आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मैले जीतु नेपाललाई धोका दिएको छैन : ‘फुलन्देकी आमा’

बुधबार, २४ कात्तिक २०७८, १७ : ३१
बुधबार, २४ कात्तिक २०७८

कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले आफूले जीतु नेपाल र ‘मुन्द्रेको कमेडी क्लब’ लाई धोका नदिएको बताएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ बन्दको बिषयमा आफ्नो नाम मुछिन थालेपछि उनले बन्द हुनुको कारण आफू नभएको स्पष्ट पारेका हुन् ।

लोकप्रिय टेलिभिजन कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारबाट बन्द भएको छ । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार पत्रकार भेटघाट गर्दै शो बन्द गरेका थिए ।  कार्यक्रममा निर्माण संस्था कि एभरटाइजमेन्ट र शोका मुख्य कलाकार उमेश राई ‘फुलन्देकी आमा’ को कारण शो बन्द गर्नुपरेको जीतुले गुनासो पोखेका थिए । सोही कार्यक्रममा जीतुले उमेशले आफ्नो कार्यक्रम रहँदै अर्काे कार्यक्रममा जानु गलत भएको भन्दै आफूलाई उनले धोका दिएको रुपमा धारणा राखेका थिए ।

एउटै एजेन्सीको काम भएकोले आफूले अर्काे कार्यक्रममा पनि सहभागी भएको राईले बताए । ‘मैले जीतु दाईलाई सोध्न जरुरी ठानिनँ । किनभने कार्यक्रमको बिषयमा एजेन्सीसँग जीतु दाईको पहिलै कुरो भैसकेको थियो । यस्तो कार्यक्रम आयो भने गर्दा हुन्छ भनेर उहाँले भन्नुभएको रहेछ’ राईले भने, ‘अहिले एकोहोरो कुरा गरेर मलाई नराम्रो गराइएको छ ।’ आफू यस अगाडि डान्सिङ स्टारमा जाँदा भने जीतुले आपत्ति नजनाएको राईले बताए ।

‘यस अगाडि अर्काे कार्यक्रममा जाँदा उहाँलाई पहिले आपत्ति भएन । अहिले किन भयो यो मैले बुझ्न सकिनँ,’ राईले थपे, ‘फरक कार्यक्रम र आफ्नो होस्टिङ स्केल पनि बढ्ने देखेर कार्यक्रममा भाग लिएको हुँ ।’  ‘बाहिरको कार्यक्रमबाट अफर आएको भए म १० चोटी सोच्थेँ । मैले जीतुलाई धोका दिएको पनि होइन र दिन्न थिएँ,’ राईले अगाडि भने, ‘मैले दुबै कार्यक्रम गर्छु । राम्रो कार्यक्रम बन्द नगरौं भनेर निकै अनुरोध गरेको थिएँ । उहाँले दुईटा कार्यक्रममा एउटा कलाकार हुँदै हुन्न भन्नुभयो ।’ अर्काे कलाकार लिएर कार्यक्रम गर्नसमेत आफूले अनुरोध गरेको तर जीतु दाइले नमानेको राईको भनाई छ ।

राई ‘मुन्द्रेको कमेडी क्लब’मा पहिलो भाग देखि नै जोडिएका कलाकार हुन् । उनी कार्यक्रममा ‘फुलन्देकी आमा’ को गेटअपमा थिए । शो मा अध्यक्षको भूमिकामा अभिनेत्री करिश्मा मानन्धर रहेकी थिइन् भने राजाराम पौडेल, राजेन्द्र नेपाली, लगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप