बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अब हाम्रो पात्रोबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श

सोमबार, १५ कात्तिक २०७८, १८ : ४०
सोमबार, १५ कात्तिक २०७८

हाम्रो पात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपले ‘हाम्रो हेल्थ’ फिचरको रूपमा ‘टेलि मेडिसिन’ सेवा सञ्चालनमा ल्याएको हो ।  यो सेवा सोमबारदेखि परीक्षणको रूपमा सुरु गरिएको हाम्रो पात्रो इंकले जनाएको छ । कम्पनीका अनुसार तत्कालका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको यो सेवा अबको दुई महिनामा आईओएस प्रयोगकर्ताले समेत उपयोग गर्न सक्नेछन् । 

सुविधा सम्पन्न स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका बिरामीलाई लक्षित गरी ल्याइएको यो सेवामार्फत विभिन्न रोगका विशेषज्ञ डाक्टरसँग भिडिओ कलमार्फत परामर्श लिन सकिनेछ । ‘ओपन प्लेटफर्म’ (खुला माध्यम) को रूपमा रहने यो सेवामा नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरू स्वेच्छिक रूपमा जोडिन सक्ने बताइएको छ । 

परामर्श सेवाका लागि टिकट लिइसकेपछि बिरामीहरूले सम्बन्धित विशेषज्ञ डाक्टरलाई सोझै भिडिओ कल गर्न सक्नेछन् । अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए । हाललाई टिकट शुल्क ५०० रुपैयाँ तोकिएको छ । 

डाक्टरसँग परामर्श सेवा लिनु पूर्व सेवाग्राहीहरूले आफ्नो नाम, उमेर र स्वास्थ्य समस्या उल्लेख गरी आफ्नो प्रोफाइल बनाउनुपर्नेछ । यसका साथै आफ्नो प्रोफाइलमा ल्याब रिपोर्ट लगायत आफ्नो स्वास्थ्य समस्या सम्बन्धी कागजातहरू अपलोड गर्न समेत सकिन्छ ।  हाललाई हाम्रो हेल्थमा २० जना विशेषज्ञ डक्टरहरू आबद्ध भइसकेको कम्पनीले जनाएको छ । दुई महिनाको परीक्षण पश्चात् यो सेवा पूर्ण रूपमा सञ्चालनमा आउनेछ । 

यसमा सूचीकृत डाक्टरहरू आफ्नो अनुकूलता तथा फुर्सदको समयमा हाम्रो हेल्थको टेलिमेडिसिन सेवाका लागि लाइभ आउन सक्नेछन् । तर यसमा डाक्टरको समय प्रि-बुकिङ गर्न सकिने सुविधा भने हाललाई उपलब्ध छैन । सम्बन्धित डाक्टरको प्रोफाइलमा गएर कुन समयमा अनलाइनमा उपलब्ध हुने अथवा नहुने कुराको जानकारी लिन सकिनेछ । 

कुन डाक्टरसँग परामर्श लिने भन्ने कुरा बिरामीहरू स्वयम्ले तय गर्नुपर्ने कम्पनीले जनाएको छ । डाक्टर फरक परेको अवस्थामा सोही टिकट प्रयोग गरी सम्बन्धित अर्को डक्टरसँग परामर्श लिन सकिने व्यवस्था मिलाइएको छ । यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाइलमा रहेको हाम्रो पात्रोको मोबाइल एप अपडेट गर्नुपर्ने हुन्छ ।  

‘काठमाडौँ बाहिर रहेका बिरामीहरूलाई सामान्य फलोअप तथा विशेषज्ञ डाक्टरसँगको परामर्शका लागि आइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्न यो सुविधा सञ्चालनमा ल्याएका हौँ,’ कम्पनीका संस्थापक उप्रेतीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप