आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरी गर्ने ४ जना सार्वजनिक

शनिबार, १३ कात्तिक २०७८, २१ : २१
शनिबार, १३ कात्तिक २०७८

बेलौरी नगरपालिका–४ बेलौरी बजारको केएम इन्टरप्राइजेज बजाज सोरुमबाट सटरको ताला काटी सिसाको ढोका तोडेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका वर्ष २० का विवेक बम, वर्ष १८ का किरन नाथ, सोही नगरपालिकाको वडा नं १२ कालागौंडीका वर्ष १९ का ठग्गी रानालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरिएको छ ।

यसैगरी सोही चोरीमा संलग्न अर्का पक्राउ पर्नेमा शुक्लाफाँटा–१ वन्साहा बस्ने वर्ष १९ का पारस विष्ट रहेका छन् । पक्राउ परेका चारै जनाको साथबाट प्रहरीले चोरी गरिएका तीन पल्सर मोटरसाइकल बरामद गरेको छ ।  यही कात्तिक ७ गते राति चारै जनाले सो रुमको सिसीटिभीको तार काटेर सटर तोडी मोटरसाइकल चोरी गरेका थिए ।

“चोरी भएका मोटरसाइकल तीन दिनको अवधिमै बरामद गरेका छौँ”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, “चोरी गर्नेहरुलाई समेत खटिएको अनुसन्धान टोलीले पक्राउ गरेको छ ।” उनका अनुसार पक्राउ परेकामाथि कानुनबमोजिम कारबाही भइरहेको छ ।

त्यसैगरी प्रहरीले आज पुर्नवास नगरपालिका–११ डोके बजारबाट बेवारिसे अवस्थाको रु १९ हजार ५०० मूल्य बरावरको अवैध पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोलीले भारतबाट ल्याउँदै गरेको पटाका बरामद गरेको छ । 

बाख्रा चोर पक्राउ

शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरका १८ वर्षीय ओमप्रकाश भण्डारीलाई प्रहरीले आज बाख्रा चोरी गरेको आरोपमा पक्राउ गरेको छ । आज बिहान शुक्लाफाँटा–५ वनसमितिकी लक्ष्मी ऐडीको गोठबाट दुई बाख्रा चोरी गरेर लग्दै गरेका भण्डारीलाई इलाका प्रहरी कार्यालय झलारीको गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । चाडपर्वका बेला झलारी क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप