सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि : उपभोक्तामाथि करको कोर्रा !

लकडाउनयता २१ पटक बढ्यो, ४० रुपैयाँ महँगियो
बिहीबार, ०२ मङ्सिर २०७८, १२ : २५
बिहीबार, ०२ मङ्सिर २०७८

लकडाउन हुनुअघि २०७६ साल चैत ३ गते पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ थियो । यस्तै, उक्त मितिमा डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ थियो । त्यसपछि, कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न २०७६ साल चैत ११ गते लकडाउन घोषणा भयो । लकडाउन घोषणासँगै सार्वजनिक र निजी सवारीसाधन चल्न बन्द भयो । विश्व बजारमै पेट्रोलियम पदार्थको माग ह्वात्तै घटेपछि आयल निगमले चैत १९ गते मूल्य समायोजन गर्दै पेट्रोलको प्रतिलिटर ९६ र डिजेल/मट्टितेलको ८५ रुपैयाँ तोक्यो ।

लकडाउन अघिको मूल्यबाट एकपटक घटेपछि भने पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको–बढ्यै छ । चैत १९ गते यता अहिलेसम्म निगमले २१ पटक मूल्य बढाइसकेको छ । यस्तै, यो अवधिमा २४ पटक मूल्य समायोजन भइसकेको निगमले जनाएको छ । खासगरी, अन्तरराष्ट्रिय बजारमै मूल्य बढेको र विनिमयदर उकालो लागेसँगै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको निगमले जानकारी दिएको छ । कोभिड–१९ महामारी शुरू हुँदै गर्दा अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ५५ अमेरिकी डलर थियो । जुन, अहिले बढेर ८३ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य बढ्नु नै नेपालमा पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्नुको मूख्य कारण भएको निगमको तर्क छ ।

उच्च करको मारमा उपभोक्ता
२०७६ सालको चैत १९ गते यतामात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि २१ पटक भएको छ । यही वर्षको कात्तिकको २४ गते मूल्य बढेसँगै अहिले पेट्रोलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

२०७६ साल चैतदेखि २०७८ साल मंसिरसम्म आइपुग्दा पेट्रोलको मूल्य प्रतिलिटर ४० रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ३४ रुपैयाँ बढेको छ । यसरी, साढे दुई वर्षको अवधिमा पेट्रोलियम पदार्थ अचाक्ली महँगिनुमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्नुमात्रै जिम्मेवार छैन ।

​नेपाल सरकारले पेट्रोलियम पदार्थ आयातमा लिँदै आएको उच्च भन्सारदर समेत हो । हाल प्रतिलिटर १३६ रुपैयाँ मूल्य तोकिएको पेट्रोल आयातमा भन्सार मात्रै ५७ रुपैयाँ लाग्छ । यस्तै, ११९ रुपैयाँ मूल्य रहेको डिजेलमा प्रतिलिटर भन्सार ४० रुपैयाँ लाग्छ । सरकारले उच्च कर लगाएसँगै नेपाली उपभोक्ताले पेट्रोल र डिजेल महँगो मूल्यमा किन्नुपरेको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग प्रतिलिटर पेट्रोल ८३.४९ रुपैयाँमा किन्छ । यस्तै, प्रतिलिटर डिजेल ८२.२१ पैसामा किनिरहेको छ । यसका साथै, आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर १६.१० रुपैयाँ र अन्तरराष्ट्रियतर्फ ७.८ रुपैयाँ कर लाग्छ । सरकारले खाना पकाउने एलपीजी ग्यासबाट पनि प्रतिसिलिन्डर २७८.८६ रुपैयाँ कर असुल्दै आएको छ । 

सरकारले विभिन्न शीर्षकमा पेट्रोलियम पदार्थमा उच्च भन्सारदर तोक्दा यसको प्रत्यक्ष मार उपभोक्ताले खेप्दै आएका छन् । सरकारले पेट्रोलियम पदार्थबाट भन्सार, सडक मर्मत, वातावरण खर्च, मूल्य अभिवृद्धि, पूर्वाधार विकास र आयकर नामक ६ वटा शीर्षकमा कर असुल्छ । प्रतिलिटर १३६ रुपैयाँ पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च भने होइन । २०७० सालको माघ ३० गते पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप