सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मधेसमा पार्टी प्रवेशको सिजन : नेता नै चिन्दैनन् नवप्रवेशीलाई !

शनिबार, १३ कात्तिक २०७८, १५ : ०२
शनिबार, १३ कात्तिक २०७८

स्थानीय तह र उपचुनावको मिति नजिकिन थालेपछि तराई–मधेसमा अहिले पार्टी प्रवेशको सिजन सुरु भएको छ । अहिले तराईका गाउँ–गाउँमा पार्टी प्रवेश र दलबदलको लहर चलिरहेको छ । पार्टी प्रवेशका सन्दर्भमा काँग्रेस, एमाले, माओवादी केन्द्रभन्दा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अगाडि देखिएका छन् । दुबै पार्टीले दिनदिनै पार्टी प्रवेश कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

एकदिनमै तीन–चार ठाउँमा एकसाथै यस्ता कार्यक्रमहरुको आयोजना भइरहेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव दसैँअघि नै मधेस झरेका हुन् । उनी तराई मधेस झरेको दिनदेखि प्रायः प्रत्येक दिन कुनै न कुनै पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि बन्ने गरेका छन् । कुनै दिन दुई–दुईवटा कार्यक्रम भ्याउने गरेका छन् ।

त्यस्तै दसैँमा मधेस झरेका लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो कात्तिक ६ गते काठमाडौ फर्केका थिए । फेरि उनी ९ गते लोसपाका अध्यक्ष महन्थ ठाकुरका साथमा सर्लाही पुगेका छन् । त्यहाँ १३ गतेसम्मका लागि कार्यक्रमहरु तय भएको छ । शुभकामना अदान प्रदानका साथै पार्टी प्रवेश कार्यक्रम पनि चलिरहेको छ ।

तराईमा प्रत्येक वर्ष यसरी नै पार्टी प्रवेश कार्यक्रमहरु भइरहेका हुन्छन् । प्रत्येक पार्टीमा हुलका हुन मान्छे प्रवेश गरेको देखिन्छ । नेताहरु ती नवप्रवेशीहरुलाई टीका र माला लगाउँदा लगाउँदै हैरान हुन्छन् । फेरि अर्को कुनै पार्टी त्यही पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्यो भने पुनः त्यतिकै मात्रामा प्रवेश गरेका हुन्छन् ।

आखिर यतिका मान्छेहरु कहाँबाट आउँछन् त ? तराई मधेसमा डुलिरहने पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘यो भिड देखाउने खेल मात्र हो । तर, त्यो वास्ताविक भिड होइन, एउटै मान्छे विभिन्न पार्टीमा प्रवेश गरेका हुन्छन् ।’

उनी अगाडि थप्छन्, ‘आज एउटा पार्टीमा प्रवेश गरेका छन् भने १० दिनपछि अर्को पार्टीमा प्रवेश गरेका हुन्छन् । अर्थात दल तथा त्यसका नेताहरुले आफूलाई कृत्रिम रुपमा शक्तिशाली देखाउन यस्ता खेलहरु गरिरहेका हुन्छन् ।’

त्यसो त पार्टी प्रवेशमा भिड देखाउनका लागि मान्छे भाडामा पनि पाइन्छ, एउटा टोलमा फरक–फरक पार्टीका व्यक्ति हुन्छन् उनीहरुले पनि पार्टी प्रवेशमा भिड देखाउन एक अर्कालाई सहयोग गरेको देखिने गरेको बताउँदै उनले पार्टी प्रवेशीहरु केटाकेटी र गृहिणीहरु देखिने गरेको बताए ।

उनले भने, ‘उनीहरु पार्टीमा टिकाउ हुँदैनन् । पार्टीमा को–को प्रवेश गरे शीर्ष नेतालाई मात्र होइन, स्थानीय नेतालाई पनि थाहा हुँदैन । आफैंले प्रवेश गराएका व्यक्ति अर्को पार्टीमा प्रवेश गर्दासम्म नेताले चिनेको हुँदैन ।’  उपेन्द्र यादव नेतृत्वको जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमन भने परम्परागत पार्टीबाट आजित भएका जनताले वैकल्पिक पार्टीमा प्रवेश गरिरहेको दाबी गर्छन् ।

सुमनले रातोपाटीसँग भने, ‘काँग्रेस, एमाले र माओवादी केन्द्रले केही गर्न सकेनन् । उनीहरु पुरानै शैलीले पार्टी सञ्चालन गर्छन्, त्यसैले नयाँ नेतालाई अवसरबाट बञ्चित गरेका कारण ती पाटीबाट नेता– कार्यकर्ताहरु हाम्रो पार्टीमा प्रवेश गरिरहेका छन् ।’

नवप्रवेशीहरुमध्ये १० प्रतिशतले यताउति चाहार्ने गरे पनि ९० प्रतिशत भने पार्टीमै बस्ने गरेको सुमनले दाबी गरे । उनले जसपाप्रति जनताको आकर्षण बढेको र पार्टी प्रवेश भइरहेको बताए । उता महन्थ ठाकुर नेतृत्वको लोसपाका नेता राजीव झाको कुरा मनिषको भन्दा अलि फरक छ ।

उनी भन्छन्, ‘स्थानीय नेताले आफूलाई केन्द्रीय नेताहरुका अगाडि बलियो देखाउनका लागि पार्टी प्रवेशका कार्यक्रमहरु गरिरहेका हुन्छन् । पार्टीमा को प्रवेश गर्दैछ, शीर्षनेताहरुलाई थाहा हुँदैन । स्थानीय स्तरका नेताले संख्या मात्र भनेर पार्टी प्रवेशका कार्यक्रम आयोजना गरेका हुन्छन् ।’

यसरी पार्टी प्रवेश गर्नेहरुमध्ये १०–१५ प्रतिशत मात्रै टिकाउ हुने र बाँकी सबैले पार्टी छाडेर हिँड्ने गरेको झाले रातोपाटीलाई बताए । लोसपा नेता झाले भने, ‘पार्टी प्रवेश गराउँदा स्थापित र प्रतिष्ठित व्यक्तिलाई गराउनुपर्छ, ठूला नेताहरु प्रवेश गरेपछि साना साना नेता तथा कार्यकर्ताहरु आफैं आउँछन् ।’

झाको विचारमा पार्टी प्रवेश कार्यक्रम विकृति जस्तै भएको छ । जो मतदाता नै छैन, अर्को कुनै पार्टीमा काम गरेको छैन र कुन पार्टीमा प्रवेश गरिरहेको छु भन्ने समेत थाहा नहुने व्यक्तिलाई पार्टीमा प्रवेश गराएर केही नहुने झाले बताए । 

तथापि तराईमा यस्तो पार्टी प्रवेश कार्यक्रम कात्तिक महिनाभरि चल्ने छ । किनभने, दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा नेताहरु गाउँ पसेका छन् । त्यही मौकामा शुभकामना अदान–प्रदान कार्यक्रम गरेर पार्टी प्रवेश अभियान सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप