मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो चरणको चुनाव : प्रदेश १ का २१ क्षेत्रमा यस्तो हुन सक्छ भिडन्त

सोमबार, २० कात्तिक २०७४, १६ : ४६
सोमबार, २० कात्तिक २०७४

काठमाडौँ– पहिलो चरणमा १ नम्बर प्रदेशका ७ जिल्लामा र दोस्रो चरणमा पनि ७ जिल्लामा चुनाव हुँदैछ । पहिलो चरणमा मङ्सिर १० गते प्रदेश १ का सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङमा चुनाव हुँदैछ । दोस्रो चरणमा यो प्रदेशका इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा चुनाव हुँदैछ । यिनै जिल्लामा स्थानीय तहमा दलहरूले पाएको मतको अवस्था के थियो ? आसन्न चुनावका लागि यो अङ्कगणितमाथि दल, उनका कार्यकर्ता र मतदाताको चासो छ ।

यही क्रममा हामीले स्थानीय तहको चुनावलाई आधार मानेर दोस्रो चरणमा प्रदेश १ का २१ क्षेत्रमा कस्तो चुनावी भिडन्त हुन सक्छ भनेर आँकलन गरेका छौँ ।

१) इलाम 
प्रदेश नम्बर १ को इलाममा मङ्सिर २१ गते दोस्रो चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । इलाममा प्रतिनिधि सभा निर्वाचनका लागि दुई र प्रदेश सभा चुनावका लागि २ निर्वाचन क्षेत्र रहेका छन् ।

क्षेत्र नं. १
इलाम क्षेत्र नं. १ मा आगामी प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट एमालेका नेता झलनाथ खनाल, नेपाली काङ्ग्रेसका भुपेन्द्र कट्टेल र सङ्घीय समाजवादी फोरमका राजकुमार राईबीच प्रतिष्पर्धा हुँदैछ । यो क्षेत्रअन्तर्गत सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सुर्योदय नगरपालिका, रोङ गाउँपालिका र माई नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ९ र १० तथा इलाम नगरपालिकाको वडा १० पर्छ ।
गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले पाएको मतका आधारमा इलाम क्षेत्र नं. १ मा दलले पाएको मतका आधारमा यस क्षेत्रमा रहेका दलहरूको अवस्थाको हामीले विश्लेषण गर्ने प्रयास गरेका छौँ ।

इलाम क्षेत्र नं. १ मा स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले २४ हजार २ सय ७६ मत ल्याएको छ भने नेकपा एमालेले ३१ हजार ८ सय ४६ मत ल्याएको छ । यस्तै माओवादी केन्द्रले ४ हजार ५ सय ९४, सङ्घीय समाजवादी फोरमले २ हजार ५ सय २९ र राप्रपाले ६ सय १५ मत ल्याएको छ ।

यस आधारमा हेर्दा इलाम क्षेत्र नं. १ मा एमाले र माओवादी केन्द्रले ३६ हजार ४ सय ४० मत ल्याएको छ । जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा १२ हजार १ सय ६४ मत बढी हो । इलाम क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १ हजार ६४ मतदाता रहेका छन् ।  

क्षेत्र नं. २
इलाम क्षेत्र नं. २ मा आगामी प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट एमालेका नेता सुवास नेम्वाङ, नेपाली काङ्ग्रेसका केशव थापा र सङ्घीय समाजवादी फोरमका कृष्ण पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।

इलाम नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, ११ र १२, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका वडा नं. ६, ७ र ८ पर्छन् ।

क्षेत्र नं. २ मा स्थानीय तहमा प्रमुख तथा वडाध्यक्ष पदमा राजनीतिक दलले पाएको मतका आधारमा नेपाली काङ्ग्रेसले २८ हजार २६ मत पाएको छ । नेकपा एमालेले २९ हजार १ सय ८१, माओवादी केन्द्रले ५ हजार ५७ मत पाएको छ भने सङ्घीय समाजवादी फोरमले ३ हजार ५ सय ६४ मत पाएको छ भने राप्रपाले १ सय ८५ मत पाएको छ । यहाँ वाम गठबन्धनको कुल मत मिसाँउदा ३४ हजार २ सय ३८ मत छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ६ हजार २ सय १२ बढी हो । इलाम क्षेत्र नं. २ मा आगामी निर्वाचनका लागि १ लाख २ हजार ९ सय ८६ मतदाता छन् ।  

२) तेह्रथुम 
आगामी प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट एमालेका भवानी खापुङ, काङ्ग्रेसकी सीता गुरुङ र समाजवादी फोरमका तुलसीप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ । 

१ निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ६६ हजार ७ सय ४१ मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले पाएको मतका आधारमा तेह्रथुममा नेपाली काङ्ग्रेसले १८ हजार ४ सय ३१, नेकपा एमालेले १९ हजार १ सय ११, नेकपा माओवादी केन्द्रले ५ हजार ८१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७९, नयाँ शक्तिले २ सय ५४ मत पाएको छ । यस आधारमा तेह्रथुममा वाम गठबन्धन एमाले र माओवादी केन्द्रको २४ हजार १ सय ९२ मत छ भने नेपाली काङ्ग्रेस, राप्रपा र नयाँ शक्ति लोकतान्त्रिक गठबन्धनको १८ हजार ७ सय ६४ मत छ । यस आधारमा तेह्रथुममा वाम गठबन्धन ५ हजार ४ सय २८ मतले अगाडि देखिन्छ ।
 
३) धनकुटा 
प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको धनुकुटामा वाम गठबन्धनबाट एमालेका राजेन्द्र राई र राप्रपाका सुनिल थापाबीच प्रतिष्पर्धा हुँदैछ ।  

यहाँ १ लाख ५ हजार १ सय ९९ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा धनकुटाका स्थानीय तहका प्रमुख पदमा राजनीतिक दलले पाएको मत अनुसार नेपाली काङ्ग्रेसले १८ हजार १ सय ३२, नेकपा एमालेले २९ हजार ९ सय ३, माओवादी केन्द्रले १० हजार ८३, राप्रपाले ३ हजार ८ सय ३०, मधेसी अधिकार फोरम लोकतान्त्रिकले ७३, नयाँ शक्ति नेपालले ५४ मत पाएको थियो । यसअनुसार धनकुटामा वाम गठबन्धनको ३९ हजार ९ सय ८६ मत छ । यस्तै नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनको २२ हजार ८९ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धनको १७ हजार ८ सय ९७ हाराहारी बढी मत देखिन्छ ।

४) उदयपुर 
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरमा दुई निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचनका लागि ४ निर्वाचन क्षेत्र रहेका छन् । उदयपुरमा कूल १ लाख ९३ हजार ९ सय १३ मतदाता रहेका छन् । उदयपुरको समग्र दुई क्षेत्रमा वाम गठबन्धनको ६८ हजार ९ सय ९७ मत छ भने नेपाली काङ्ग्रेसको ३७ हजार ३ सय ५६ मत छ । उदयपुरमा गठबन्धन दल नेपाली काङ्ग्रेस भन्दा ३१ हजार ६ सय ४१ मतले अगाडि छ ।  

क्षेत्र नं. १
उदयपुर क्षेत्र नं. १ मा एमालेकी मञ्जु चौधरी र नेपाली काङ्ग्रेसक डा. नारायण खड्काबीच मुख्य प्रतिष्पर्धा हुँदैछ ।
यो क्षेत्रमा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिका रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रबाट नेपाली काङ्ग्रेसले २३ हजार ४ सय ३१ मत ल्याएको थियो । यस्तै एमालेले २३ हजार ५ सय १६ मत, माओवादी केन्द्रले १६ हजार १ सय ६ मत, नयाँ शक्तिले १६ सय ८३, राप्रपाले १ हजार ११ मत ल्याएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३९ हजार ६ सय २२ मत रहेको छ । यस्तै नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनको २६ हजार १ सय २५ मत रहेको छ । अर्थात उदयपुर क्षेत्र नं. १ मा वाम गठबन्धन भन्दा १३ हजार ४ सय ९७ हाराहारी मतले अगाडि रहेको छ । आगामी निर्वाचनका लागि उदयपुर क्षेत्र नं. १ मा १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् ।

क्षेत्र नं. २
उदयपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचनका लागि माओवादी केन्द्रका सुरेशकुमार राई, काङ्ग्रेसका नारायण कार्की र फोरमका विष्णु राई दनुवारबीच प्रतिस्पर्धा हुँदैछ ।

यहाँ ७९ हजार ३ सय २७ मतदाता रहेका छन् । यो क्षेत्रअन्तर्गत रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका, कटारी नगरपालिका, ताप्ली गाउँपालिका र सुनकोशी गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट नेपाली काङ्ग्रेसले १३ हजार ९ सय २५ मत पाएको थियो भने एमालेले १६ हजार २ सय ६६, माओवादीले १२ हजार ५ सय ५९, नयाँ शक्तिले ४ सय ९६ र राप्रपाले १ सय २५ मत ल्याएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २८ हजार ८ सय २५ हाराहारी मत छ भने लोकतान्त्रिक गठबन्धनको पक्षमा १४ हजार ५ सय ४६ मत रहेको छ । यहाँ वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन भन्दा १४ हजार २ सय ७९ मतले  अगाडि रहेको छ ।  

५) झापा 
आगामी प्रतिनिधि सभा निर्वाचन र प्रदेशसभा निर्वाचनका लागि झापामा ५ निर्वाचन क्षेत्र रहेका छन् । झापामा कुल ५ लाख ८५ हजार २ सय २८ मतदाता रहेका छन् । झापाका ५ निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरूले पाएको मतका आधारमा हामीले ती क्षेत्रमा दलहरूको अवस्थाको आँकलन गरेका छौँ । हामीले यहाँ प्रयोग गरेको मत सङ्ख्या स्थानीय तहमा पाएको मतको मोटामोटी मतसङ्ख्या हो ।

झापा क्षेत्र नं. १ 
झापा क्षेत्र नं. १ मा माओवादीका राम कार्की, काङ्ग्रेसका विश्वप्रकाश शर्मा र फोरमका भक्त सेवाहाङबीच प्रतिस्पर्धा हुँदैछ ।

यो क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका वडा नं. ९ र १०, बुद्धशान्ति गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ पर्छन् । क्षेत्र नं. १ मा १ लाख ९ हजार ६ सय ७६ मतदाता छन् ।

यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरूले मतका आधारमा नेपाली काङ्ग्रेसको  २५ हजार ५ सय १ मत देखिन्छ भने एमालेको २५ हजार ६३ मत छ । यस्तै माओवादी केन्द्रले ९ हजार ८ सय ८८ मत र राप्रपाको १ हजार ३ सय ३३ र सङ्घीय समाजवादी फोरमले ४ सय ७० मत छ । यस आधारमा यहाँ एमाले र माओवादी वाम गठबन्धनको ३४ हजार ९ सय ५१ मत हुन आउँछ । जुन मत नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ९ हजार ४ सय ५० बढी हो ।

झापा क्षेत्र नं. २   
झापा क्षेत्र नं. २ मा एमालेकी पवित्रा खरेल, काङ्ग्रेसका उद्धव थापा र फोरमका मणी राई बीच प्रतिस्पर्धा हुँदैछ ।  

क्षेत्र नं २ मा अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, र ९ पर्छन् । यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं. १, २, र ३ पर्छन् भने कन्काई नगरपालिकाका वडा नं. ८ र ९ पर्छन् । क्षेत्र नं. २ मा १ लाख १४ हजार ३ मतदाता रहेका छन् ।

स्थानीय तहमा यो क्षेत्रमा नेपाली काङ्ग्रेसको २२ हजार ५ सय ८५ मत देखिन्छ भने एमालेको २८ हजार ७ सय २४, माओवादी केन्द्रको ७ हजार ५ सय ३, राप्रपाको ४ हजार ९ सय ४० मत देखिन्छ । यस्तै फोरम लोकतान्त्रिकको ५० र सङ्घीय समाजवादी फोरमको ४ सय ३१ मत छ । 

यहाँ वाम गठबन्धनको मत एकै ठाउँमा मिसाउँदा ३६ हजार २ सय २७ हुन्छ, जुन नेपाली काङ्ग्रेसको मतभन्दा १३ हजार ६ सय ४१ मत बढी हो । यहाँ राप्रपाको झन्डै ५ हजार मत रहेको छ । यदि यो मत पनि वाम गठबन्धनतिर जाने हो भने प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली काङ्ग्रेस भारी मतले पछाडि पर्ने देखिन्छ ।

झापा क्षेत्र नं. ३ 
झापा क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देन र नेपाली काङ्ग्रेसका कृष्णप्रसाद सिटौलाबीच प्रर्तिष्पर्धा हुँदैछ ।

यो क्षेत्रमा बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडा र विर्तामोड नगरपालिकाको वडा नं. ८ पर्छ । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा झापा ३ मा नेपाली काङ्ग्रेसले २० हजार ५ सय ४५, नेकपा एमालेले १९ हजार ८ सय ८०, माओवादी केन्द्रले ९ हजार ५ सय ८८, राप्रपाले १४ हजार १ सय ५, फोरम लोकतान्त्रिकले २ सय ५ र सङ्घीय समाजवादी फोरमले ७ सय ८६ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनसहित राप्रपाको मत मिसाउँदा ४३ हजार ५ सय ७३ हुन्छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा २३ हजार २८ मत बढी हो ।

झापा क्षेत्र नं. ४
झापा क्षेत्र नं. ४ मा एमालेका एलपी साँवा, काङ्ग्रेसका देउकुमार थेवे बीच मुख्य प्रतिस्पर्धा हँुदैछ ।

यो क्षेत्रमा झापा गाउँपालिका, गौरादह नगरपालिका वडा नं. ९, गौरीगञ्ज नगरपालिका वडा नं. १ र २, कन्काई नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र शिवशताक्षी नगरपालिका पर्छन् । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख ९ हजार ४ सय १ मतदाता रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. ४ मा  मोटामोटी रूपमा नेपाली काङ्ग्रेसको २२ हजार ९ सय २९, एमालेको २६ हजार ४ सय १४, माओवादी केन्द्रको ९ हजार ६ सय ९९, राप्रपाको १९ सय ४२, फोरम लोकतान्त्रिकको ६ सय ३९ र सङ्घीय समाजवादी फोरमको १ सय २९ मत रहेको छ ।

यस आधारमा यहाँ वाम गठबन्धनसहित राप्रपाको मत जोड्दा ३८ हजार ५५ हुन्छ । नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २३ हजार ५ सय ६८ हुन्छ । अर्थात यहाँ वाम गठबन्धनको पक्षमा नेपाली काङ्ग्रेसको भन्दा १४ हजार ४ सय ८७ मत बढी देखिन्छ ।

झापा क्षेत्र नं. ५
झापा क्षेत्र नं. ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली, काङ्ग्रेसका खगेन्द्र अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

यो क्षेत्रमा गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिका र कमल नगरपालिका पर्छन् । यो निर्वाचन क्षेत्रमा १ लाख ३७ हजार ५ सय ६२ मतदाता छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले पहिलो दल बनेको थियो । मोटामोटी रूपमा नेपाली काङ्ग्रेसको २३ हजार २ सय ५०, नेकपा एमालेको २९ हजार ४ सय ६०, माओवादी केन्द्रको १३ हजार ५ सय ८३, राप्रपाको १० हजार २ सय २२, फोरम लोकतान्त्रिकको ११ सय ९४ र सङ्घीय समाजवादी फोरम लोकतान्त्रिकको १ हजार ३४ मत रहेको छ ।

यस आधारमा यहाँ वाम गठबन्धनसहित राप्रपाको मत जोड्दा कूल ५३ हजार २ सय ६८ हुन्छ । यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २४ हजार ४ सय ४४ हुन्छ । अर्थात यहाँ वाम गठबन्धनको नेपाली काङ्ग्रेसको भन्दा २८ हजार ८ सय २४ मत धेरै रहेको छ ।

६) मोरङ 
मोरङमा प्रतिनिधि सभा निर्वाचनका लागि ६ क्षेत्र रहेका छन् भने जिल्लामा कूल ६ लाख ४४ हजार ७ सय ८५  मतदाता रहेका छन् । नेपाली काङ्ग्रेसको आधार क्षेत्र रहेको मोरङमा एमाले र माओवादी केन्द्रले तालमेल गरेर चुनावी मैदानमा होमिएपछि नेपाली काङ्ग्रेसको साइज घट्ने अनुमान गरिएको छ ।

मोरङ क्षेत्र नं. १ 
मोरङ क्षेत्र नं. १ मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडा, नेपाली काङ्ग्रेसका डिकबहादुर लिम्बु र सङ्घीय समाजवादी फोरमका देवेन्द्र श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नंंं. १ मा १ लाख ७ हजार २ सय ३५ मतदाता रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनका विभिन्न राजनीतिक दलले स्थानीय तह प्रमुख र वडा अध्यक्षले पाएको मतका आधारमा मोटोमोटी रूपमा दलहरूको अवस्था बुझ्ने प्रयास गरेका छौँ । क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसले  २७ हजार ६ सय ९७ मत पाएको थियो । यस्तै नेकपा एमालेले २५ हजार ६ सय ४४, माओवादी केन्द्रले ७ हजार ४ सय १९, नयाँ शक्तिले ३७, राप्रपाले ४ सय ९५, फोरम लोकतान्त्रिकले ३८ र सङ्घीय समाजवादी फोरमले ६३ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३३ हजार ६३ मत छ ।  यहाँ नेपाली काङ्ग्रेसले प्राप्त गरेको मतभन्दा ५ हजार ३ सय ६६ हाराहारी मतले वाम गठबन्धन अगाडि रहेको छ ।

मोरङ क्षेत्र नं. २ 
आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नं. २ मा १ लाख ११ हजार ३ सय २१ मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट एमालेका ऋषिकेश पोखरेल, नेपाली काङ्ग्रेसका मिनेन्द्रप्रसाद रिजाल र सङ्घीय समाजवादी फोरमका युवराज कार्कीबीच प्रतिस्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा मोरङ २ मा मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले २२ हजार ९ सय ८०, नेकपा एमालेले १९ हजार १७, माओवादी केन्द्रले १२ हजार २ सय ८२, नयाँ शक्तिले ४ सय ४९, राप्रपाले २ हजार ७ सय ९, फोरम लोकतान्त्रिकले ७ सय ९१ र सङ्घीय समाजवादी फोरमले ३ हजार ६ सय ५३ मत ल्याएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३१ हजार २ सय ९९ मत रहेको छ । मेची अञ्चलमा राप्रपाले पनि वाम गठबन्धनलाई सघाउने बताइरहेका बेला वाम गठबन्धनमा राप्रपाको मत जोड्दा ३४ हजार ८ हुन्छ । नेपाली काङ्ग्रेसको मतमा फोरम लोकतान्त्रिकले पाएको मत मिसाउँदा २३ हजार ७ सय ७१ हुन्छ, जुन वाम गठबन्धनको मतभन्दा १० हजार २ सय ३७ कम हो । यस आधारमा हेर्दा मोरङ क्षेत्र नं. २ मा वाम गठबन्धनलाई पराजित गर्न नेपाली काङ्ग्रेसलाई कठिन पर्ने देखिन्छ  ।

मोरङ क्षेत्र नं. ३  
मोरङ क्षेत्र नं.३ मा आगामी निर्वाचनका लागि १ लाख २७ हजार ४ सय ९६ मतदाता रहेका छन् । वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकाल, नेपाली काङ्ग्रेसका सुनिलकुमार शर्मा र सङ्घीय समाजवादी फोरमका लोक सागर साँवा बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनका मोरङ क्षेत्र नं. ३ बाट मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले २२ हजार ६ मत पाएको थियो भने नेकपा एमालेले २९ हजार १ सय ७३, माओवादी केन्द्रले १३ हजार ४ सय ९८, नयाँ शक्तिले ७ सय १०, राप्रपाले ५ सय ३५, सङ्घीय समाजवादी फोरमले ३५ र फोरम लोकतान्त्रिकले ११ सय २ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ४२ हजार ६ सय ७१ मत रहेको छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा २० हजार ६ सय ६५ मत धेरै देखिन्छ । स्थानीय तहमा राजनीतिक दलले पाएको मत प्रतिनिधि सभा निर्वाचनका बेला केही फरक परे पनि यहाँ बाम शक्ति नै बलियो हुने देखिएको छ  ।

मोरङ क्षेत्र नं. ४  
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मोरङ क्षेत्र नं.४ मा ९९ हजार १ सय २४ मतदाता रहेका छन् । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी, नेपाली काङ्ग्रेसका महेश आर्चाय र सङ्घीय समाजवादी फोरमका तर्फबाट लोक सागर साँवा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडाध्यक्षहरूले पाएको मतका आधारमा क्षेत्र नं. ४ मा मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले १७ हजार १, नेकपा एमालेले १७ हजार ९ सय ३३, माओवादी केन्द्रले ६ हजार १ सय ३१, राप्रपाले १६ सय ३, फोरम लोकतान्त्रिकले ८ हजार २ सय १ र सङ्घीय समाजवादी फोरमले ४ हजार २ सय २८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ६४ मत देखिन्छ ।  यस्तै  हालसालै नेपाली काङ्ग्रेसमा बिलय भएको फोरम लोकतान्त्रिकले पाएको मत  नेपाली काङ्ग्रेसले पाएको मतमा मिसाउँदा २५ हजार २ सय २ हुन्छ ।  अर्थात् यहाँ नेपाली काङ्ग्रेस ११ सय ३८ मतले अगाडि देखिन्छ । यहाँ राप्रपाले १२ सय ३ मत ल्याएको थियो । लोकतान्त्रिक गठबन्धनमा समेत रहेको राप्रपाको मत नेपाली काङ्ग्रेसलाई जाने हो भने नेपाली काङ्ग्रेस केही बलियो हुनेछ ।  

मोरङ क्षेत्र नं. ५ 
आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नं. ५ मा ८९ हजार २ सय ८७ मतदाता रहेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल, नेपाली काङ्ग्रेसका तर्फबाट अमृतकुमार अर्याल र सङ्घीय समाजवादी फोरमबाट राजकुमार यादव प्रतिस्पर्धामा छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट नेपाली काङ्ग्रेसले १३ हजार ७ सय ३०, नेकपा एमालेले १० हजार ४ सय ९३, माओवादी केन्द्रले १० हजार २ सय २३, नयाँ शक्तिले ६७, राप्रपाले १ हजार ३ सय १७, फोरम लोकतान्त्रिकले २ हजार ४ सय ६५ र सङ्घीय समाजवादी फोरमले १४ हजार १ सय ८ मत पाएको थियो ।
यस आधारमा हेर्दा यो क्षेत्रमा वाम गठबन्धनको पक्षमा २० हजार ७ सय १६ मत रहेको छ भने नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा १६ हजार १ सय ९५ मत पाएको थियो, जुन वाम गठबन्धनको भन्दा ४ हजार ५ सय २१ मत कम हो ।

मोरङ क्षेत्र नं. ६ 
यो निर्वाचन क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १० हजार ३ सय २२ मतदाता रहेका छन् । यहाँ वाम गठबन्धनबाट एमालेका लालबाबु पण्डित र नेपाली काङ्ग्रेसबाट डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । पण्डित पूर्व सामान्य प्रशासन मन्त्री हुन् भने कोइराला नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुन् ।
 
गत स्थानीय तहको निर्वाचनमा मोरङ क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेसले १९ हजार ८ सय २, नेकपा एमालेले १८ हजार १ सय ६८, माओवादी केन्द्रले ८ हजार ६८, राप्रपाले २ हजार ५ सय ९९, फोरम लोकतान्त्रिकले ८ हजार १ सय ९६ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय ७७ मत पाएका थिए ।
 
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २ सय ३६ मत रहेको छ भने नेपाली काङ्ग्रेस फोरम लोकतान्त्रिकले पाएको मत हिसाब गर्दा २७ हजार ९ सय ९८ मत रहेको छ । यस आधारमा यहाँ वाम गठबन्धनभन्दा नेपाली काङ्ग्रेस १७ सय ६२ मतले अगाडि रहेको छ । लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपाको २५ सय ९९ मत छ । 
स्थानीय तहमा पाएको मतका आधारमा मोरङ क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ ।

७) सुनसरी
सुनसरीमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ४ र प्रदेश सभा निर्वाचनका लागि ८ निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लामा कूल ४ लाख ७४ हजार ३ सय मतदाता रहेका छन् ।

सुनसरी क्षेत्र नं. १ 
सुनसरी क्षेत्र नं. १ मा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख २२ हजार ६ सय ८ मतदाता रहेका छन् । वाम गठबन्धनबाट एमालेका जय राई र सङ्घीय समाजवादी फोरमबाट अशोक कुमार राईबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ नेपाली काङ्ग्रेस र सङ्घीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका कारण नेपाली काङ्ग्रेसले उम्मेदवार उठाएको छैन ।  

गत स्थानीय तहको निर्वाचनमा सुनसरी १ मा काङ्ग्रेसले २३ हजार २४, एमालेले ३० हजार १ सय ३८, माओवादी केन्द्रले १२ हजार ७ सय ४०, नयाँ शक्तिले ५ हजार ५ र राप्रपाले ५ सय ८७ मत पाएको थियो ।

यहाँ वाम गठबन्धनको पक्षमा ४२ हजार ८ सय ७८ मत देखिन्छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १९ हजार ८ सय ५४ बढी मत हो । यहाँ स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिले चुनावी तालमेल गरी ५ हजार ५ मत पाएका थिए । यो मत नेपाली काङ्ग्रेसले पाएको मतमा मिलाउने हो भने २८ हजार २९ मत हुन्छ । यो मत जोड्दा पनि लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा १४ हजार ८ सय ४९ पछाडि परेको छ । स्थानीय तहको चुनावमा आधारमा सङ्घीय समाजवादी फोरमका नेता अशोककुमार राईले सहजै जित निकाल्न सकिने अवस्था देखिँदैन ।

सुनसरी क्षेत्र नं. २ ः
आगामी निर्वाचनका लागि सुनसरी क्षेत्र नं.२ मा १ लाख ३० हजार ३ सय ७० मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका डम्बर सुवेदी, नेपाली काङ्ग्रेसका सीताराम मेहता र सङ्घीय समाजवादी फोरमका तेज नारायण चौधरी चुनावी मैदानमा छन् ।
गत स्थानीय तहको निर्वाचनमा सुनसरी २ बाट मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले २७ हजार ८ सय ५९, नेकपा एमालेले २८ हजार ९ सय ४०, माओवादी केन्द्रले ४ हजार ६ सय ३९, नयाँ शक्तिले ४ सय ४, राप्रपाले १२ सय ७६, फोरम लोकतान्त्रिकले ५ हजार ७ सय २८ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय २२ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३३ हजार ६ सय ७९ मत छ । यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत मिसाउँदा ३३ हजार ५ सय ८७ मत हुन्छ । यहाँ राप्रपाले पाएको १२ सय ७६ र नयाँ शक्तिले पाएको मत नेपाली काङ्ग्रेसमा मिसाउने हो भने वाम गठबन्धन भन्दा नेपाली काङ्ग्रेस १५ सय ८८ मतले अगाडि देखिन्छ । यसआधारमा भन्नुपर्दा यहाँ वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच कडा टक्कर पर्नेछ ।    

सुनसरी क्षेत्र नं. ३ ः
अगाामी निर्वाचनका लागि सुनसरी क्षेत्र नं. ३ मा १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् । यो क्षेत्रमा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी र काङ्ग्रेसका नेता एवं मन्त्री विजयकुमार गच्छदार बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादीले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९, फोरम लोकतान्त्रिकले १७ हजार ६ सय ७३ र सङ्घीय समाजवादी फोरमले ३ हजार ४ सय २७ मत पाएको थियो ।

यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २० मत छ भने नेपाली काङ्ग्रेसको पक्षमा ३९ हजार २ सय ५० मत देखिन्छ ।  अर्थात यहाँ नेपाली काङ्ग्रेसको पक्षमा १३ हजार २ सय ३० मत रहेको छ ।

सुनसरी ४ 
सुनसरी क्षेत्र नं. ४ मा १ लाख ११ हजार ४ सय ८१ मतदाता छन् । यहाँ आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठ, नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र फोरम लोकतान्त्रिकका महेन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा मोटामोटी रूपमा काङ्ग्रेसले २१ हजार २ सय ३३, एमालेले १८ हजार ३ सय २२, माओवादीले ४ हजार २ सय ६, राप्रपाले ११ सय ७०, फोरम लोकतान्त्रिकले ३ हजार ६ सय ६७ र सङ्घीय समाजवादी फोरम नेपालले ८ हजार ९ सय १७ मत पाएको थियो ।

यसअनुसार यहाँ वाम गठबन्धनको पक्षमा २२ हजार ५ सय २८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ९ सय मत रहेको छ ।

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

मोरङमा मोदी, शेखर, लालबाबु र मिनेन्द्र : कसको अवस्था कस्तो छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप