सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : बारमा दुई वकिलको भिडन्त, चोलेन्द्रविरुद्ध आन्दोलनको घोषणा

शुक्रबार, १२ कात्तिक २०७८, २० : १९
शुक्रबार, १२ कात्तिक २०७८

आज मिति २०७८ साल कात्तिक महिनाको १२ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘रातोपाटी ब्रिफिङ’ मा समेट्ने प्रयास गरिएको छ ।

आजका मुख्य समाचारहरुमा नेपाल बारमा दुई वकिलको भिडन्त, बारद्वारा प्रधानन्यायाधीशविरुद्ध आन्दोलनको घोषणा, एमालेले महाधिवेशन प्रतिनिधि संख्या बढाएको, ओलीप्रति प्रचण्डको आक्रोश, तीनै तहको चुनाव एकैपटक गर्न माधव नेपालको सुझाव, उद्योगधन्दा खोल्न अर्थमन्त्रीको जोड, कोरोनाको नियमित अपडेटलगायत रहेका छन् ।

१ वकिलबीच कुटाकुट

न्यायालयमा देखिएको विवाद दुई कानुन व्यवसायीबीच कुटाकुटसम्मको अवस्थामा पुगेको छ । शुक्रबार नेपाल बार एशोसिएसनको परिसरमा भूमिनन्द चुडाल र विराट न्यौपानले एक आपसमा कुटपिट गरेका हुन् । इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीबीच विवाद भएको प्रत्यक्षदर्शी कानुन व्यवसायीले बताएका छन् । अधिवक्ता चुडालले प्रधानन्यायाधीशले किन राजीनामा दिने भन्ने अभिव्यक्ति दिएपछि अर्का अधिवक्ता न्यौपानेले आक्रमण गरेको बताइएको छ ।

नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो । त्यसअनुसार कात्तिक  १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बारले सार्वजनिक गरेको छ ।

नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि स्थायी कमिटीले गरेको प्रस्तावमा छलफल पछि ९१५३६० लाई बढाएर १९९९ पुर्याएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सत्ता साझेदार राजनीतिक दल, अर्थ मन्त्रालय, बीमा समिति र स्वार्थ समूहको मिलेमतोमा चारै प्रकृतिका नयाँ बीमा कम्पनी खोल्न लाइसेन्स बाँड्न लागिएको छ । ठूलो रकम लेनदेन गरी लाइसेन्स बाँड्ने प्रकृयामा अर्थ मन्त्रालय र बीमा समितिले यतिखेर निकै सक्रियता देखाएका छन् । समितिका एक अधिकारीका अनुसार नयाँ लाइसेन्स वितरण गर्न तिहारअघि नै सूचना निकालिँदैछ ।

विश्वमा निम्तिएको कोइला संकटबाट नेपाल पनि प्रभावित भएको छ । कोइला खरिद लागत बढ्दा उत्पादन लागत पनि बढेर निर्माण सामग्रीहरूको मूल्य बढेको छ । यसो हुँदा सार्वजनिक र निजी पूर्वाधार संरचना निर्माण लागत पनि स्वतः बढ्नेछ । अहिले विश्वभर नै कोइला संकट चुलिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गरेको हो ।

​७. ओलीमाथि खनिए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् ।

शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिए ।

​उता नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तिनै तहको निर्वाचन एकै पटकमा गर्दा राष्ट्रको सम्पति जोगिने बताएका छन् ।

पार्टी कामको शिलशिलामा पोखरा पुगेका अध्यक्ष नेपालले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न सके खर्च कम हुने बताए ।

८. कोरोनाभाइरस संक्रमित आज कति थपिए ?

पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९७४६ जनामा गरिएको नमुना परीक्षणमा ५४९ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९. काँग्रेस कार्यबाहक सभापतिमा निधि, कार्यबाहक प्रधानमन्त्रीमा खाँण

प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँण र काँग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्ने बताएका छन् । शुक्रवार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

नेपाली काँग्रेसका १३ नेताले हाल अदालतमा कायम विवादका सन्दर्भमा पार्टीको स्पष्ट धारणा माग गरेका छन् । उनीहरुले पछिल्लो समय न्यायालयको नेतृत्वका बिषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको बिरोधलाई सामान्य रुपमा लिन नमिल्ने भन्दै यस्तो पेचिलो परिस्थितिमा नेपाली कांग्रेस मूकदर्शक बन्न नमिल्ने बताएका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप