सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चितवन काँग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु

शुक्रबार, ०३ मङ्सिर २०७८, १२ : १०
शुक्रबार, ०३ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ । प्रदेशको ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार निर्वाचन क्षेत्र नं १ (क) का लागि खैरहनी नगरपालिका– ९ मा रहेको पुन समाजको भवनमा मतदान प्रक्रिया सुरु भएको छ ।

सो निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको उनले जानकारी दिए । कृष्णबहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरीको उम्मेदवारी रहेको छ । यस क्षेत्रमा ३४५ मतदाता छन् । यस्तै १ (ख) को टाँडीमा रहेको होटेल स्टर बैंक्वेटमा निर्वाचन प्रक्रिया सुरु भएको छ । यस क्षेत्रमा तीनजना सभापति पदका दाबेदार रहेका छन् । उम्मेदवारहरूमा गोविन्द गौतम, रामहरि न्यौपाने र सुजन थापा रहेका छन् । यहाँ ५६५ जना मतदाता रहेको उनले जानकारी दिए ।

यस्तै निर्वाचन क्षेत्र २ (क) मा ४७७ मतदाता रहेका छन् । जहाँ सभापति पदका लागि तीनजनाको उम्मेदवारी मनोनयन भएको छ । सभापतिका लागि जनार्दन दाहाल, राजकुमार गुरुङ र हरिप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनमा मतदान प्रक्रिया सुरु भएको छ ।

यस्तै २ (ख) को निर्वाचन अहिले सगोल पार्टी प्यालेस यज्ञपुरीमा सुरु भएको छ । सो क्षेत्रका लागि करुणाकान्त पोख्रेल, चरन कार्की र रोशन शाही ठकुरीले उम्मेदवारी दर्ता गराएका छन् । यस निर्वाचन क्षेत्रमा ४९२ जना मतदाता रहेको पोखरेलले जानकारी दिए । निर्वाचन क्षेत्र नं ३ (क) को निर्वाचन शहीद स्मारक कलेज शारदा नगरमा सुरु भएको छ । यहाँ ६०५ जना मतदाता रहेका छन् । जहाँ तीनजनाले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि कमलनाथ पौडेल, शालिग्राम पौडल र खेमनारायण सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

यता ३ (ख) को निर्वाचन सत्कार पार्टी प्यालेस पार्वतीपुरमा हुँदैछ । यहाँ ३५५ जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्दैछन् । यस क्षेत्रका लागि चारजनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिमा उम्मेदवार मनोनयन गर्नेमा अशोक लामा, ओमप्रसाद पोख्रेल, राम कुँवर र शोभाकर चापागाईँ रहेका छन् ।

हरेक प्रदेशसभा निर्वाचन क्षेत्रले एक सभापति, दुई उपसभापति, दुई सचिव र दुईजना सहसचिव निर्वाचित गर्नेछ ।  यस्तै १६ देखि १८ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित गर्ने पोखरेलले जानकारी दिनुभयो । प्रदेश अधिवेशन प्रतिनिधिहरू नै सो क्षेत्रको कार्यसमिति सदस्य रहने व्यवस्था रहेको छ ।

प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रको निर्वाचनका लागि बहुमत प्राप्त उम्मेदवार विजयी हुनेछन् । निर्वाचन दिउँसो १ बजे सकिनेछ । अहिलेसम्म निर्वाचन प्रक्रिया शान्तिपूर्ण वातावरणमा भइरहेको उनले बताए । आज साँझसम्म सबै निर्वाचन क्षेत्रको नतिजा आइसक्ने उनले जानकारी दिए । यही मङ्सिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १० गते जिल्ला अधिवेशन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप