सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सर्वोच्चमा तनाव कायमै, एमसीसीको विरोधमा प्रदर्शन

शुक्रबार, ०३ मङ्सिर २०७८, २० : ४५
शुक्रबार, ०३ मङ्सिर २०७८

रातोपाटी डटकमको सन्ध्याकालीन बुलेटिन ‘रातोपाटी ब्रिफिङ’मा सबैलाई स्वागत छ । आज मिति २०७८ साल मंसिर ३ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छ ।

१.सर्वोच्चमा तनाव कायमै 
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच शुक्रबार पनि अदालत परिसरमा तनाव भएको छ । झडपमा कानुन व्यावसायी लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् ।

कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरुबीच  तनाव सृजना भएको हो । एकछिनको घम्साघम्सीपछि वकिलहरू सर्वोच्चभित्र छिरेर धर्नामा बसेका  थिए ।  यसैबीच आन्दोलनरत वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

​२. मन्त्रिपरिषद बैठक निर्णय सार्वजनिक
सरकारले आगामी माग १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

त्यसैगरी नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्ट संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए ।

३. रामदेवको कार्यक्रममा देउवा र प्रचण्ड

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्‍जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा  गरेका छन् ।  काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्‍जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्र्दै पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेकोे बताएका हुन् ।

सोही कार्यक्रममा सत्तारुढ दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति भएको बताए ।  रामदेवले आरोग्यबाट निगरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै  उनले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको विशष भूमिका रहेको पनि उल्लेख गरे ।

४. एमसीसीको विरोधमा प्रदर्शन

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) ले महाराजगन्जस्थित दूतावासमा एमसीसीको विरोधमा प्रदर्शन गरेको थियो । एमसीसी पारितका लागि दवाव दिनकै लागि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश नेपाल आएको भन्दै त्यसको विरोधमा अमेरिकी दूतावास घेराउसहित विरोध प्रदर्शन गरिएको क्रान्तिकारी माओवादीका नेता टेक बहादुर विश्वकर्माले बताए ।  

सो क्रममा प्रहरीले विश्वकर्मासहित क्रान्तिकारी युवा लिगका अध्यक्ष अमिर महर्जन, नेपाल दलित मुक्ति मोर्चाको सचिवालय सदस्य शोभा विश्वकर्मा, नेताहरु खगेन्द्र छन्त्याल, जगदीश महर्जन, राधाकृष्ण थापा, ज्ञान प्रसाद तिवारी, शंकर बोहरा , सुवास आरसीलगायत पक्राउ गरेको हो ।

​५. नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा किनबेच गर्ने व्यवसायी संघ सङ्गठनले कारोबार गरेको तथ्याङ्क सहि राख्नु पर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार काठमाडौंमा आयोजना गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले घरजग्गा कारोबारलाई व्यवस्थित र तथ्याङ्क सर्वेक्षण गर्न सहज हुने भन्दै सहि तथ्याङ्क राख्न व्यवसायीलाई आग्रह गरे ।

​६. आइतबारदेखि मौसममा सुधार आउने

अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । नेपालमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

​७. थप २९६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या भने ३६९ जना रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९७२ जनामा कोरोना परीक्षण गरिएको थियो । हाल देशभर ७ हजार ५३९ जना सक्रिय संक्रमित रहेका छन् ।

​८  भारतको कृषि  कानुन फिर्ता

भारत सरकारले तीन वटा कृषि कानुन फिर्ता लिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै तीन वटै कृषि कानुन फिर्ता लिने घोषणा गर्नुभएको हो । ती कानुन फिर्ता लिन माग गरिरहेका  किसानहरुले विगत एक वर्षदेखि आन्दोलन गर्दै आएका थिए ।

प्रधानमन्त्री  मोदीले ती कानुन फिर्ता लिने  भन्दै सरकारले तीनवटै कृषि कानुनलाई फिर्ता लिने निर्णय गरेको  घोषणा गरेका छन् । यसै महिनाको अन्त्यमा सुरु हुने संसद सत्रमा विवादित कृषि कानुनलाई रद्द गर्ने संवैधानिक प्रक्रियालाई पूरा गर्ने बताइएको छ ।

​९. काँग्रेसको अधिवेशन

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु भएको छ । निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार पर्वत, सोलुखुम्बु र डोल्पामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भइसकेको छ । सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने आज प्रदेश अधिवेशन सुरु हुन सकेको छैन ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सरकारले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारमा सहभागी हुन दुई मन्त्रीको नाम टुंगो लगाएसँगै राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

​दार्चुलाको ब्यास गाउँपालिका–१मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको छ ।

​नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । सहायक विदेशमन्त्री लुले बिहीबार प्रचण्ड निवास खुमलटारमा दाहालसँग शिष्टाचार भेट गरेका हुन् । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए । आजै उनको एमाले अध्यक्ष केपी ओलीसँग पनि भेट भएको छ ।

​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कट्टुमा लुकाएर ल्याएको सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।

​थप समाचार


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप