आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डका सात दिन, सात अभिव्यक्ति : बालुवाटारका भाँडादेखि ज्ञानेन्द्रको सूचनासम्म !

​चितवनबाटै चुनाव लड्ने पक्का, मधेसका दलाल चिन्न आग्रह
सोमबार, १५ कात्तिक २०७८, १९ : ००
सोमबार, १५ कात्तिक २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो एकसाता काठमाडौँ बाहिरका  कार्यक्रममा दिनहुँ जसो सहभागी बने । यस क्रममा उनले चितवन, सर्लाही र जनकपुरसम्म पुगेर बोलेका कुराहरू अहिलेसम्म चर्चाको विषय बनिरहेका छन् ।

प्रचण्डका अभिव्यक्तिहरूमा आफ्ना राजनीतिक प्रतिद्वन्द्वी केपी शर्मा ओलीमाथिको आलोचना र माओवादी पार्टीको भावी रणनीतिका बाछिटाहरू पनि प्रकट भएका छन् । खासगरी प्रचण्डले चितवनबाटै आगामी निर्वाचन लड्ने पक्कापक्की भएको छ । प्रचण्डको भाषणले चर्चा पाएका विषयहरूमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा महँगा सामग्रीहरू थुपारेको देखि जसपासँग माओवादीको एकता प्रस्तावसमेत छन् ।

प्रचण्डले उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् भने विप्लव र मोहन वैद्यलाई गठबन्धनमा ल्याइने बताएका छन् । सर्वोच्च अदालतमा देखिएको विवाद चाँडै समाधान हुने उनले आफ्ना मन्तव्यहरूमा बताएका छन् ।

प्रचण्डले के–के भने ?

कात्तिक ९, चितवन : सायद अबको निर्वाचन मेरा लागि अन्तिम हुन पनि सक्छ, पाँच वर्षका लागि । तर, म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जादिनँ ।

कात्तिक ११, चितवन : विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ । छलफल सकारात्मक रूपमा अघि बढेको छ । प्रतिक्रान्ति र निरङ्कुश तत्त्वको षड्यन्त्रले हामीलाई दुई ठाउँमा पुर्‍याए पनि इमानदार कम्युनिष्टहरू एकताकै पक्षमा छौँ । आगामी निर्वाचनमा निरङ्कुश प्रवृत्ति हाबी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौँ । समाजवाद निर्माण र समाजवादी क्रान्तिअन्तर्गत जनवादी क्रान्तिका बाँकी काम पूरा गरेरै छाड्नुपर्नेछ । आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेर जाने आधार र प्रतिबद्धता बनिसकेको छ ।

कात्तिक १२, चितवन : केपी ओलीले त अब मैले बालुवाटार दरबार जिन्दगीभर छोड्नुपर्दैन भन्ने ठानेका रहेछन् । थाइल्याण्ड, इटाली र रोमबाट यति महँगा महँगा समान ल्याएर थुपारेका रहेछन् कि त्यो देख्दा अरू त अरू, शेरबहादुर देउवा पनि जिब्रो टोक्नुभयो । बाफ रे बाफ ! केपी ओलीको दम्भ ! उनले के ठानेका रहेछन् भने ऐयासी जीवन, राजा भएँ भन्ने ठानेका रहेछन् । अस्ति हामी गठबन्धनमा कुरा पनि गर्‍यौ यो त जनतालाई थाहा हुनुपर्‍यो भनेर । अरबौँको सामान विदेशबाट ल्याउने प्रधानमन्त्रीलाई आउने चुनावमा जनतालाई नै फैसला गर्न दिनुपर्‍यो ।

कात्तिक १३, जनकपुर : अहिले गठबन्धनका नेताहरू काठमाडौँ भन्दा बाहिर भएकाले साझा धारणा बनाउनमा ढिलो भएको छ । बैठक बस्ने बित्तिकै गठबन्धनको धारणा आउँछ । प्रतिपक्षी दलले संविधानको मर्म भावना विपरीत अनावश्यक रूपमा संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि नागरिकता विधेयक लगायत महत्त्वपूर्ण विधेयकहरू अगाडि बढ्नेछ । नागरिकता विधेयकका लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौँ । राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान्छौँ ।

कात्तिक १३, जनकपुर : म त्यस्तो प्रधानमन्त्री हो, जसले दुईपटक संविधान संशोधन प्रस्ताव राखेर मधेसी जनताको हकहितका लागि लडेको । तर, केपी ओलीले पास हुन दिएनन् । विडम्बना ! गणतन्त्र, संघीयताविरोधी, समानुपातिक–समावेशी विरोधी केपी ओलीलाई आफूलाई मधेसको मसिहा ठान्ने महन्थ ठाकुर र राजेन्द्र महतोहरुले साथ दिएर त्यसको सरकारमा सहभागी भएका हुन् कि होइनन् ? अनि तपाई–हामीले यो कुरा बिर्सिन मिल्छ ?

केपी ओली जो मधेस, गणतन्त्र, समावेशी विरोधी हो, उसलाई साथ दिने र माओवादीलाई एक्ल्याउनुपर्छ भन्ने महन्थ ठाकुरहरू मधेसका हुन् ? मधेसी हुन् ? रामराजा प्रसाद सिंहलाई राष्ट्रपति बनाऔँ भनेर माओवादीले प्रस्ताव राख्दा विरोध गर्नेहरू मधेसका मित्र हुन् ?

मधेसी जनताको माया र विश्वास पाएँ भने म फेरि प्रधानमन्त्री हुन्छु र मधेसको निम्ति संविधान संशोधन गर्छु भन्ने तपाईंको मित्र हो कि मधेसी अनुहार देखाएर मधेसी जनतालाई लुट्ने र ठग्ने डाँका र दलालहरू तपाईंका मित्र हुन् ? यो फैसला तपाईंहरूले योपटकको चुनावमा गर्नुपर्नेछ । असली मित्र र बैरीहरू को हो, छान्नुपर्नेछ ।

कात्तिक १५, कीर्तिपुर :  ओलीले सधैँ भन्थे– मलाई यो संघीय लोकतन्त्र पनि मन पर्दैन, गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी–समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन । अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरूसँग भेटेको भन्ने सूचना मैले पाएँ । मलाई जीन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप