आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेकपा मालेको महासचिवमा फेरि मैनाली

सोमबार, २९ कात्तिक २०७८, २१ : १५
सोमबार, २९ कात्तिक २०७८

नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा पुनः सीपी मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आज बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो ।  कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी हाल रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१ पुर्याएको छ ।

पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको मालेका केन्द्रीय सदस्य दीनानाथ घिमिरेले जानकारी दिए । महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद र राजनैतिक प्रतिवेदन महासचिव मैनालीले प्रस्तुत गरेका थिए ।

 स्थायी कमिटी सदस्य एनपी आचार्यद्वारा सङ्गठनका सिद्धान्त, डम्बर श्रेष्ठद्वारा पार्टी विधान संशोधन, पार्टी प्रवक्ता कुमार बेलबासेद्वारा पार्टीको तात्कालीन कार्यनीति र दिनानाथ घिमिरेद्वारा सङ्गठनात्मक प्रतिवेदन पेश गरेका थिए । पेश गरिएका प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए।

महाधिवेशनले अहिलेको बेलायती शैलीको संसदीय प्रणाली नेपालमा असफल भई सकेकाले यसको खारेज गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रप्रमुख बनाउनुपर्ने निर्णय गरेको छ । विधान संशोधन गरी सानो आकारको मन्त्री परिषद्को व्यवस्था हुनुपर्ने भनेको छ ।

मालेले विधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञमन्त्री परिषद् १५ सदस्यीय हुनुपर्ने माग गरेको घिमिरेले जानकारी दिए । उनले भने, “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अन्य विज्ञ सदस्य रहने विधानमा उल्लेख गरेका छौँ । सांसद् मन्त्री बन्न नहुने विधानमा उल्लेख गरिएको छ ।” 

संसदीय निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने मालेले विधानमा उल्लेख गरेको छ । विधिको आधारमा दल चल्नुपर्ने, नेपाली मोडलको सङ्घीयता कायम गरी प्रदेश खारेज गर्नुपर्ने मालेको मुख्य माग रहने गरी महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले सात सदस्यीय वरिष्ठ कम्युनिष्ट सदस्य कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ । 

महाधिवेशनपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महासचिव मैनालीले मालेलाई जनताको पार्टी बनाउने बताए । अहिलेको बाटो सबै कम्युनिष्टको माक्सवादी बाटो रहेको भन्दै उनले गलत सोच लिएर हिँड्नेले देशका लागि काम नसक्ने बताए । नयाँ शक्तिलाई लिएर देश, जनताको आवश्यकताअनुसार देश र जनताले मागेअनुसार परिवर्तन दिने पार्टीको रुपमा मालेलाई अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

अहिलेको संसदीय व्यवस्था खारेज गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउन मालेको योजना रहेको उनको भनाइ थियो । उनले भने, “राजनीतिलाई देशमुखी, भ्रष्टाचार मुक्त, देशका समस्या समाधान गर्नुपर्ने मालेको मुद्दा रहनेछ ।” यस्ता कामले र मुद्दाले पार्टीलाई बलियो बनाउने उनले विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप