मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दशगजाबाट ‘चुनाव विरोधी’ राजपामाथि फोरमको हमला

आइतबार, ११ असार २०७४, ०८ : ४३
आइतबार, ११ असार २०७४

कृष्णनगर (कपिलवस्तु)—कपिलवस्तु जिल्लास्थित नेपाल—भारत सीमा नाकासँग जोडिएको नगरपालिका हो, कृष्णनगर । यहाँको तापक्रम यतिबेला दिँउसो ३८ देखि ४० डिग्री सम्म पुग्छ भने साँझ २९ देखि ३० डिग्रीसम्म ।


मौसमी गर्मी एकातिर छ भने अर्कोतिर यसैगरी चुनावी गर्मी पनि बेस्सरी बढेको छ । असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि मौन अवधी शुरु हुनुभन्दा अघिसम्म चुनावी प्रचारप्रसारले तीब्रता पाएको छ ।


उम्मेदवारहरुले माइकिङ् गर्दै, पोष्टर, पम्प्लेट, सभा, जुलुस जस्ता परम्परागत संचार प्रक्रियाबाट जनताको घरदैलोमा पुग्दै आफूतिर भोट आर्कषित गरिरहेका छन् ।  स्थानीय तहको निर्वाचनमा कृष्णनगबाट गतिलो नतिजा हात पार्ने लक्ष्यका साथ मधेसी जनअधिकार फोरम, माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् ।


दशगजादेखि छिमेकी नगरपालिका शिवराजसम्म कृष्णनगर नगरपालिकाका टोल, बस्ती सबैतिर चुनावी सामग्रीले रंगिएको छ । विभिन्न राजनीतिक दलहरु भोट बटुल्न तछाँड मछाँड गरिरहेका बेला आन्दोलन गरेर चुनाव बिथोल्ने बताँउदै आएको एउटा मधेसकेन्द्रीत दल राष्ट्रिय जनता पार्टीको अनुहार भने कतै देखिँदैन । बरु चुनाव आएको जनताहरु उल्लास ब्यक्त गरिरहेका भेटिन्छन् ।


राजपामाथि उपेन्द्रको पार्टीको चुनावी हमला
शनिवार साँझ संघीय समाजवादी फोरमका यूवा नेता तथा सांसद अभिशेक प्रताप साह नेपाल भारत सिमाछेउ रहेको आफ्नो घरमा कार्यकताहरु जम्मा पारेर चुनाव सफल बनाँउनुका साथै निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन घरदैलो गर्न निर्देशन दिइरहेका थिए ।


उनले २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन ऐतिहासिक भएको बताँउदै राजपाका नेताहरुको चर्को आलोचना गरेका छन् । राजपाका नेताहरुलाई गंभिर आरोप लगाँउदै उनीहरुले मधेस र मधेसी जनताको पक्षमा अहिलेसम्म एउटा सिन्को समेत नभाँचेको उनले बताए ।


निर्वाचनको मौन अवधी शूरु हुनुभन्दा एक दिन पहिले आफ्नो निवासमा कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले जसरी पनि चुनाव सफल पार्न भनिरहेका थिए । २० बर्षदेखि स्थानीय तहमा भ्रष्टाचारले संस्थागत रुप धारण गरेको बताँउदै उनले ठूला ठूला गफ गरेर मात्र केही नहुने भन्दै राजपाका नेताहरुले गंभिर भूल गरेको बताए ।
कृष्णनगर नगरपालिकामा उनका काका अभय प्रताप साह चुनावी मैदानमा छन् ।


राजपाले राजनीतिक दुकान खोल्यो

राष्ट्रिय जनता पार्टीमा अधिकांस नेता चुनाव हारेकाहरु रहेको भन्दै साहले एकजना पनि साँसद बन्न सक्ने हैसियतको नभएकोले चुनावदेखि डराएर भागेको उनको भनाई थियो । उनले राजपाका नेताहरुले गफ गरेर राजनीतिक दुकान चलाउन खोजेको बताउदै गफ गरेर जनता भड्काएर देश अगाडि बढ्न नसक्ने तर्क गरे ।


मेयरमा जितेपछिको तलव मठमन्दिरलाई


यसअघि कृष्णनगर नगरपालिकामा पाँच बर्ष गाविस अध्यक्षको जिम्मेवारी सम्हालेका अभय प्रताप शाहले अहिले नगरप्रमुखमा उम्मेदवारी दिएका हुन् । संघीय समाजवादीको पकट क्षेत्रको रुपमा रहेको कृष्णनगर नगरपालिकामा विजय हासिल गरेमा हरेक महिनाको तलब मस्जिद र मन्दिरका लागि खर्च गर्ने उम्मेदवार साहले घोषणा गरेका छन् । जनताका आवश्यकता अनुसार काम गर्न सक्ने भएकोले आफूले चुनाव जित्ने उनको विश्वास छ । विकासमुलक र सेवामुलक काम गर्नका लागि अभय प्रताप साहलाई चुनावी मैदानमा खडा गरेको अभिषेक प्रताप शाहले बताए ।


चुनावप्रति जनताको ठूलो उत्साह रहेको बताँउदै उनले चुनाव जितेमा कृष्णनगरलाई नेपालको नमुना क्षेत्र बनाउने बताए । अभिशेक प्रताप शाह पूर्व गाविस अध्यक्ष रहेको, एलएलबी गरेको र उपेन्द्र यादवसँगै मधेस आन्दोलनमा सहभागी भएकोले जनताले विश्वास गर्ने उनले बताए ।


राजपासँग कुनै सम्बन्ध छैन
संघीय समाजवादी फोरम नेपालका यूवा नेता तथा सांसद साहले राजपाका नेताहरुसँग कुनै सम्बन्ध नरहेको बताए । उनले भने– राजपाका नेताहरुले हामीलाई नै निकालेको भनेर हल्ला गर्नुभयो तर के उहाँहरुले निकालेर उपेन्द्र यादव निकालिने हो ? सिंगो मधेस उपेन्द्रको पक्षमा छ ।


उपेन्द्र यादव फादर अफ मधेस
राजपाका नेताहरुले उपेन्द्र यादव र संघीय समाजवादी फोरम नेपाललाई जति नै गाली गरेपनि मधेस आन्दोलनको सुत्रधार उपेन्द्र यादव रहेको बताए । उनले मधेस आन्दोलन सफल भएपछि चोक चोकमा उपेन्द्र यादवको सालिक बनाँउने दिन आँउने पनि बताए । उपेन्द्र यादव बृद्ध भएपछि उनलाई फादर घोषणा गरेर मधेसको आर्थिक, भौतिक विकासमा लाग्ने बताए । उनले भने–‘राजपाले उपेन्द्र यादवलाई आन्दोलनबाट हटाएको रे ? त्यत्रो हिम्मत ? उपेन्द्रको बुद्धी छ, संगठन छ, बिचार छ, उनीहरु(राजपाका नेताहरु) को के छ ?’


पहाडका शिक्षक तराईमा, तराईका पहाडमा
आफ्नो पार्टीले चुनाव जितेमा मधेसका शिक्षक पहाडमा पठाउने र पहाडका शिक्षकलाई तराई ल्याउने नीति बनाउने शाहले बताए । उनले भने–यसो ग¥यो भने शिक्षकले राजनीति गरेर बिद्यार्थीको पढाई बिगार्न पाँउदैन् । जनतालाई स्तरीय शिक्षा दिने, शिक्षकलाई मर्यादित बनाएपछि नेताले मर्यादित हुन सिक्छ ।’
यसो नगरेससम्म समाज अगाडि बढ्न नसक्ने उनको तर्क छ ।


जनताले सर्बसुलभ सेवा पाउनुप¥यो, बाटोघाटो बन्नुप¥यो, स्तरीय शिक्षा पाउनुप¥यो भन्ने जस्ता अपेक्षा राखेको मेयरका उम्मेदवार अभय प्रताप शाहले बताए ।
सांसद अभिशेषक शाहले २० वर्षपछि आएको स्थानीय तहको निर्वाचनलाई सवैले उपयोग गरी आफ्ना जनप्रतिनिधी चुन्न उनले आग्रह गरे । उनले भने–‘यसका लागि अहिलेको मुख्य आवश्यकता भनेको चुनाव हो, यसलाई कसैले रोकेर रोक्न सक्दैन । काठमाडौंसँग हाम्रो छुट्टै माग छ, त्यसलाई उठाएर स्थानीय तहको निर्वाचनलाई अवरोध गर्नुहुँदैन् ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप