमनाम भएको छ । वास्तवमा, उनको अभिनयको जादुले पर्दामा खासै केही कमाल गर्न सकेन र जीवनले पनि उनको बाँच्ने आधार खोस्यो । हुन त जन्मदिन कसैका लागि पनि वर्षको सबैभन्दा ठूलो दिन हुन्छ तर अभिनेता कमलका लागि यो सबैभन्दा कालो दिन थियो । कमलको २० औं जन्मदिनमा उनको जीवन पूर्ण रुपमा फेरियो । एउटा यस्तो घटना घटित भयो जसले एकपटकमा उनको पूरा परिवार खोस्यो ।
काजोलसँग सन् १९९२ मा रिलिज भएको फिल्म बेखुदीमा हिरोको रुपमा डेब्यू गर्ने कमल सदाना अब गुमनाम छन् । यद्यपि, यो फिल्म बक्सअफिसमा फ्लप भएको थियो तर काजोलका लागि थुप्रै बाटो खोलियो । कमल आफ्नो फिल्मी करियरमा बढी ध्यान केन्द्रीत गर्न सकेनन् र यसको कारण भने निकै पीडादायी छ । वास्तवमा, फिल्ममा आउनु अघि सन् १९९० मा कमलको २० औं जन्मदिनले उनका लागि निकै भयानक याद छोडेर गयो जसलाई उनले जीवनभरी बिर्सन सकेका छैनन् ।
के भएको थियो त्यस रातः
कुरा अभिनेताको २० औं जन्मदिनको हो जब उनका पिताले आफ्नो पूरा परिवारको हत्या गरेका थिए । वास्तवमा २१ अक्टोबर सन् १९९० को दिन कमल आफ्नो जन्मदिन मनाउने तयारीमा जुटेका थिए । त्यति नै बेला उनका पिता बृज सदानाले श्रीमती साइदा खान र छोरी नम्रताको गोली हानी हत्या गरिदिए । छोरा कमलमाथि नजर पर्ने बित्तिकै उनीमाथि पनि गोली चलाइएको थियो तर त्यो कान नजिकैबाट गयो र उनी बालबाल बचे । कमलका पिताले छोरी र श्रीमतीको हत्या गरेर आफूमाथि पनि गोली चलाए ।
स्मरण रहोस्, बृज सदाना बलिउडका चर्चित निर्देशक र निर्माता थिए । उनले दो भाइ, यह रात फिर ना आएगी, उस्तादों के उस्ताद, विक्टोरिया नम्बर २०३, प्रोफेसर प्यारेलालजस्ता फिल्मको निर्देशन गरेका थिए । कमलले एक अन्तरवार्तामा उक्त घटनाको कुरा गर्दै ‘घरमा आर्थिक समस्या त थिएन तरपनि पापाले किन यस्तो गर्नुभयो, थाहा छैन’ भनेका थिए ।
आफ्नो आँखा अगाडि भएको यो दुर्घंटनाको असर कमलमाथि निकै गहिरो रह्यो । उक्त दुर्घटनापछि उनी डिप्रेशनमा गए र वर्षौंसम्म यो पीडाबाट बाहिरिन सकेनन् । पछि भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार बृज सदानाको आफ्नी श्रीमतीसँग खासै कुरा मिल्दैनथ्यो र छोराको जन्मदिनमा पनि उनीहरुबीच झगडा भएको थियो त्यसैले रिसले आँखा नदेखेपछि उनले श्रीमती र छोरीमाथि गोली प्रहार गरेका थिए ।
नीजि जीवनको कुरा गर्नुपर्दा कमल सदानाले मेकअप आर्टिस्ट लीसा जोनसँग विवाह गरेका थिए । उनीहरुका दुई सन्तान छन् । छोरा अंगद र छोरी लिया । यद्यपि, यी दुईको सम्बन्धविच्छेद भइसकेको छ र उनीहरु हाल छुट्टाछुट्टै बस्छन् । फिल्ममा सफलता नपाएपछि सन् २०१४ मा कमलले फिल्म रोर्सः द टाइगर अफ सुन्दरबस लेखे र निर्देशनमा पनि हात हाले । यसबाहेक उनी केही टिभी सिरियलमा पनि देखिइसकेका छन् ।