आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : ५ लाखमध्ये आधा मानिस बागमतीले जुटाउने

बुधबार, ०१ मङ्सिर २०७८, १० : ३४
बुधबार, ०१ मङ्सिर २०७८

मंसिर १० गते चितवनमा उद्घाटन हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा ५ लाख कार्यकर्ता उतार्ने घोषणा गरेको छ । त्यसका लागि सातवटै प्रदेश कमिटीलाई तोकिएको संख्यामा कार्यकर्ता चितवन लैजान केन्द्रले निर्देशन दिएको छ । वागमती प्रदेशमा पर्ने चितवनमा हुने महाधिवेशनमा सवैभन्दा बढी कार्यकर्ता उतार्ने जिम्मा पार्टीको वागमती प्रदेश कमिटीले पाएको छ ।

एमाले वागमती प्रदेश कमिटीले मात्रै ५ लाखमध्ये अढाइ लाख कार्यकर्ता चितवन लैजाने जिम्मा पाएको छ । एमाले दशौं महाधिवेशन जनपरिचालन कमिटी वागमतीका अध्यक्ष आनन्द पोखरेलले वागमती प्रदेशबाट कसरी जनपरिचालन गर्ने भनेर छलफल गर्न बुधबार बैठक बोलाएको बताए ।

‘बागमतीले मात्रै अढाइ लाख मानिस चितवन लैजाँदैछ । त्यसका लागि जिल्ला, सम्पर्क कमिटी र जनसंगठनहरुलाई परिचालन गरिन्छ, त्यसको आन्तरिक परिपत्र भैसकेको छ’, पोखरेलले रातोपाटीसँग भने, ‘आज त्यसबारेमा बृहत छलफल हुँदैछ । बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेलले विशेष निर्देशन दिँदै हुनुहुन्छ ।’

नेता पोखरेलले गएको नवौं महाधिवेशनको तुलनामा वागमतीमा १५० प्रतिशत एमालेका संगठित सदस्य बृद्धि भएको बताए । उनले भने, ‘वागमतीमा मात्रै १ लाख ७४ हजारले सदस्यता नवीकरण गरेका छन् । यो संख्या हेर्दा गएको महाधिवेशनको तुलनामा १५० प्रतिशत हो ।’ प्रत्येक एक पार्टी सदस्य बराबर एक जना मानिस चितवन लैजाने योजना भएकाले २ लाख ५० हजार मानिस जुटाउन वागमती प्रदेशलाई कुनै समस्या नभएको नेता पोखरेलले बताए ।

उनका अनुसार काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरबाट ५० हजार, चितवनबाट ७५ हजार, मकवानपुरबाट ३० हजार, वागमती सम्पर्क कमिटीबाट २५ हजार, धादिङबाट १५ हजार, काभ्रेबाट १५ हजार, सिन्धुपाल्चोकबाट १५ हजार, सिन्धुलीबाट ५ हजार, दोलखा र रामेछापबाट २ हजार, नुवाकोटबाट ५ हजार, जनवर्गीय संगठनबाट २५ हजार र सुवाबाट ५ सयका दरले कार्यकर्ता चितवन पुग्दैछन् । त्यस्तै यो प्रदेशका पहाडी र हिमाली जिल्लाबाट प्रत्येक वडाबाट एक बसका दरले कार्यकर्ता चितवन लैजाने गरी कार्ययोजना बनाएको एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप