सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ इतिहासमा कखरा सिकाएको ‘नेपाल बैंक’ ८५ औं वर्षमा

वित्तीय विकासमा थप योगदान पुर्‍याउने प्रतिवद्धता
आइतबार, २८ कात्तिक २०७८, २२ : १८
आइतबार, २८ कात्तिक २०७८

मुलुककै जेठो बैंक नेपाल बैंक आफ्नो स्थापनाकालको ८५ औं वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक कानुन १९३७ अनुसार वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकले नेपाली वित्तीय क्षेत्रमा अनवरत रुपमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । 

नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारी साझेदारीको अवधारणामा स्थापना भएको यस बैंकको सुरुवाती पुँजी सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेको थियो । तर पनि बैंकको पुँजी संरचनामा परिवर्तन गर्दै नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहने गरी पुनसंरचना गरिएको छ भने २०७८ असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी १२ अर्ब ६४ करोड पुगेको छ । 

पछिल्लो समय बढ्दो बैंकिङ प्रतिस्पर्धाका बीच पनि मुलुककै पुरानो बैंकले यत्तिको सफलता हासिल गर्नुमा आम सेवाग्राही नेपालीहरुको माया र सद्भाव नै रहेको बैंकले बताएको छ । बैंकको वित्तीय अवस्था तथा गतिबाट सेयरधनी, व्यवस्थापन एवम् सम्पूर्ण सरोकारवाला समक्ष सकारात्मक उर्जा प्राप्त भएको बैंकले बताएको छ ।

यसैको उपलब्धी दुई दशकभन्दा बढी समयसम्म लाभांश वितरण नगरेको बैंकले आर्थिक वर्ष २०७६/७७ देखि सेयरधनीमा लाभांश वितरण समेत गर्न थालिसकेको बैंकले जनाएको छ । बैंकको उत्साहजनक वित्तीय परिसूचकहरुले गर्दा नै बैँकप्रति पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्दो रहेको बैंकले जनाएको छ ।

नेपाल र नेपालीसँगको बैंकिङ सम्बन्ध

नेपालमा बैंकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका अन्य बैंकसँग तुलना हुनै नसक्ने बैंकको दाबी छ ।  ऐतिहासिक पृष्ठभूमिको जगमा उभिएर हालसम्म पनि अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैंकले नेपाली माटो र हरेक नेपाली जनसँग प्रगाढ सम्बन्ध गाँस्ने काम गरेको बैंकको भनाई छ ।

त्यसो त नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुवात मात्रै नभई नेपालमा स्वदेशी मुद्रा प्रचलनमा ल्याउने श्रेय नेपाल बैंकलाई नै जान्छ । भारु (भारतीय रुपैयाँ) को दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले ठूलो भूमिका खेलेको छ । १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको बैंकले पछि राष्ट्र बैंकको स्थापनापछि मात्र विशुद्ध बैंकिङ सेवा शुरु गरेको हो । 

मुलुकको उद्योग, कृषि, पर्यटन तथा व्यापार व्यवसाय र आय आर्जनका क्षेत्रको विकास एवम् प्रबर्द्धनमा अग्रणी भूमिका खेलेको नेपालको पहिलो बैंक नेपाल बैंकले बैंकिङ इतिहासमा बैंक र सेवाग्राही (नेपाली) बीच सम्बन्ध जोड्ने मामलामा अग्रणी भूमिका निर्वाह गरेको छ ।

हाल बैंकको उत्तर हिमालीदेखि मध्ये पहाडी र दक्षिण तराई र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बैंकिङ सञ्जाल विस्तार भएको छ ।  हाल बैंकले २० लाखभन्दा बढी ग्राहकलाई बैंकसँग जोडेको छ भने हाल बैंकले स्थायी, करार सेवा र ज्यालादारी गरी करिब २ हजार ४०० जना कर्मचारीहरुलाई रोजगारी दिएको छ ।

धातुको टोकनदेखि अत्याधुनिक डिजिटल बैंकिङसम्मको यात्रा :

सुरुवाती दिनमा लेजर बुक, धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने, कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने, रुपैया, पैसा घडामा हैन बैंकमा राख्नुपर्छ, ऋण साहुसँग नभई बैंकबाट लिनुपर्छ भनि ग्राहकहरुलाई बैंकिङ्गको कखरा सिकाएको नेपाल बैंकले हाल डिजिटल बैंकिङमा रुपान्तरण भएको छ ।

बजारमा उपलब्ध अत्याधुनिक प्रविधि तथा उपकरणहरूद्वारा सञ्चालित सेवाहरु जसमा भिषासहित एटिएम, डेबिड कार्ड, क्रेडिट कार्ड एनिब्रान्च बैंकिङ्ग, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, विल भुक्तानी सेवा, सार्वजनिक सवारीमा ई-टिकेटिङ सेवा लगायतका स्मार्ट बैकिङ्ग सेवाहरु समेत उपलब्ध गराइरहेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भूगोलपार्क हरियाली, रक्तदान कार्यक्रम, महिला सशक्तीकरण सम्वन्धि कार्यक्रम, विपन्न वर्ग लक्षित स्वास्थ्य सुधार कार्यक्रम, बाढी पीडित राहत कार्यक्रम लगायत ज्येष्ठ नागरिक सम्मान, असहाय बालबालिकाहरूलाई सहयोग तथा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा सहयोग, कोभिड–१९ को विनाशकारी प्रकोपबाट  सर्वसाधारणलाई जोगाउन सरकार र विभिन्न संघ–संस्थाहरुलाई गरेको आर्थिक सहयोगका लगायतका सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

अर्थतन्त्र विकासका लागि बैंकको प्रतिबद्धता

बैंकले हालसम्म आइपुग्दा नेपाली अर्थतन्त्रको विकासमा अतुलनीय योगदान गरेको छ । यति मात्रै होइन ८५ औँ वार्षिकोत्सवको अवसरमा बैंकले थप प्रतिवद्धताहरु समेत जाहेर गरेको छ । देशका सबै बर्ग र क्षेत्रमा वित्तीय सेवाको विस्तार गरि वित्तीय सेवाको पहुँच अभिबृद्धि गर्नुका साथै नेपालको आर्थिक विकासको सहयात्री भइरहने प्रतिबद्धता बैंकले गरेको छ ।

यसले हरेक स्थानीय तहका हरेक व्यक्ति वित्तीय रुपमा साक्षर बन्ने, लगानीका अवसरहरू सिर्जना हुने र ग्रामीण अर्थतन्त्रको विकासमा उदाहरणीय योगदान गर्ने बैंकको लक्ष्य छ ।

बैंकको आर्थिक परिसूचकहरू


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप