सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : इजलासमा एक्लै बसे प्रधानन्यायाधीश, राहदानी बनाउन राति १ बजेदेखि लाइन

आइतबार, १४ कात्तिक २०७८, २० : १८
आइतबार, १४ कात्तिक २०७८

आज २०७८ कार्तिक १४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा सर्वोच्चका न्यायाधीशले बहिष्कार गरेपछि प्रधानन्यायाधीश एक्लै बसे इजलासमा, बार एशोसिएशनमा ‘कालो पट्टी’ भर्सेस ‘सेतो पट्टी’, न्यायालयलाई बेहाल छाडेर प्रधानमन्त्री विदेश जानु देशकै बेइज्जती : पूर्वराष्ट्रपति, कर्णाली प्रदेशका तीन मन्त्री भोलि पदमुक्त हुँदै, केपी ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो : माधवकुमार नेपाल, कार्यदलबाट भीम रावलले राजीनामा दिनुका यी हुन् १० कारण, राहदानी बनाउन राति १ बजेदेखि नै लाइन लगायत छन् ।

१. सर्वोच्चका न्यायाधीशले बहिष्कार गरेपछि प्रधानन्यायाधीश एक्लै बसे इजलासमा
आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘मार्ग प्रशस्त’ गर्न दबाब दिँदै न्यायाधीशहरूले इजलास बहिष्कार गरेका हुन् । इजलास त्यागेका न्यायाधीशहरु न्यायालयमा देखिएको समस्याबारे छलफल गर्न आयोजित बैठकमा बसेका थिए ।

उनीहरुले प्रधानन्यायाधीश जबराले निकासका लागि राजीनामा दिनैपर्ने तर त्यसका लागि केही समय माग गरेको खण्डमा समय दिन सकिने निर्णय गरेका छन् । त्यसका लागि सोमबार प्रधानन्यायाधीशसँगै छलफल गर्ने उनीहरुको योजना छ । अन्य न्यायाधीशले इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश जबराले भने आफू तोकिएको इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेका छन् ।

२. बार एशोसिएशनमा ‘कालो पट्टी’ भर्सेस ‘सेतो पट्टी’
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनमा आइतबार अधिकांश कानुन व्यवसायीले ‘कालो पट्टी’ बाँधेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाका लागि दबाब दिँदा केही कानुन व्यवसायीले भने ‘सेतो पट्टी’ बाँधेर प्रधानन्यायाधीशको समर्थन गरेका छन् । बारका पूर्व अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबराले राजीनामा दिर्नैपर्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार करिब चार घण्टा लुम्बिनीमा बिताएकी छन् । विभिन्न कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी पुगेकी हुन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको बुद्धको प्रतिमा अनावरण गरिन् । उनले बज्रयानी विहारको पनि उद्घाटन गरिन् ।

४. न्यायालयलाई बेहाल छाडेर प्रधानमन्त्री विदेश जानु देशकै बेइज्जती : पूर्वराष्ट्रपति
पूर्व राष्ट्रपति डा. रामवरण यादवले न्यायालयलाई बेहाल अवस्थामा छाडेर प्रधानमन्त्री विदेश भ्रमणमा जानु देशकै बेइज्जती भएको बताएका छन् । आइतबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले न्याय क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या सरकारले समाधान गर्नुपर्नेमा जोड दिए । प्रधानन्यायाधीशले सारा न्यायाधीश, नेपाल बार र कानुन व्यवसायीहरु एक ठाउँमा रहेका बेला राजीनामा दिन्न भनेर कसको आडमा भनेको भनेर उनले सरकार र दलहरूलाई प्रश्नसमेत गरे ।

५. कर्णाली प्रदेशका तीन मन्त्री भोलि पदमुक्त हुँदै
कर्णाली प्रदेश सरकारका तीन मन्त्री भोलि (सोमबार) पदमुक्त हुँदैछन् । संविधानतः प्रदेशसभा सदस्य नरहेको अवस्थामा ६ महिनाभन्दा बढी मन्त्री हुन नपाइने भएकाले उनीहरु भोलि पदमुक्त हुने भएका हुन् । प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ ।

उनीहरु नेकपा एकीकृत समाजवादी पार्टीका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने बेला एमालेकै सांसद रहेका उनीहरुले ‘फ्लोर क्रस’ गरेपछि पार्टीको कारवाहीमा परेका हुन् ।

६. केपी ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो : माधवकुमार नेपाल
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको पालामा देशमा भ्रष्टाचारले सीमा नाघेको आरोप लगाएका छन् । आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले केपी ओलीले सरकारको नेतृत्व गर्दा देशमा सबैभन्दा बढी भ्रष्टाचार भएको दाबी गरे ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कार्यदलबाट राजीनामा दिनुमा विभिन्न १० कारण रहेको खुलासा गरेका छन् । कार्यदल गठन भए पनि लामो समय संयोजक नतोकिएको र आफूले नै कुरा उठाएपछि संयोजकको जिम्मेवारी दिइएको उनको भनाइ छ । पछिल्लो समय १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ को औचित्य नै नरहेको अर्थ लाग्ने गरी विभिन्न नेताले अभिव्यक्ति दिएको र आफूले त्यसको विरोध गर्दै आएको पनि उनले स्मरण गराएका छन् ।

८. राहदानी बनाउन राति १ बजेदेखि नै लाइन
राहदानी विभागमा राहदानी बनाउनेहरूको भिड लागेको छ । राति १ बजेदेखि नै राहदानी बनाउनका लागि सेवाग्राहीहरु लाइन लागेका छन् । इडिभी भर्नेहरूका कारण पनि राहदानी बनाउनेको भिड लागेको हो ।

जनकपुरधाम उपमहानगरपालिकामा डम्पिङ साइटको व्यवस्था नहुँदा फोहोर उठ्न सकेको छैन । दीपावली तथा छठ पर्व भित्रिन थाल्दासमेत सहर दुर्गन्धित भएको भन्दै उपमहानगरका विभिन्न वडाका जनप्रतिनिधिकै अगुवाइमा आइतबार नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारिएको छ । मेयर साहले फोहोर उठाउन चासो नदिएको विरोधमा जनप्रतिनिधिहरुले फोहोर बोकेका गाडीसहित धर्ना दिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ४०८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ५१८ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
यही कार्तिक र मंसिरमा अवकाश पाउन लागेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई समेत सरकारले बढुवा गर्ने तयारी थालेको छ । सरकारले डिआइजीमा बढुवाका लागि तयार पारेको प्रस्तावमा रहेका अधिकांश एसएसपीको कार्यकाल केही महिनामात्र रहने अवस्थामा समेत दरबन्दी थप गरेर उनीहरुलाई बढुवा गर्ने पहलमा सरकार लागेको छ ।

नेकपा एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गरेको छ । आइतबार अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले त्रिविका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटालाई १६ बुँदे ज्ञापनपत्र बुझाएको हो । 

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । आइतबार हेटौंडामा आयोजित वाईसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले जनउत्तरदायित्व बहन गर्दै जनताको हित हुने प्रकृतिका योजना प्रस्तुत गरेको बताए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप