सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सडक दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु, देउवा र प्रचण्डको विरोधाभासपूर्ण अभिव्यक्ति

आइतबार, २१ कात्तिक २०७८, १९ : २९
आइतबार, २१ कात्तिक २०७८

आज २०७८ कार्तिक २१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा एमसीसीका बारेमा देउवाको कुरा पत्याउने कि प्रचण्डको ?, प्रधानन्यायाधीशको राजीनामाका लागि दबाब बढाउँदै बार एशोसिएशन, जताततै दुर्घटना, कम्तीमा २५ जनाको मृत्यु, एमाले रहेकै कारण ०१७ साल दोहोरिन नपाएको ओलीको दाबी, डीडीसीका उपमहाप्रबन्धकमाथि ४५ दिनभित्र कारवाही गर्ने सहमति, बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने लगायत छन् ।

१. एमसीसीका बारेमा देउवाको कुरा पत्याउने कि प्रचण्डको ?

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा लामो समयदेखि नेपालमा बहस चलिरहेको छ । एउटा पक्षले एमसीसीलाई राष्ट्रघाती सम्झौता भनिरहेको छ भने अर्को पक्षले यसलाई नेपालकै हितमा रहेको दाबी गर्दै आएको छ । पछिल्लो समय सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच नै एमसीसीका बारेमा विरोधाभासपूर्ण अभिव्यक्तिपछि भने यसका बारेमा थप अन्योल देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पत्र लेखेर अमेरिकी पक्षलाई नआत्तिन आग्रह गरेको बताएका छन् भने प्रचण्डले पत्रमा त्यसप्रकारको विवरण नभई सबैसँग छलफल नगरी, सहमति नबनाइ पारित गर्न नसकिने विवरण उल्लेखित पत्र पठाइएको बताएका छन् । गठबन्धनका दुई शीर्ष नेताबीचको यो विरोधाभासपूर्ण अभिव्यक्तिले विभिन्न आशंका उब्जाइदिएको छ । 

यो पनि...

​२. प्रधानन्यायाधीशको राजीनामाका लागि दबाब बढाउँदै बार एशोसिएशन
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाका लागि नेपाल बार एशोसिएसनले दबाब बढाउने भएको छ । सोही क्रममा बारले आइतबार देशभरका ९० वटा इकाईसँग भर्चुअल माध्यमबाट छलफल थालेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलनरत बारले सोमबार पनि सर्वोच्च अदालतमा बहस बहिष्कार गर्ने भएको छ । यस्तै अवस्था रहे उच्च अदालत र जिल्ला अदालतमा पनि बहस बहिष्कार गर्नुपर्ने सुझाव आएको बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन् ।

​३. जताततै दुर्घटना, कम्तीमा २५ जनाको मृत्यु
चाडबाडको समयमा अत्यधिक दुर्घटना हुने परिस्थितिबाट तिहार अछुतो रहन सकेन । शनिबार राति र आइतबार देशका विभिन्न भागमा भएका दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । 

४. एमाले रहेकै कारण ०१७ साल दोहोरिन नपाएको ओलीको दाबी
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेकै कारण ०१७ साल दोहोरिन नपाएको दाबी गरेका छन् । उनले काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह रहेको आरोपसमेत लगाए ।

५. विगतको तुलनामा यस वर्ष तिहारमा बढ्यो मालाको खपत
विगतका वर्षको तुलनामा यस वर्ष तिहारमा मालाको खपत बढेको छ । नेपाल फ्लोरिकल्चर एशोसिएसनका अनुसार यस वर्ष मालाको खपत बढे पनि नेपाली पुष्प व्यवसायी तथा कृषकलाई भने सोचेअनुरुप लाभ भएन । भारतीय फूलको आयात बढेका कारण नेपाली किसान निराश हुनु परेको जनाइएको छ ।

६. डीडीसीका उपमहाप्रवन्धकमाथि ४५ दिनभित्र कारवाही गर्ने सहमति
दुग्ध विकास संस्थान (डीडीसी) का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई ४५ दिनभित्र कारवाही गर्ने सहमतिपछि कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । अनियमितताको आरोप लगाउँदै उनीमाथि कारवाहीको मागसहित आन्दोलनमा उत्रिएका कर्मचारी र डीडीसी व्यवस्थापन पक्षबीच यस्तो सहमति भएको हो ।

तिहारको मौका छोपेर जुवातास खेलेको अवस्थामा देशका विभिन्न स्थानबाट प्रहरीले कयौंलाई पक्राउ गरेको छ । काठमाडौं, भक्तपुर लगायत देशका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

८. बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भोलि (सोमबार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

९. तिहार सकिएसँगै छठ पर्वको तयारी
तिहार सकिएसँगै छठ पर्वको रौनक भित्रिएको छ । विशेषगरी तराई मधेसमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । कार्तिक शुक्ल चौथीबाट यो पर्वको विधि सुरु भएर कार्तिक सप्‍तमी बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रत समापन गरिन्छ ।

१०. पछिल्लो २४ घण्टामा १४३ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १४३ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ५६३ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले राजदूत नियुक्ति गर्दा छुट्टै सूची बनाएर गर्न प्रस्ताव गरेका छन् । उनले अब नियुक्ति गर्दा पार्टीहरूको भागबण्डाभन्दा पनि साझा सूची बनाएर कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरुलाई अवसर दिनुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकेको छ ।  माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कात्तिक २८ गतेका लागि पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरिएको काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप