आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ : माधवकुमार नेपाल

मङ्गलबार, १६ कात्तिक २०७८, १२ : ३५
मङ्गलबार, १६ कात्तिक २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले अहिले ‘अर्ली इलेक्सन’को आवश्यकता नरहेको बताए । उनले तीनै तहको निर्वाचन एकसाथ गराउन छलफलको खाँचो औंल्याए । नयाँ पार्टी गठनपछि पहिलो पटक गृह जिल्ला रौतहट आएका उनले मंगलबार चन्द्रपुरमा आयोजित पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धन चुनावसम्म रहने पनि बताए । गठबन्धनका नेताहरु बसेर तालमेलका साथ चुनावमा जान सक्ने उनको भनाइ थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई आफूले चाहेमा तत्कालै ढाल्न सक्ने भनेकोतर्फ लक्षित गर्दै नेता नेपालले ‘क्षेप्यास्त्र हानेर सरकार ढाल्ने ?’ भन्दै प्रतिप्रश्न गरे । ओली गफाडी नेता रहेको भन्दै उनले सरकार ढाल्ने कुरा दिवास्वप्न मात्र भएको बताए । घर घरमा ग्याँस, नेपाली झण्डावाल पानी जहाज सञ्चालन गर्नेजस्ता हावादारी गफ दिएको भन्दै उनले ओलीका अभिव्यक्तिलाई गम्भीरताका साथ हेर्न जरुरी नरहेको बताए ।

उनले प्रधानन्यायाधीशको विषयमा अहिलेसम्म गठबन्धनबिच छलफल नभएको बताए । यसबारे पाँच दलका शीर्ष नेताबीच छलफल हुने पनि उनले प्रस्ट पारे । पत्रकार सम्मेलनमा पर्साका सांसद नागेन्द्र चौधरी, डा. वंशीधर मिश्र लगायतको उपस्थिति थियो । अध्यक्ष नेपाल चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप