बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुस्तक अंश : नेपाली शाकुन्तल महाकाव्य

बिहीबार, १८ कात्तिक २०७८, १५ : ३२
बिहीबार, १८ कात्तिक २०७८

आज लक्ष्मीपूजा । तिथिअनुसार नेपाली साहित्यका स्वच्छन्दतावादी–प्रगतिवादी  धाराका कवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि हो । यही सन्दर्भलाई पारेर उनको पहिलो महाकाव्य शाकुन्तल महाकाव्यको प्रथम सर्ग यहाँ प्रस्तुत गरिएको छ । गतेअनुसार चाहिँ महाकवि देवकोटाको जन्म १९६६ कात्तिक २७ गते पर्छ । पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीको तेस्रो सन्तानका रूपमा काठमाडौँको डिल्लीबजारमा उनको जन्म भएको हो । 

प्रथम सर्ग
(शार्दूलविक्रीडित)

चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ।
नाच्दी सुन्दर तालले पवनामा देखी फुलेकी लता ।।
बिर्सेझैँ ‘भन को तिमी’ यति भनी गौरी रुलाईकन ।
मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ।।
(१)
चम्किथे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा ।
गम्किन्थे सपनासमान घनमा बुट्टाहरु बान्किला ।।
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे । 
त्यो आभा भर भारती, भरतको यो भारताऽकाशसमा ।।
(२)
मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको ।
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ।।
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झँदै
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ।।
(३)
बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति ।
हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति ।
फालेका कलिकालकल्मष बली गर्दा सधैँ खल्बली ।
श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौँ नि ! जानै ढली ।।
(४)
आफैंलाइ चिनाउने, रस दिने, प्राचीन सम्झाउने ।
मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ।।
चिन्ता दूर भगाउने समय नै स्वर्णाभ फर्काउने ।
ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ।।
(५)
गाऊँ आज भनी लिएँ कलमको वीणा यसो हातामा ।
चल्थ्यो हात कहाँ ? कठ्याङ्ग्रिन गयो अज्ञानका रातमा ।।
काँप्यो थुर्थुर चाल बिग्रन गयो, बिग्रेर झङ्कार यो ।
हुङ्कारेर ‘अहं’ महाशठमनाको मूर्ख टङ्कार भो ।।
(६)
माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन ।
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण ।।
जो आयो तर वर्षिई घनघटा कालो–नीलोबाट यो ।
जो जो ल्याउँछ सो बिनी बिनिलिने सौजन्यको सौख हो ।।
(७)
आँखालाइ न भोज यो झिलिमिली, मीठो न यो कानमा ।
गाना षड्पदको छ श्रेष्ठ कविको यो कल्पनोद्यानमा । 
नामै मात्र पवित्र मित्र यसको के भित्र होला तर ?
यस्ता क्षुद्र दरिद्रका हृदयका दरिद्र्यका चित्र छन् ।
(८)
यात्री आज बनूँ अतीत युगका, सम्झूँ त त्यो भारत ।
ब्यूँझाऊँ त सुषुप्तभाव अघिका, पर्दा लगाऊँ यता ।।
यो कोलाहल बिर्सिऊँ, मृतकको यो नामको जीवन ।
पाल्नोस् सज्जनवृन्द, यो रसिकको मीठो छ वृन्दावन ।।
(९)
छोटो दैनिक जिन्दगी, न घटना, झन् धूलिले धूसर ।
सस्ता ताक नफा लिएर छ सदा अन्धो, नभै सुन्दर ।।
सासै फेर्नु छ वर्तमान, नमिले यो भूतको आढ्यता ।
हामी दीन र हीन बन्नु छ भनी लेखेँ पुरानो कथा ।।
१०
लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन । 
बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ।।
छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर ।
लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला ।।
(११)
नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन ।
रोपेँ बीज विचारका, कलमका बुट्टा बनून् बल्लरी ।।
मालादार गला बनून् रसिकका पङ्खा नचाऊन् परी । 
सानो कुड्मल उक्सिँदै हृदयको बास्नो बनोस् वायुमा ।।
(१२)
बिर्सेका तकिया बनून् रसिका शैलादि झैँ शीतल ।
तन्ना हुन् हरिया, बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल ।।
जागून् चित्र विचित्रतासँग, उठोस् मुन्द्रा घुमी धूपको ।
कोठैभित्र कुटी बनून्, ध्वनि बनून् मीठा चरा कानमा । 
(१३)
पढ्दै मञ्जुल लाल–छाल ललिता ती मालीका चलून् ।
भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् ।।
पृथ्वी हून् तरुनी फरक्क समयै फर्कोस् सुनौला बनी ।
ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा ।।
(१४)
बस्ती दिव्य बसाउने गगनमा राम्रा कलाले भरी ।
सीमालाइ स्वदेशको विजयले सानन्द चौडा गरी ।।
यो सौन्दर्य फलाइने हृदयका आकाशका खेतमा ।
जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो ।।
(१५)
उद्योगैतक गर्छु आज म सखे ! बन्ला नबन्ला कसो ?
जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ?
मेरी शैशव–कल्पना छुकछुके के के गरी गुन्गुन ।
हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्द्रैसँग ।।
१६
भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि ।
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ।।
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली ।
होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ।।
(१७)
भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।
स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ।।
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याक्दो छ रित्ता सब । 
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ।।
(१८)
दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ।।
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
“पुग्छिन् सागर’’ भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ।।
(१९)
के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ?
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चकचके ।
“सक्तैनस्” यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ।।
(२०)
कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कूज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ।।
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ?
गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरु वामन ।।
(२१)
गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।
नाचीथी बिजुली, जहारहरुका भल्झल् लडेथे लडी ।
उर्लेको खहरे तिनै सुर  लिई हाम्फल्नको हड्बडी ।
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ।।
(२२)
“मालाले कवि ! भारतीपद भजी चोला सुनौला लिनू ।
बग्दैनन् स्तन ती त्यसै किन लिइस् बेकारको यो छिनु ।।”
भन्ने बुद्धि कुबुद्धि भो, कवि बढ्यो मीठो अहङ्कारले ।
“आसू होस् सब दोष, होश पर होस्, पूजा यही” भन्दछ ।।
(२३)
मेरो हंस चढी सफा स्फटिकको माल धरी आँसुका ।
वीणा ली करमा नशा झनुनुनू झङ्कार्दछिन् जो सदा ।।
ती माला स्तनाको सुधा हृदयमा बस्छिन् बहाईकन । 
बुट्टा काट्छु छिनो लिई, नजर हुन् बत्ती उज्यालो दिन ।।
(२४)
“बुट्टा हेरन पिच्छमा झिलिमिली” भन्दै त्यसै ढल्किँदो । 
हुन् आरूढा नहुन् कि शुक्लवसना इन्द्रेषु झैँ झल्किँदो ।।
भैगो मत्तमयूर नाच्दछ भने नाचोस् फुलेका– ‘मन’ ।
लागून् बादल बेसरी गगनमा होला दुखी झन् किन ।।
(२५)
“नाला मात्र रहेछ यो शिशु” भनी दाढी फुलेका भनून् ।
मानो शावकतुल्य नाच्छ वनमा फर्फुर् गरी उफ्रिँदै ।।
पानी धेर भए गभीर ढँगले गङ्गा बनी चल्दथ्यो ।
पारावार पुगेर पूर्ण महिमा पूर्णेन्दुको खुल्दथ्यो ।।
(२६)
जस्तो भो, शिशुले पढून् कनिकुथी कस्तो कथा हो भनी ।
रेखा तीन हुने विचार गहिरा दाढी बढारून् यहाँ ।।
घुम्टो आधि झिकेर स्त्रीहरु पढून् टाढा चिहाईकन ।
काँढाबाट बची सबै रसिकले पत्ती गुलाफी सुँघून् ।।
(२७)
“हा हा भारत !” भन्छ जो अब पसोस् यो कुञ्जमा काव्यको । 
जो भज्छौ पुरुखा मुसार करले दाढी यहाँ कण्वका ।।
नाचून् दिव्य परी जवानहरुका आँखा उज्याला गरी ।
पर्दा फेरि उचालिएर युगका दुष्यन्त राजा बनून् । 
(२८)
अर्ती, बुद्धि छ चाहिने यदि भने भेटून् यहाँ गौतमी ।
बूढी सुन्दर चाउरीहरु हुने मेरो रुचाऊन् कथा ।।
मातालाइ शकुन्तला छ करमै ‘थप्या’ र ‘थप्या’ दिन ।
भज्ने स्वर्ग छ पाउने झिलिमिली देखेर आरोहण ।।
२९
देखून् सज्जन हातले नजर क्यै छेकेर टाढातिर ।
यो प्राचीन जगत् सुदूर युगका छेडी सबै बादल ।।
नाचून् पात्र सजीवतासँग यहाँ हृद्रङ्गमा देशको ।
थोरै बेर जिऊन् दरिद्र दुनियाँ प्राचीन आनन्दमा ।।
(३०)
ठूला नीति सिकून्, प्रजाहरु सिकून् सद्भक्तिको माधुरी
ज्ञानी ज्ञान सिकून्, सिकून् कविहरू यो काव्यमा चातुरी ।।
जानून् गर्न विशाल दिव्य यसमा सारा नवाबी जन ।
बस्ती नव्य बसाउने रसिक हुन् एकान्त वृन्दावन ।।
(३१)
हामी बालक हौँ भुलेर युग यो क्रूर कोलाहल ।
बारी बादलका फुलून् नजरमा सानन्द निष्कण्टक ।।
यात्रा आज गरौँ उषाभवनको पूर्वीय आकाशमा ।
ल्याऔँला नवगन्ध पुष्प हँसिला पौल्टाभरी बासना ।।
(३२)
पल्टेकी वनमा नयाँ सुमनमा स्वप्ना बुनी सुन्दरी
गालाबीच गुलाफका कमलझैँ सेतो चढाइ कर ।।
फुस्केका मृदु गन्धले पवनमा भन्ने कथा झैँ गरी ।
मेरो काव्य–सुधा पिई अधरले चाखून् निगाहा गरी ।।
(३३)
प्रेमीमुग्ध हुँदी कुरङ्गनयनी ओजस्विनी कामिनी ।
प्रेमीसाथ बसी पढून् प्रियकथा फुल्दा छहारीमनि ।।
मारी चारु कटाक्ष ती तब भनून् “भल्छन् कसोरी नर” ।
“भुल्नेछन् भँवरा, म भुल्दिनँ” भनी प्रेमी दिऊन् उत्तर ।। 
(३४)
झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन ।
कुर्कुर् ढुकुर झैँ रमी हृदयले योगी डुलून् कानन ।।
“रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन” ।
भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ।।
(३५) 
 हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली ।
राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु ।।
पग्लोस् भुल्भल चित्त कोमल यहाँ देखी वियोगी दशा ।
अर्को जीवनको पसोस हृदयमा हेर्नेहरूमा नशा ।।
(३६)
पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख ।
शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्बिर नौला गरी ।।
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता ।
भोको भव्य भविष्य भृत्युसरि भै मागोस् सदा काव्य यो ।।।
(३७)
चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा ।
चोला मानिसको खडा हुन गयो, बुन्दा त्यही तानमा ।।
मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी ।
स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी ।।
(३८)
स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी ।
लट्ठा पूर्व विचारका वन बनी चढ्दा कराली परी ।।
नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा ।
पानीको रसजाल भूमितलमा प्यासाहरुकी बनून् ।।
(३९)
माटैको अझ गन्ध फूल फलमा, खाहरूभित्र छ ।।
ताराको छ निमेषतुल्य सुख नै झिम्की छिटो निभ्दछ ।।
झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो ।
टुप्पामा रसना भरी अमृतको थोपा बनी बस्दछ ।।
(४०)
(नेपाली शाकुन्तल महाकाव्य, साझा प्रकाशन, आठौँ संस्करणबाट) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप