कुवेतले दियो नेपाललाई २८ रनको लक्ष्य
संगीता राई र कप्तान रुविना क्षेत्रीले धारिलो बलिङ गरेपछि आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा कुवेतले नेपाललाई २८ रनको सामान्य लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट लिए । यस्तै करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एकएक विकेट लिए । ग्लोबल छनोटको सम्भावनालाई कायमै राख्न नेपाललाई कुवेतविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल कुवेतलाई पराजित गर्दै ६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा पुग्ने दाउमा छ।