बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘स्यानी’ उपन्यासको अन्तर्वस्तु

शनिबार, १३ कात्तिक २०७८, १० : २६
शनिबार, १३ कात्तिक २०७८

उपन्यासको शीर्षक ‘स्यानी’ शब्दले झलक्क हेर्दा कुनै अभिभावक वा जेठो व्यक्तिहरूले एउटी बालिका वा युवती वा उमेरमा आफूभन्दा कम उमेरकी महिलालाई स्नेहपूर्वक गरिने सम्बोधनको शब्द हो । नेपाली बोलिचालीको भाषामा स्यानी, माया, बुनु, कान्छी, पुन्टी, भुन्टी, मैया, परी जस्ता शब्दहरू प्रायः गरी आफूभन्दा साना उमेरका स्त्री पात्रहरूका लागि प्रयोग गरिएको पाइन्छ । मायालु स्यानीहरूलाई समयले हुर्काउँदै बच्ची, युवती, अधबैँसे, प्रौढ र वृद्ध बनाउँदै गर्दा एक दिन दैवले टपक्क टिपेर लैजान्छ । अनि स्यानीहरू स्मृतिमा मात्र रहन्छन् । भौतिकरूपमा सशरीर नभए पनि स्यानीहरू आफ्ना सन्तानको रगत वा जिनमा सधैँ जीवित नै हुन्छन् भन्ने मेरो मान्यता छ । यस हिसाबले पुस्तकका लेखक डा. खगराज बरालको शरीरमा उनको आमाको अंश जीवितै छ ।  

लेखकले आफ्नो होश सम्हालेदेखि आमाको महाप्रस्थानसम्मको भोगाइमा आमासँगका अमिट सम्झनाहरूलाई सुन्दर ढङ्गबाट पस्किइएको उपन्यास हो ‘स्यानी’ । उपन्यासको शीर्षक ‘स्यानी’ लेखककी आफ्नै आमाको नाम थियो । ‘स्यानी’ उपन्यासमा लेखकले आमाको जीवनको अन्तिम अवस्थामा, दाहसंस्कार र मृत्युपछि गरिने तेह्र दिने मृत्यु किरिया कर्ममा के के गरिए र ती दिनहरूमा लेखकले आमाको बारेमा केके घटनाहरू स्मरण गरे भन्ने कुरालाई समावेश गरिएको छ । त्यसैले प्रत्येक एक दिनको एक अध्याय गरी जम्मा १३ ओटा अध्यायमा यो उपन्यासको सबै विषयहरू समेटिएका छन् । उपन्यास वा अन्य पुस्तक लेख्नका लागि बृहत् र जटिल विषय हुनुपर्छ भन्ने छैन । आफ्नै जीवन हुर्काइ, आफ्नै परिवेश, अनुभव नै काफी हुन्छन् भन्ने उदाहरण हो डा. खगराज बरालको ‘स्यानी’ । लेखकको सरल लेखन, जनजिब्रामा झुण्डिएका ठेट भाषा, क्रमबद्ध तथा घटनाहरूको रोचक प्रस्तुतीकरण, स्थानीय जनजिब्राको भाषा ‘हाम्रा गाम्का किस्न अङ्कलले पनि ट्याक्सी चलाम्चन्’, ‘गौरी पुरान’, को अधिक प्रयोग गरेको कारण उपन्यास पढ्दा रसिलो र पट्यार नलाग्ने देखिन्छ । त्यसैले यस उपन्यास ‘स्यानी’ लाई एकै बसाइमा पढ्न सकिन्छ भन्ने मेरो बुझाइरहेको छ ।

‘स्यानी’ उपन्यासले छोराले आमासँगको सम्बन्धलाई मात्र स्मरण गरेको छैन, बरू त्यो स्मरणभित्र पूरै एउटा समाजको चित्रण गरेको देखिन्छ । यस उपन्यासमा लेखक जन्मे हुर्केको समाजको भाषा, भेष, रहनसहन, संस्कृति, परम्परा, अर्थ, राजनीति, शिक्षा, मनोविज्ञान, समाज विज्ञान, सामाजिक न्याय आदि जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्रतिनिधिमूलक घटनाहरूको उदाहरणसहित प्रस्तुत गरिएको छ ।

बालबालिकाले अनुभव गर्ने सबैभन्दा सुरक्षित स्थान आमाको काख हो । बच्चाका लागि यो सिङ्गो विश्वमा सबैभन्दा जान्ने, बुझ्ने कुशल शिक्षक आमा हुन् । उनीहरूका जिज्ञासा समाधान गर्ने, भनौँ भने भावी जीवनको आकार दिने पहिलो महाविश्वविद्यालय आमा हुन् भन्दा अत्युक्ति नहोला । बच्चाको प्रश्नहरूमाथि आमाको उत्तर शिलामा लेखिएका अक्षरजस्ता अमीट हुन्छन् भन्ने कुरा ‘स्यानी’ मा देख्न सकिन्छ । 

अङ्ग्रेजी भाषाको प्रभावले नेपाली भाषा ओझेलमा पर्दै गएको अवस्थामा ‘स्यानी’ उपन्यासले कतिपय अवस्थामा बिर्सिए जस्ता भएका शब्दहरू जस्तो मत्रो, गौरेटो, आटी, चोया, बाता, मुङ्ग्रो, आँगन जस्ता ठेट नेपाली शब्दहरूको प्रयोगले उपन्यासलाई जीवन्त बनाएको देखिन्छ ।

लेखकले ‘स्यानी’ उपन्यासमार्फत हाम्रा समाजमा रहेका धेरै अमूर्त सम्पदाहरूको अभिलेखीकरण गरेका छन् । आफ्ना कानका लोतीभन्दा माथि मुन्द्रा लगाएको किन भन्ने प्रसङ्गमा त्यो बेलाको जनविश्वास खोटी वा कोठी नभएको सग्लो सन्तानमा दैवको पनि आँखा लाग्छ भन्ने विश्वासले बच्चाहरूको कान छेडेर खोटी पार्ने कुराको उजागर गरिएको छ । सञ्चारको विकासले छलाङ मारेको अहिलेको अवस्थाका सार्वजनिक सूचनाहरू जारी गर्नका लागि कटुवाल घोकाउने कुरा अहिलेका पुस्ताको लागि सर्वथा नौलो कुरा हो । त्यस्तै बिरामीको उपचारमा झाँक्री लगाउने, झाँक्रीले लागो भागो के कसो हो त्यसको यकिन र उपचारको व्यवस्था पनि बताउने । के कारण बिरामी परेको होला भनेर ज्योतिष हेर्ने, ज्योतिषमार्फत मानिसको विगत र आगत जान्ने, घरमा मीठो चोखो पाकेपछि पहिले घरका देवदेवतालाई चढाएर मात्र परिवारका सदस्यहरूले खान मिल्ने, नयाँ अन्न पाकेपछि सबैभन्दा पहिले कुल देवता लगायतको देवताहरूलाई विधिपूर्वक चढाएर मात्र घरमा प्रयोग गर्ने, घर परिवारमा के फाप्ने के अफाप हुने आफ्नै खालका चलनहरू रहेका थिए । कसैले आइतबारेको पूजा गर्ने कसैले नगर्ने, कसैले परेवाको बलि चढाउने, कसैले बिना बली पूजा गर्ने, एउटै गाउँमा पनि घरैपिच्छेका आआफ्नै परम्परा हुने गर्दछन् । त्यस्तै सबैले वर्षमा एकपटक नाग राजाको पूजा गर्ने चलन, यीमध्ये पनि कसैले काली नाग राजा वा कसैले सेती नागको आ–आफ्नै थानमा पूजा गर्ने चलन, सेती नागभन्दा काली नाग लागेका बढी खतरा मानिने विश्वास, नागलाई विशेष सम्मान स्वरूप कार्तिक महिनामा सर्पलाई सर्प भन्न नहुने घस्रने वा लामकीरो भन्नुपर्ने जस्ता चलन र नाग लागेर पनि मानिसहरू  बिरामी पर्दछन् भन्ने जस्ता सामाजिक प्रचलन र विश्वासलाई ‘स्यानी’ ले उजागर गरेको छ ।

‘स्यानी’ उपन्यासले लौङ्गिक विभेदको कुरालाई पनि उजागर गरिदिएको छ । ‘छोरो मुन्छे भर पनि पिच्चपिच्च रुन्च यो त’, भन्ने वाक्यले छोरा मान्छेले आफ्नो समवेदना बाहिर देखाउन हुँदैन । रोए पनि आवाज ननिकालीकन रुनुपर्ने अवस्थाको चित्रण गरेको छ । लेखकले आफू छोरा मान्छे भएकै कारण आफ्नी आमाको वियोगमा आएका वेदनाहरूलाई छताछुल्ल पोख्न नपाएको अवस्था देखिन्छ । लौङ्गिक विभेद कसैको वियोगमा मात्र होइन ती कुराहरू  गीतमा पनि उल्लेख भएको छन् जस्तो कि,

घिरम्ली र चिचिन्ना साँच आमा तीजलाई,

कुहेको कर्कलो जनै लाम्नीलाई (तीजको गीत)

यहाँ जनै लाउनी र जनै नलगाउनीको बीचमा भेद छ भन्ने उल्लेख भएको देखिन्छ । त्यस्तै लुकी लुकी रत्यौलीमा आफ्नी आमा नाचेको देख्दा लेखक आफैलाई लाज लागेको प्रसङ्गले हाम्रो समाजमा महिलाहरू नाच्नका लागि अवसर पर्खनुपर्ने र त्यो माथि आफ्ना मान्यजनको अगाडि नाच्न हिच्किचाउने गर्दछन् । मैले पनि हाम्री आमा नाच्नु हुँदोरहेछ भन्ने कुरा आमाको आँठौँ सन्तान मेरो माइलो भाइको रत्यौलीमा मात्र देखेको थिएँ । गाउँका प्राय पुरुषहरू जन्ती गएको अवस्थामा रत्यौलीका महिलाहरूले आइपुग्यो भाले पोथी लिएर जस्ता कामोत्तेजक गीतहरू  गाउँने र महिला नै पुरुषको भेष धारण गरी लुठो बनेर नाच्ने चलन छ । 

आफ्नो हात भाँचिएको प्रसङ्ग, आमासँग पछि लागेर धेरै पटक मामाघर वा पोखरातिर गएका सम्झनाहरू, घरमा मल बोक्ने खेतालाहरू हुँदा चिया पकाउन परेको, सर्पलाई मार्न गरेको प्रयास, स्वस्थानी वाचन गरिएको स्मरण, साथीभाइहरूसँग कराइ खान (वनभोज) गएको, केटाकेटीका खेलहरू लाटा दाइ लाटा दाइ केरा पाके, जोर कि बिजोर, रुमाल लुकाइ, गट्टा खेल्नु, खोलातिर पौडी खेल्नु, अर्काको बीउमाथि लडिबुडी खेल्नु, वस्तु चराउनु, घाँस काट्न जानु, साथीभाइहरूबाट हुने बुलिङको ओइ जागिनीको छोरा, आमाका पछि लागेर हिँड्नुको मज्जा उपन्यासमा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । यी विषयहरू हेर्दा लेखकको हुर्काइ पनि अन्य सामान्य बालबालिका जस्तो रहेछ भन्ने बुझिन्छ ।

‘स्यानी’ ले समेटेको अर्काे रोचक पक्ष भनेको चिठी वाचन गराउने र घर बाहिर बसेकाहरूका लागि चिठी लेखिदिने विषय हो । त्यो बेला अहिले जस्तो फोन, इमेल, म्यासेन्जर, भाइबर, ह्वाट्सएप, आदि थिएन । घरबाहिर रहेका परिवारका सदस्यहरूको खै–खबरको माध्यम चिठीपत्र थिए । चिठीपत्रहरू साक्षात व्यक्तिको प्रतिछाया मानिन्थ्यो । त्यो बेला आफैले पत्र लेख्न वा वाचन गर्न नसक्नेले जान्ने मान्छेहरूको सहयोग लिने चलन थियो । त्यसैले पत्र पठाउनेहरूले आफ्नो घर परिवार मात्र होइन, वरपर छिमेक साथीभाइ इष्टमित्र सबैलाई सम्झन्थे । सीमित व्यक्तिको घरमा रेडियो हुन्थ्यो, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सुन्नका लागि । ब्याट्रीबाट बज्ने भएको कारण जतिबेला पनि रेडियो खोल्ने चलन नै थिएन । रेडियो यति महत्त्वपूर्ण हुन्थ्यो कि बडो जतन साथ खोल्ने र बन्द गर्ने गरिन्थ्यो । रेडियोको आफ्नो शरीर अनुसारको चिटिक्क कपडा (खोल) सिलाइदिने चलन थियो । कतिपय व्यक्तिहरूले हरेक बिहान रेडियो खोल्नुपूर्व पुछपाछ गर्ने र शिर निहुराएर रेडियो ढोगेपछि मात्र खोल्ने गर्दथे । अहिले प्रत्येक व्यक्तिको हात हातमा रेडियो, मोबाइल फोन, क्यामेरा छ, जमाना कहाँबाट कहाँ पुग्यो ताज्जुप लाग्छ ।  

त्यो बेलामा खासगरी बेलुकामा आगो ताप्दै वा जुनको उज्यालोमा केटाकेटीहरूले बुढापाका, बुवाआमा, हजुरआमा वा हजुरबाहरूबाट नैतिक शिक्षाका कथाहरू, धर्मग्रन्थका कथाहरू सुन्थे त्यसले बाल मस्तिष्कमा नैतिकता, जिम्मेवारी र वस्तु घटनाहरूलाई विश्लेषण गर्ने क्षमताको विकास हुन्थ्यो ।

लेखकले यस उपन्यासमा आफ्ना बा आमाको बीचको अगाध प्रेम पनि देखाउनु भएको छ । बुवा जङ्गलबाट फर्कन ढिला गर्दा आमाले देखाउनु भएको चिन्ता र रोदन पुस्तकमा उल्लेख भएको छ । त्यो समयमा र अझै पनि गाउँ घरतिर घाँसदाउँरा गर्न जाँदा भीरबाट लड्ने, रुखबाट खस्ने, बाघ भालु वा जङ्गली वनावरको आक्रमणबाट घाइते हुने वा मृत्यु हुने, खोलाले बगाउने आदि दुर्घटना हुने भएको कारण आमाको चिन्ता स्वाभाविक थियो भन्ने बुझिन्छ ।

उपन्यासमा लेखकले आमाको मृत्यु संस्कारसँग सम्बन्धित दिनका क्रियाकलापहरू उल्लेख गरेका छन् । वैदिक सनातन धर्मको षोडश संस्कारमध्येमा जीवनको अन्त्यमा गरिने मृत्यु संस्कारमा छोरा, छोरी, बुहारीहरूले १३ दिनसम्म केके धार्मिक क्रियाकलापहरू गर्नुपर्ने, केके गर्न नहुने, के लगाउनुपर्ने, के लगाउन नहुने, के खान हुने के खान नहुने, कसले पहिले खान, कसले भाडा माझ्ने, आशौच बार्दा के गर्न हुने केके गर्न नहुने आदि कुरा उल्लेख गरिएका छन् । त्यसैले यो वैदिक सनातनीहरूको मृत्यु संस्कारको झलक भएको ग्रन्थ पनि हो भन्न सकिन्छ । वैदिक संस्कारअनुसार ८४ लाख योनी व्यतित गरेपछि आत्माले मानिसको चोला प्राप्त गर्दछ । भौतिक शरीर छोडिसकेपछिको मानिसको आत्मालाई प्रेतआत्मा भन्ने गरिन्छ । मृत्यु संस्कारमा सपिण्डी श्राद्ध गरेपछि त्यो मृतक पितृहरूको पङ्तिमा पुग्छन् र मृतकले सत्गति प्राप्त गरी मुक्त हुन्छन् भन्ने विश्वास छ । मानिसले जीवनका गरेका कुशल र अकुशल कर्मले मृत्युपछिको यात्रा तय गर्ने वा कर्मको फलले नै आगामी यात्राको तय गर्ने कुरा हाम्रा धार्मिक ग्रन्थहरूले उल्लेख गरेका कुरा पनि ‘स्यानी’ उपन्यासमा व्यक्त गरिएको छ ।   

समग्रमा जनजिब्रोका शब्दहरूलाई टपक्क टिपेर, जवजीवनका विषयहरूको बारेमा लेख्न खप्पिस यस ‘स्यानी’ उपन्यास पढ्नै पर्ने सामाजिक उपन्यास पाठकसामु पस्केका कारण यसका लेखक डा. खगराज बराल धन्यवादका पात्र हुनुहुन्छ  ।

कृति : ‘स्यानी’

विधा : उपन्यास

लेखक : खगराज बराल

प्रकाशक : साङ्ग्रिला बुक्स प्रालि.

संस्करण : पहिलो (२०७७)

पृष्ठ : २५७

मूल्य : रु. ४७५/–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप