सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सर्वोच्चमा एसएलआर बोकेका प्रहरी, फुलकोर्टपछि पनि तनावमै चोलेन्द्र

बिहीबार, ०२ मङ्सिर २०७८, २० : ५६
बिहीबार, ०२ मङ्सिर २०७८

आज मिति २०७८ साल मंसिर महिनाको २ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई हामीले रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–

 १. फुलकोर्टपछि पनि तनाव कायमै

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ।  बिहीबार बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो । तर न्यायाधीशहरूले इजलास फर्किने बताएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग इजलास भने सेयर नगर्ने बताएका छन् । उनीहरुले जबराको राजीनामा मागको विषयलाई यथावत राखेका छन् ।

२. बारको आन्दोलन जारी, अदालतमा एसएलआर बोकेका प्रहरी

आजै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन शुक्रबारसम्मको ‘अल्टिमेटम’ पनि दिएको छ । एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार अयोजित पत्रकार सम्मेलनमा शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त कार्यक्रम ल्याउने चेतावनी समेत दिए ।

आजै बारले अदालतमा भर्ना दिने क्रममा प्रहरी र वकिलहरूबीच झडप भएको छ । प्रहरी एसएलआर हतियारसहित अदालतमा आएको भन्दै वकिलहरूले कडा विरोध पनि गरेका छन् ।

३. कर्णालीमा माओवादी केन्द्रले माग्यो चार मन्त्रालय

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय मागेको छ । बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले चार मन्त्रालय अनिवार्य पाउनुपर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए ।

४. रोल्पामा बस दुर्घटना

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस आज साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

​५. राप्रपाको महाधिवेशन सर्यो

राप्रपाको महाधिवेशनको फेरि सरेको छ । महाधिवेशन आउन नौ दिन बाँकी रहँदा राप्रपाले महाधिवेशनको मिति फेरि संशोधन गरेको हो ।

पार्टी नेता भुवन पाठकले ११ देखि १३ मंसिरमा गर्ने तय भएको केन्द्रीय महाधिवेशन अब १५, १६ र १७ मंसिरमा काठमाडौं हुने मिति तय भएको जानकारी दिए ।

​६. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार १ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ६ संक्रमितको मृत्यु भएको छ भने २६० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

​७. क्रिकेटमा नेपाली चेलीको सफलता

कतारविरुद्धको टी २० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले ३–० ले क्लिन स्विप गरेको छ । बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो ।

​८. यो पनि..

सरकारले विद्युत मर्मत र प्रसारण क्षमताको विस्तारका लागि भन्दै विश्व बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै मठमन्दिरमा हुने पशु वधलाई न्युनिकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।

सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन बिथोलिएको छ । बिहीबार बिहान जिल्ला निर्वाचन अधिकृतमाथि कुटपिट भएपछि  जिल्लाभर वडा अधिवेशन प्रभावित भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप