सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेका शीर्ष नेताले गरे महाधिवेशनस्थलको अवलोकन

बिहीबार, २५ कात्तिक २०७८, १५ : २५
बिहीबार, २५ कात्तिक २०७८

नेकपा एमालेका शीर्ष नेताहरुले महाधिवेशनस्थलको अवलोकन भ्रमण गरेका छन् । बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् ।

पार्टीका महासचिव ईश्वर पोखरेलसँगै नेताहरु विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका शीर्ष नेताहरु महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुगेका थिए ।

उनीहरुले एमालेको महाधिवेशनस्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका छन् भने महाधिवेशनको बन्दसत्र हुने सौराहामा पनि स्थलगत अवलोकन गरेका छन् ।  चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए । उनले स्थलगत निरीक्षणपछि छलफल गरिने र आवश्यक तयारीका काम अगाडि बढाउने जानकारी दिए ।

समसामयिक विषयमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महासचिव पोखरेलले वर्तमान सरकारले राम्रो काम गर्ने कुनै संकेत नभएको टिप्पणी गरे । सरकारबाट कुनै अपेक्षा नभएकाले पनि राम्रो काम नहुँदा अचम्म नलागेको उनको भनाइ छ ।

महासचिव पोखरेलले भने, ‘यो सरकार जुन धरातलमा बनेको छ, यसले कुनै काम गर्ला भन्ने आशै थिएन छैन, त्यसैले राम्रो काम नगर्दा पनि अचम्म लाग्दैन, हामी महाधिवेशनको लागि चुनिएको स्थल अवलोकन र तयारीका लागि आएका हौँ ।’

महासचिव पोखरेलले पार्टीभित्र १० बुँदे सहमति आधारभूत रुपमा कार्यान्वयन भइसकेको र केही ठाउँमा विवाद भए स्थानीयस्तरबाटै टुंगो लगाउने बताए । उनले पार्टीको महाधिवेशनको तयारीका कामहरु धमाधम अघि बढेको पनि जानकारी दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप