आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देउवालाई सभापतिमा दोहोरिन कति चुनौती ? कति सहज ?

आइतबार, ०५ मङ्सिर २०७८, १८ : ५९
आइतबार, ०५ मङ्सिर २०७८

नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनबाट नेतृत्व हत्याउन सभापतिका दाबेदारहरू सूक्ष्म हिसाब–किताबमा छन् । वर्तमान सभापति शेरबहादुर देउवा दोहोरिने रणनीति बुन्न व्यस्त छन् । अरू दाबेदारहरू भने पहिलो चरणको चुनावमा दोस्रो हुने र दोस्रो चरणमा प्रथम बन्ने रणनीतिमा लागेका छन् ।

सभापतिका दाबेदारमध्ये वर्तमान उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठ देउवालाई ब्याक गराएर संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्न सकिन्छ कि भन्ने आशमा छन् । तर, सभापति शेरबहादुर देउवा १४ औँ महाधिवेशनमा कुनै हालतमा उनीहरूलाई अगाडि सार्ने पक्षमा देखिएका छैनन् ।

एक वर्षदेखि निधि र श्रेष्ठले अब विश्राम लिन आग्रह नगरेका होइनन् । तर, देउवाले एक पटक सभापतिमा दोहोरिने र १५ औँ महाधिवेशनमा मात्र काँध फेर्न जनाइसकेको अवस्था छ । यसपटक फेरि आफूलाई साथ निधि र श्रेष्ठलाई देउवाको प्रस्ताव छ ।

 

निधि र श्रेष्ठलाई भने अहिलेसम्म देउवाको प्रस्ताव मञ्जुर छैन । युवा पुस्ताको वेग र आफ्नो उमेरले १५ औँ महाधिवेशन सामना गर्न कठिन हुने उनीहरूको बुझाइ छ । आफूलाई समर्थन नगरे आफू पनि साथमा नउभिने भन्दै निधि र श्रेष्ठले विद्रोहको चुनौती दिएका छन् । तर, आफू अनुकूल बनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति  र संस्थापन इतर पक्षमा देखिएको विग्रहले निधि र श्रेष्ठको चुनौतीलाई देउवाले नजरअन्दाज गरेको पाइन्छ । १३ औँ महाधिवेशनमा रामचन्द्र पौडेल नेतृत्वमा खडा भएको समूह यतिबेला चार समूहमा विभक्त छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका लागि हानथाप गरिरहेको परिस्थिति छ । १३ औँ महाधिवेशनका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौला समूह पनि विभाजित मनस्थितिमा छ । उनीसँग रहेका नेताहरु बलियो गुटको खोजीमा छन् । केही नेताहरुले पौडेल समूह त केही नेता देउवा समूहसँग नजिकिएको पाइन्छ । यता देउवा पनि चुनौती रहित अवस्थामा भने छैनन् ।

अब देउवाका​ चुनौतीको चर्चा गरौं :

१४ औँ महाधिवेशनमा छुटेको साथ

 १३ औँ महाधिवेशनमा देउवालाई सभापति बनाउन कसिएका केही नेताहरुले साथ छोडेको अवस्था छ । १३ औँ महाधिवेशनमा देउवा प्यानलका महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसी र पुराना नेता कुलबहादुर गुरुङ देउवाको साथमा छैनन् ।

१३ औँमा देउवालाई साथ दिएका प्रभावशाली मानिने नेता खुमबहादुर खड्काको वर्षअघि निधन भइसकेको छ । खड्का र गुरुङ १३ औँ महाधिवेशनमा सभापति पदका लागि देउवाको प्रस्तावक र समर्थक नै थिए । १४ औँमा आइपुग्दा समर्थन र प्रस्ताव नै देउवाले गुमाएको अवस्था छ ।

अन्तिम समयमा आएर महामन्त्रीको उम्मेदवार भई दरिलो साथ दिएका केसी भने हाल देउवाविरोधी अभियानका संयोजकजस्तै भएका छन् ।

संस्थापन इतरका नेताहरुलाई मिलाएर देउवाविरुद्धको मोर्चाबन्दी कसिलो बनाउन केसीको कसरत जारी छ । यस्तै १३ औँ महाधिवेशनमा देउवालाई साथ दिएका नेताहरु गोविन्दराज जोशी, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, सुनिल भण्डारी, लोकेश ढकालले पनि देउवालाई साथ दिने अवस्था नरहेको स्रोत बताउँछ ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि देउवाको साथ छोडेका छन् । यतिबेला देउवा इतर समूहमा पुगेका भण्डारी अहिले देउवालाई फेरि नेतृत्वमा पुग्नबाट रोक्ने अभियानमा छन् । यता देउवाका बलियो खम्बा मानिने उपसभापति निधि पनि देउवा क्याम्प छोड्ने परिस्थिति बनेको छ । यो गुमेको शक्ति आर्जन गर्न देउवाका लागि चुनौती छ ।

समूहको नेताको स्वार्थ चुनौती

१३ औँ महाधिवेशनताका देउवा समूहमा शेरबहादुर देउवालाई सभापति बनाउने सबैको पहिलो मिसन थियो । तर, यतिबेला त्यो फेरिएको छ । देउवालाई सभापतिमा दोहोर्याउने भन्दा पनि म के हुने, मेरो स्थान कहाँ रहने भन्ने स्वार्थ नेताहरुमा हावी भएको देखिन्छ ।

कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित हुने व्यवस्थामा देउवा समूहका प्रमुख नेताहरुले आफूलाई केन्द्रमा राखेको अवस्था छ ।

देउवालाई जिताउने भन्दा पनि पदाधिकारीको उम्मेदवारी कसरी सुनिश्चित गर्ने र चुनाव जित्ने भन्ने सबैको पहिलो ध्येय छ । यसपटक देउवाले एउटै पद धेरैलाई बाँडेर पदाधिकारीको लोभ देखाएर नेता होल्ड गर्ने सक्ने अवस्था पनि छैन । महाधिवेशनमै पदाधिकारीसहितको सेट तयार पर्नुपर्ने छ । टिम तयार गर्दा सबैको चित्त बुझाउन मुस्किल हुने पक्का छ ।

 

विशेष गरी धेरै आकांक्षी देखिएको महामन्त्री पदमा उम्मेदवार तय गर्दा असन्तुष्टि चुलिने पक्का छ । दुई पदमा आधा दर्जन बढी नेताको दाबी छ । अन्य पदमा पनि अवस्था यस्तै छ । पदाधिकारी चयनमा हुन सक्ने कलह रोक्न नसकेका खण्डमा देउवाको सभापति दोहोरिने योजनामा अवरोध खडा हुन सक्छ ।

निधि–श्रेष्ठको विद्रोह नरोके देउवालाई चुनौती

१४ औँ महाधिवेशनको वर्तमान परिदृश्यमा निःशर्त आफूलाई समर्थन नगर्ने भएर सभापतिमा लड्ने अधिकार रहेको भनि देउवाले निधि र श्रेष्ठलाई रूखो जवाफ दिने गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले निधि र श्रेष्ठसँग पावर सेयरिङ गर्न पनि चाहेका छैनन् । आफूलाई सभापतिमा समर्थन गरेर आगामी निर्वाचनपछि पनि प्रधानमन्त्री बन्न निधि र श्रेष्ठले देउवालाई प्रस्ताव गरेको अवस्था छ  । देउवाले उनीहरुको प्रस्ताव अस्वीकार मात्र गरेका छैनन्, पावर सेयरिङ गर्ने संकेत समेत नदिएको अवस्था छ ।

गृहमन्त्री बालकृष्ण खाणका अनुसार सभापति हुन देउवाले प्रधानमन्त्री पद सुम्पन जरुरी छैन । पार्टीमा सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने खाणको भनाइ छ ।

निधि र श्रेष्ठलाई नजरअन्दाज गरिए मूर्खता हुने देउवा पक्षीय नेता गोविन्द भट्टराईको बुझाइ छ । उनले भने, ‘१३ औँ महाधिवेशनमा पहिलो राउण्डमा जित्न ११ मत पुगेन । १३ औँ महाधिवेशनको टीम मिलाउँदा मात्र पहिलो राउण्डमा जित्न सकिन्छ । संस्थापन पक्ष एक ठाउँमा हुने कुराको मनोवैज्ञानिक लाभ पनि प्राप्त हुन्छ । महाधिवेशनमा कसैले कसलाई नजरान्दाज गर्नुहुँदैन ।’

१३ औँ महाधिवेशनमा सिटौलाको विद्रोहलाई पौडेलले नजरअन्दाज गर्दा पराजित हुनुपरेको काँग्रेसजनको विश्लेषण छ । निधि र श्रेष्ठ सभापतिको उम्मेदवार भएको अवस्थामा उनीहरुले काट्ने मत अधिकांश देउवाकै हुनेछ । दुई दशकको लामो राजनीतिक सहकार्यमा उनीहरु एक अर्काका परिपूरक जस्तै थिए । देउवाले नेतृत्व गरेको कार्यकर्ता पंक्तिसँगै उनीहरुको भावनात्मक सम्बन्ध छ । काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग संघर्ष होस् वा पार्टी विभाजन हुँदा नेतृत्व देउवाको भए पनि कार्यकर्ता खटन–पटनमा निधि र श्रेष्ठ नै अग्रपंक्तिमा थिए ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख रहेका निधि र संगठन विभाग प्रमुख श्रेष्ठको विद्रोह देउवाले रोक्न नसके महाधिवेशनको मैदानमा महंगो पर्न सक्छ ।

दोस्रो राउण्डको जोखिम

संस्थापन र संस्थापन इत्तर पक्षमा विद्रोह भए १४ औँ महाधिवेशनमा सभापति चयनको प्रक्रिया दोस्रो चरणमा प्रवेश गर्ने पक्का जस्तै छ । १३ औँ महाधिवेशनमा तीन जना मात्र उम्मेदवार हुँदा पनि सभापति चयन प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको थियो । यसपटक करिब आधा दर्जन सभापतिको उम्मेदवार हुने परिस्थिति बन्दै गएको देखिन्छ ।

अहिले संस्थापन पक्षबाट तीन र इत्तर पक्षबाट ६ जनाले सभापतिमा दाबी प्रस्तुत गरेका छन् । १३ औँ महाधिवेशनको देउवा टीमबाट देउवा, निधि र श्रेष्ठ सभापतिको दौडमा छन्  भने पौडेल समूहबाट पौडेल, शशांक, शेखर, सुजाता कोइराला, प्रकाशनमान सिंह र कल्याण गुरुङ सभापतिका दाबेदार छन् ।

सिटौलाले पनि आफूलाई सभापतिकै दौडमा उभ्याएको पाइन्छ । संस्थापन पक्षबाट देउवा र निधिको उम्मेदवारी पक्काजस्तै छ । यता पौडेल समूहमा पनि मुख्यतः दुईजना उम्मेदवार बन्ने निश्चित देखिन्छ । कोइराला परिवार एक ठाउँमा आए पनि सिंहले साथ नदिने संकेत देखाएका छन् ।

सभापतिबाट ब्याक नहुने गरी सिंह महाधिवेशनका दौडमा उत्रिएको भान हुन थालेको छ । उनको आक्रामकता​ र देश दौडहाले त्यही संकेत गर्छ । युवा नेता गुरुङले पनि ब्याक हुने छनक देखाएका छैनन् । उनको उम्मेदवारी रोक्न न सबैले प्रयास गरेको छ । १३ औँ महाधिवेशनमा सभापति लडेका सिटौला १४ औँमा पनि लड्ने मुडमै छन् । यस्तो अवस्थामा १४ औँ महाधिवेशनमाबाट पहिलो चरणमा नेतृत्व चयन हुने सम्भावना कमजोर छ ।

सभापति चयनको प्रक्रिया दोस्रो चरणमा जाँदा वर्तमान सभापति देउवा पहिलो हुने काँग्रेसवृत्तमा विश्लेषण छ । यता संस्थापन इत्तर पक्षबाट पूर्ण टीमसहित सभापतिको दौडमा उत्रिने उम्मेदवार दोस्रो हुने अड्कलबाजी भइरहेको छ ।

यसपटक १४ जना पदाधिकारीसहित १६९ जना केन्द्रीय सदस्यसहितको टीम बनाउन आफैमा चुनौती छ । कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचनबाट चयन हुने भएकाले सभापतिमा उम्मेदवारी दिन सबैले पूर्ण टीम बनाउन सक्ने परिस्थिति छैन ।

पौडेल समूहमा पाका केन्द्रीय नेताको रोजाइ रामचन्द्र र युवा नेताको झुकाव शेखरतिर देखिन्छ । यद्यपि जिल्ला सभापति र ग्राउण्डको कार्यकर्ता पंक्ति शशांक र प्रकाशमानको पक्षमा बढी देखिन्छ ।

पौडेल समूहमा तल्लो तहमा शशांक र प्रकाशमानको देखिने गुट नै छ । आ–आफ्नो सामर्थ्य जाँच्न सभापति लडेपनि दोस्रो राउन्डमा देउवाविरुद्ध संस्थापन इत्तर एक ठाउँमा आउन सक्छ । त्यसमा पनि निधि र सिटौला पनि इत्तर पक्षमा उभिएको खण्डमा देउवालाई जोखिम छ ।

निधि वा सिंह दोस्रो हुँदा थप चुनौती

त्यसमा पनि निधि र सिंहमध्ये एकजना दोस्रो भए सभापतिमा दोहोरिन देउवालाई थप चुनौती हुनेछ । किनभने काँग्रेस विभाजनपछि बनेको देउवा नेतृत्वको तत्कालीन काँग्रेस प्रजातान्त्रिकमा सिंह निर्णायक नेता मानिन्थे । पछि काँग्रेससँग एकता हुँदा काँग्रेस प्रजातान्त्रिकबाट समायोजनको जिम्मेवारी पनि सिंहले पाएका थिए । त्योबेला सिंहले जिम्मेवारी दिएका देउवा समूहका नेताहरुको अहिले पनि उनीसँग अनुराग भेटिन्छ । तर, कोइराला वा पौडेलले दोस्रो चरणमा देउवासँग प्रतिस्पर्धा गर्दा देउवाका लागि केही सहज हुनेछ ।

निधि वा सिंहले पहिलो चरणमा प्राप्त गरेको सबै मत पौडेल वा कोइराला परिवारलाई नजान सक्छ । उनीहरुले साथ दिएपनि केही महाधिवेशन प्रतिनिधिले देउवा रोज्न सक्ने सम्भावना देखिन्छ । किन भने निधि भर्सेस देउवा हुने अवस्थामा निधि रोज्नेहरूले पौडेल वा कोइराला भर्सेस देउवा हुँदा देउवा रोज्ने सम्भावना बढी देखिन्छ ।

यस्तै सिंह भर्सेस देउवा हुँदा सिंह रोज्नेहरूको पनि करिब त्यही अवस्था छ । सिंहले १२ औँ महाधिवेशनबाट देउवा इत्तर नेताको छवि बनाए पनि कार्यकर्ता तहमा देउवासँगको अनुराग मेटिएको छैन । अर्को कुरा सिंहको मुख्य आधार क्षेत्र बागमती प्रदेश हो ।

त्यसमा पनि काठमाडौं उपत्यका । पालिका र प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा पनि सिंहको जबरजस्त उपस्थिति देखिएको छ । यहाँको अधिकांश काँग्रेस कार्यकर्ताको पहिलो रोजाइ सिंह हुनेमा दुई मत छैन । दोस्रो रोजाइ देउवा नै रहेको पाइन्छ । त्यसै पनि सिंह सभापतिको उम्मेदवार हुँदा पौडेल समूहसँगै देउवा समूहलाई पनि थोर बहुत घाटा हुने छ ।​

अब देउवाका सहजताको चर्चा गरौं :

डिल गर्न सहज

 

सभापति चयनको दोस्रो प्रक्रियामा प्रवेश गर्न अन्य प्रतिस्पर्धी भन्दा देउवालाई पावर सेयरिङमा सहजता छ । निधिलाई छोडेर देउवाले आफ्नो टीमभित्र पावर सेयरिङ गर्नुपर्ने परिस्थिति छैन । दोस्रो राउन्डमा देउवाले सभापतिको प्रतिस्पर्धामा तेस्रो वा चौथो भएको एक जनासँग पावर सेयरिङ गरे दोहोरिन कठिनाइ नहुन सक्छ ।

सभापतिका अन्य दाबेदारले कसलाई कहाँ मिलाउने चुनौती छ । दोस्रो भएको उम्मेदवारले तेस्रो र चौथोलाई पनि मिलाएर जानुपर्ने अवस्था हुनसक्छ । एक जनालाई प्रधानमन्त्रीमा पावर सेरिङ गर्दा अर्कोलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती हुने छ ।

आधा दर्जन सभापतिका आकांक्षीलाई तीन जनासम्म झार्न पनि संस्थापन इत्तर पक्षमा सुरुमै पावर सेयरिङ हुन सक्ने सम्भावना छ । सभापतिको प्रतिस्पधाबाट रिङआउट भएकालाई साथमा लिन दोस्रो हुनेलाई कठिन हुनेछ । त्यसमा खेल्न सके देउवालाई दोहोरिन गाह्रो नहुन सक्छ ।

नयाँ प्रवेशीको साथले राहत

१३ औँ महाधिवेशनपछि काँग्रेसमा मिसिएको नयाँ नेता कार्यकर्ताको पंक्ति देउवासँगै रहेको छ । क्षेत्रीय र केही जिल्लामा भएको महाधिवेशन प्रतिनिधि चयनमा नवप्रवेशी प्रभाव देखिएको छ । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक, राप्रपाको सुनील थापा समूह लगायत नयाँ काँग्रेसीको राम्रो उपस्थिति रहेका ठाउँमा देउवा समूहलाई राहत भएको छ ।

त्यसको प्रभाव महाधिवेशन प्रतिनिधि चयनमा पनि हुने छ । काँग्रेसका आगन्तुकहरु ठुलो संख्यामा महाधिवेशन प्रतिनिधि आउन नसकेपनि जिल्लाबाट देउवा निकटलाई जिताए पठाउन निर्णायक बन्ने गरेको अवस्था छ । बाँके, सुर्खेत, डोल्पा, कैलाली लगायतका जिल्लामा नवप्रवेशीको साथ पाएपछि देउवा समूह हाबी भएको छ । केन्द्रमा पनि अधिकांश नेता देउवा जिताउ अभियानमा सामेल भएका छन् ।

करिब दुई सयसम्म नवप्रवेशी महाधिवेशन प्रतिनिधि आउने अनुमान छ । अहिलेसम्मको अवस्था हेर्दा उनीहरु देउवासँगै रहने देखिएको छ । १३ औँ महाधिवेशनमा साथ दिएर १४ औँमा साथ छोडेका नेताहरुको रिक्तता उनीहरुबाट भर्ने देउवाको रणनीति छ ।

बलियो गुट

यतिबेला काँग्रेसमा देउवाको सबैभन्दा ठूलो पुँजी नै बलियो गुट हो । केन्द्रदेखि जिल्ला तहसम्म देउवाको बलियो गुट छ । दुई दशकभन्दा बढी समय गुटगत अभ्यासमा जमेका नेता हुन् देउवा । त्यसैको बलमा देउवा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग संघर्ष, पार्टी विभाजन र एकीकृत पार्टीको सभापतिसम्म बने ।

यतिबेला सभापतिमा दोहोरिने आँट त्यही बलियो गुटबाट आर्जन गरेकोमा दुविधा छैन । अन्य प्रतिस्पर्धीलाई पदाधिकारी बस्दिने नेता पाउन जुलम भइरहेका बेला देउवालाई पदाधिकारी छनोट गर्नै मुस्किल छ ।

 

देउवा समूहमा भूगोल र जाति अनुसारको बलियो नेता छ । प्रदेश एकमा विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, भीष्मराज आङदाम्बे, विश्वप्रकाश शर्मा, सुनील थापा, मीनबहादुर विश्वकर्मा, अमृत अर्याल, डिला संग्रौला, रामहरि खतिवडा जस्ता नेता साथमा छन् ।

यस्तै प्रदेश दुईमा निधिले साथ नदिँदा पनि रमेश रिजाल, आनन्द ढुंगाना, चित्रलेखा यादव, महेन्द्र यादव, अजय चौरासिया, फरमुल्लाह मन्सुर, जंगीलाल राय लगायतका नेता देउवाको साथमा छन् । यस्तै बागमती प्रदेशमा पनि देउवालाई नेताको कमी छैन ।

सहमहामन्त्री प्रकाशशरण महत, डिना उपाध्याय, अम्बिका बस्नेत, विक्रम थापा, मोहन बस्नेत, बहादुरसिंह लामा, इन्द्र बानियाँ, उदय शमशेर राणा लगायत देउवाका बलिया खम्बा मानिन्छन् ।

यता गण्डकी प्रदेशमा देउवालाई नेता चिनकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुव वाग्ले लगायतका केन्द्रीय नेताको साथ छ । नेता गोपालमान श्रेष्ठले सभापतिमा दाबी गरेपनि नेता कार्यकर्ताले देउवाको साथ छोडेका छैनन् ।

यस्तै लुम्बिनी प्रदेशमा गृहमन्त्री बालकृष्ण खाण, भरत साह, देवेन्द्र कँडेल, पुष्पा भुसाल, मानबहादुर विश्वकर्मा, किशोर सिंह राठौर, योगेन्द्र चौधरी लगायत नेता देउवासँगै छन् ।

महामन्त्री पूर्णबहादुर खड्काको गृह प्रदेश कर्णालीमा पनि देउवा पक्षीय नेताको दबदबा राम्रै छ । महामन्त्री खड्का, कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाही, राजिव विक्रम शाह लगायत कार्यकर्तामा बलियो पकड भएका नेता देउवाकै साथमा छन् ।

सुदूरपश्चिम प्रदेशमा देउवाको एकलौटी जस्तै छ । गृह प्रदेशमा भएकाले त्यहाँ देउवाको आफैमा राम्रो छ । त्यसमा पनि नेता एनपी साउद, रमेश लेखक, रामजनम चौधरी, वीरबहादुर बलायर, नैनसिंह महर लगायतका नेता देउवासँगै छन् । उनीहरु सबै देउवालाई सभापतिमा दोहोर्याउने रणनीतिका साथ काम गरिरहेका छन् । 

पार्टी र राज्य सत्ता हातमा

देउवा वर्तमान कार्यसमितिमा पूर्ण बहुमतमा छन् । पदाधिकारीमा पनि बहुमत नै छ । पार्टीका केन्द्रीय विभाग एकलौटी गठन गरेर कार्यकर्तालाई जिम्मेवारी दिएका छन् । पार्टीका अधिकांश भ्रातृ तथा शुभेच्छुक संस्थामा पनि देउवाले आफू अनुकुलका नेतृत्वलाई थमौती दिएका छन् । बारम्बार म्याद थपेर भएपनि देउवाले भ्रातृ संस्थामा नेतृत्व होल्ड गरेर राखेका छन् । यता १४ औं महाधिवेशनको मुखमा देउवालाई अप्रत्यासित रुपमा  सत्ता प्राप्त भएको छ । पार्टी र मुलुकको नेतृत्व देउवाले सम्हालेका बेला ०७४ को चुनावमा काँग्रेसले लज्जास्पद हारेपछि उनी रक्षात्मक बनेका थिए । चुनावमा पार्टीको पराजय र सांगठनिक अस्तव्यस्तताले देउवा थिचिएका थिए ।

पब्लिक छवि पनि धुलिसाफ थियो । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी निम्त्याएको संवैधानिक संकटबाट उत्पन्न परिस्थितिले देउवालाई राहत मिल्यो । राष्ट्रिय राजनीति देउवाको नेतृत्वमा डोरियो । महाधिवेशनको मुखमा राज्यको स्रोत र साधनको चाबी देउवाको हातमा पुग्यो ।

प्रहरी प्रशासनको नेतृत्व पनि आफ्नै गुटका नेता बालकृष्ण खाणलाई सुम्पेका छन्  भने परराष्ट्रमन्त्री पनि देउवा निकट नारायण खड्काको हातमा छ । महाधिवेशनका लागि गठित समितिमा पनि देउवाको एकलौटी छ । यो स्रोत साधनको बलमा सभापति दोहोरिने देउवाको रणनीति लुकेको छैन । 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप