आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेको १० औं महाधिवेशनमा प्रदेश २ बाट कुन पदमा कसको दाबी ?

बिहीबार, ०९ मङ्सिर २०७८, १२ : ५४
बिहीबार, ०९ मङ्सिर २०७८

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा शुक्रबारदेखि सुुरु हुँदैछ । एमालेका लागि प्रदेश २ अहिले निकै महत्त्वपूर्ण मानिएको छ । एमाले विभाजनपछि प्रदेश २ मा नेकपा एकीकृत समाजवादी बलियो देखिएको छ भने एमाले तुलनात्मक रुपमा निकै कमजोर छ ।

एमालेले विभाजनको पीडा कम गर्ने उद्देश्यले प्रदेश २ का अधिकांश वडा र पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । वडा र पालिका अधिवेशन समापनपछि एमाले कार्यकर्ताहरु महाधिवेशनमा सहभागी हुन चितवन जाने तयारीमा जुटेका छन् ।

महाधिवेशनमा प्रदेश २ बाट कसले के पदमा उम्मेदवारी दिने भन्नेबारे खुल्न नेताहरु आनाकानी गरिरहेका छन् । एमालेको नवौँ महाधिवेशनमा विभिन्न पदका आकांक्षीहरुको चहलपहल निकै देखिएको थियो । १० औं महाधिवेशनमा भने उम्मेदवारीका लागि आकांक्षीहरुको चहलपहल त्यति देखिएको छैन ।

यस पटकको महाधिवेशनमा एमालेभित्र गुट नदेखिए पनि आन्तरिकरुपमा भने गुटबन्दी मौलाउँदै गएको नेता–कार्यकर्ताहरुको भनाइ छ । यद्यपि माधव नेपालको नेतृत्वमा एमालेबाट एउटा समूह बाहिरिएपछि भने पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कसैले बोल्ने आँट गर्न सकिरहेका छैनन् ।

माओवादी पृष्ठभूमिबाट एमाले प्रवेश गरेका नेताहरु अहिले ओलीकै वकालत गरिरहेका पाइन्छन् । यी सबका बीच एमालेभित्र रहेर राजनीति गर्ने मधेसी नेताहरुले १० औं महाधिवेशनबाट अवसर पाउने हुन् वा होइनन् भन्ने जान्न केही दिन प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।

तेस्रो मधेस आन्दोलनको समयमा एमालेका नेताहरुलाई मधेस प्रवेशमै बन्देज गरिएको थियो । तर परिस्थिति बदलिएको छ । यस पटकको महाधिवेशनबाट एमालेले मधेस विरोधी ट्याग हटाउने भरपुर प्रयास गरिहेको टिप्पणीसमेत भइरहेको छ ।

आसन्न महाधिवेशनमा प्रदेश २ बाट दुई दर्जनभन्दा बढी आकांक्षीको नाम चर्चामा छ । १० औं महाधिवेशनमा ओली नजिक मानिएका रघुवीर महासेठ र माओवादी पृष्ठभूमिबाट एमाले प्रवेश गरेका प्रभु साह एकै पदमा भिड्ने सम्भावना बढी छ । यी दुई नेता सचिव पदमै भिड्ने योजनामा छन् । दुवै अहिले ओली नजिकका नेता मानिन्छन् । महासेठ धनुषाबाट र साह रौतहटबाट प्रतिनिधित्व गर्छन् । प्रदेश २ बाट महासेठलाई सचिव पदमा साहले चुनौती दिने देखिएपछि ओलीलाई यी दुईमध्ये एकलाई रोज्न समस्या हुने देखिएको छ ।

प्रदेश २ बाट जुली महतो, सुमन प्याकुरेल, हरिनारायण महतो, उत्तम गौतम, टेकबहादुर बलमपाकी, सुवोध यादव, रामदयाल मण्डल, लिलानाथ श्रेष्ठ, राजनारायण साह, बलवीर चौधरी, प्रभु हजरा, रामचन्द्र मण्डल, बसरुद्दिन अन्सारी लगायतका नेताहरु केन्द्रीय सदस्य पदका आकांक्षी मानिएका छन् ।

नेकपा एमाले १० औँ महाधिवेशनका लागि प्रदेश २ बाट २३२ जना प्रतिनिधि छन् । प्रदेश २ का एमाले सचिव मनोज खड्काका अनुसार अहिलेसम्म २३२ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । तर यसमा संशोधन हुन सक्ने सम्भावना रहेको उनले बताए । 

उनका अनुसार धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिरहाबाट २२, सप्तरीबाट २०, रौतहटबाट २७,  बाराबाट ३८ र पर्साबाट २७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । यस्तै, प्रदेश कमिटीबाट ५ जना मनोनित गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको भएका छन् । केन्द्रले पनि आजै प्रदेश २ बाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप