आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश मात्र होइन कारबाही गरे सबै न्यायाधीशलाई गर्नुपर्छ : रायमाझी

अब ओली नै सर्वसम्मत अध्यक्ष
शनिबार, २७ कात्तिक २०७८, १५ : ३५
शनिबार, २७ कात्तिक २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘उहाँमाथि महाभियोग लगाउनेतिर हामीले सोचिरहेका छैनौँ । यो पाँच दलीय गठबन्धन, सरकारका समर्थक, आफूलाई न्यायमूर्तिहरू ठान्नेहरू र वकिलहरूले ल्याएको विषय हो ।’

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उनले प्रधानन्यायाधीश जबराको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने पनि जिकिर गरे । उनले थपे–‘न्यायपालिकामाथि पनि अहिले जे–जे भइरहेको छ, चाहे त्यो परमादेशको सन्दर्भमा होस्, अध्यादेशको सन्दर्भमा होस, प्रधानन्यायाधीशलगायतका न्यायाधीशहरूको सहकार्य गरेर कतिपय निर्णय गरिएको छ, जसमा वकिलहरूको पनि सहमति छ । बार एशोसिएसशनका पदाधिकारीहरूको पनि सहमति छ, उनीहरूको सहमतिमा काम गरिएको छ । बदमासी, गलत निर्णयहरू गरिएको थियो । अनि प्रधानन्यायाधीशलाई मात्रै दोष थुपार्ने कोसिस भइरहेको छ । यो विचित्र र विडम्बना हो । निर्णय सबै न्यायमूर्तिहरूले गरेका हुन् । सबैले राजीनामा दिनुपर्‍यो, सबैले कारबाही भोग्नुपर्‍यो ।’ उनले न्यायपालिकालाई गिजोल्नेतर्फ सरकार र सत्तापक्षीय गठबन्धन अग्रसर रहेको पनि गम्भीर आरोप लगाए । 

त्यस्तै, रायमाझीले एमसीसीमा भएका गलत प्रावधान हटाएरमात्रै संसद्बाट पारित गरिनुपर्ने अडान सुनाए । उनले भने,‘मैले त पहिले पनि भनेको छु, एमसीसीमा भएका राष्ट्रका अहितका प्रावधान हटाएर पास गर्नुपर्छ । होइन भने खारेज गर्नुपर्छ । मैले हुबहु पास गर्ने भनेकै छैन । यो मेरो व्यक्तिगत कुरा हो । तर, एमसीसीलाई लिएर सरकार यसमा अलमलिएर बसिरहेको छ। झुण्डिएर बसिरहेको  छ। हामीले त आफ्नो धारणा राखेका छौँ । सरकारले कसरी विषयवस्तु ल्याउँछ ? आफ्नो धारणा ल्याओस् ।’

नेता रायमाझीले १० औँ महाधिवेशनमार्फत सर्वसम्मत रूपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने विश्वास दिलाए । उनले भन,‘हामीले विधान महाधिवेशन ललितपुरको गोदावरीमा भव्य रूपमा सम्पन्न गर्‍यौँ, विधान पनि सर्वसम्मतिले पारित गर्‍यौँ  । अब नेतृत्व चयन गरिने हो । मङ्सिर १० गते उद्घाटन हुन्छ । अब पार्टीमा नयाँ नेतृत्वको निर्माण गर्छौँ । सायद, केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको सङ्केत गरिसकेको छ । त्यो महाधिवेशनमा आउने प्रतिनिधिहरूको निर्वाचन मूलतः आज सम्पन्न हुन्छ । एकाध, जिल्ला बाँकी रह्यो भने भिन्न कुरा हो । तर, एकै दिन २ हजार प्रतिनिधि आज निर्वाचित हुँदै छन् । ७७ वटै जिल्लामा प्रतिनिधिहरू छान्न सक्ने हैसियत राख्ने पार्टी एमाले मात्रै हो । यो पार्टी एकताकै निरन्तरतामा छ । हामीले वडाको अधिवेशन एकै दिनमा गर्‍यौँ । एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरेको छ। अब संगठन विस्तारमा अघि बढ्छौँ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रित भएर अघि बढ्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप