सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय महिला आयोगले यसरी मनाउँदै छ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

बिहीबार, ०९ मङ्सिर २०७८, १३ : २०
बिहीबार, ०९ मङ्सिर २०७८

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्य गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय महिला आयोगले विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज पहिलो दिन दिउँसो २ बजे लैङ्गिक हिंसा विरुद्धको साझा प्रतिबद्धतामा हस्ताक्षर तथा प्रदर्शन गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ । वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै आइएको छ ।

योगमायाले नेपाली महिला आन्दोलनको शंखघोष गरेको भोजपुरको मजुवाबेशी तथा संखुवासभाको तुम्लिङटारमा लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रियात्मक कार्यक्रम गर्ने आयोगले जनाएको छ । यस्तै बालविवाह, प्रजनन स्वास्थ्य गर्भपतनको विषयमा सचेतनामूलक कार्यक्रम अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसमा कार्यक्रम गर्ने आयोगका   सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले जानकारी दिइन् । 

आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले महिला विरुद्ध हुने हिंसा परिवार र नजिकैका सदस्यबाट बढी हुने गरेको उनले बताइन् । राष्ट्रिय महिला आयोग महिला अधिकारका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बहस पैरवी लाग्नुको साटो महिला हिंसाविरुद्धका केसहरूमा मात्रै सीमित हुनुपरेका गुनासो गरिन् । 

‘महिला  हिंसाविरुद्धको उजुरीमा लागिरहँदा करिब ७५ प्रतिशत समय उतै बिताउनु पर्ने अवस्था छ ।’ उनले भनिन् । महिलाविरुद्ध हुने हिंसाका घटनाका उजुरी १० प्रतिशत मात्रै आयोग आउने आयोगका सदस्य खतिवडाले बताइन् । कोरोना महामारीमा अनलाइन कक्षा लिने क्रममा बालबालिकाहरू साइबर क्राइमको सिकार भइरहेको उनले बताइन् । पछिल्लो समय भ्रूण हत्या बढेको समेत उनले सुनाइन् ।

मङ्सिर ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले समेत मङ्सिर ९ गतेदेखि  २४  गतेसम्म लैङ्गिक हिंसा विरुद्ध  अभियान ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तहसँगै सरोकारवाल निकायलाई सञ्चालन गर्न आग्रह गरेको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानका क्रममा राष्ट्रिय महिला आयोग  तथा अन्य सरकारी तथा गैरसरकारी निकायद्वारा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिने आयोगका  सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले जानकारी दिइन् । 

आयोगले यसरी मनाउँदै १६ दिने अभियान

मङ्सिर ९ गते: महोत्तरीमा समाजमा विद्यमान हानिकारक अभ्यासहरू छाउपडी, बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सीको आरोप प्रथाका बारेमा  अन्तरक्रिया कार्यक्रम  

मङ्सिर १३ गते बागलुङका विद्यालय स्तरमा हुने  महिला  हिंसा निवारणको लागि शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिसँग अन्तरक्रिया गर्ने  

मङ्सिर १४ गते:  कपिलवस्तुमा छाउपडी, बालविवाह, बहुविवाह, दाइजो प्रथा बोक्सीको आरोप लगायतका प्रथाबारे अन्तरक्रिया गर्ने

यस्तै  भोजपुरको षडानन्द नगरपालिका र सालपासिलिछो गाउँपालिकामा सन्देशमूलक होर्डिङ बोर्ड निर्माण तथा जडान गर्ने

मङ्सिर १५ गते: सङ्खुवासभाका प्रमुख उपप्रमुख उपाध्यक्ष, न्यायिक समितिका सदस्यहरू, नागरिक समाज, अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने 

मङ्सिर १६ गते: भोजपुरमा प्रमुख उपप्रमुख उपाध्यक्ष, न्यायिक समितिका सदस्यहरू, नागरिक समाज, अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने

मङ्सिर २१ गते: सुर्खेतमा न्यायिक समिति तथा स्थानीय निकायका पदाधिकारीहरूसँग लैङ्गिक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुँच र विषयक अन्तरक्रिया कार्यक्रम 

 मङ्सिर २२ गते:  सुर्खेतमा संयुक्त राष्ट्र संघीय महिला विरुद्ध भेदभाव उन्मूलन गर्ने समिति सिड सम्बन्धी प्रदेशस्तरीय कार्यक्रमको आयोजना गर्ने

मङ्सिर २२ गते: समाजमा विद्यमान हानिकारक अभ्यास छाउपडी बालविवाह बहुविवाह, दाइजो प्रथा बोक्सी आरोप लगाएका प्रथाहरू केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने

मङ्सिर २४ गते: डोटी मा  न्यायिक समिति तथा स्थानीय निकायका पदाधिकारीहरूसँग लैङ्गिक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम

मङ्सिर २४ गते: काठमाडौँमा हेल्पलाइन  ११४५ वार्षिकोत्सवमा आयोगका माननीय पदाधिकारीहरू नेपाल सरकारका विभिन्न मन्त्रालयका निकाय र नेपाल प्रहरीका प्रतिनिधिहरूसँग  छलफल

१६ दिने अभियानको पृष्ठभूमि

लैङ्गिकतामा आधारमा हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवा सन्  १९९१ मा सेन्टर फर वुमन्स ग्लोबल लिडिरसीप को सहयोगमा विभिन्न २० देशका २३ उत्साहित महिलाहरूको समूहले गरेको थियो ।  त्यसपछि नोभेम्बर २५ बाट डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा मनाउन सुरु गरिएको हो । सन् १९६० नोभेम्वेर २५ का दिन डेमिनिक रिपब्लिका एकै परिवारका ३ साहसी दिदी बहिनीहरू प्याट्रिया, मिनर्भा र मारियाको कायरतापूर्ण रूपमा हत्या भएको थियो । उनीहरूको सम्मानमा ल्याटिन अमेरिकी देशमा महिला हिंसाविरुद्धको दिवस मनाउन थालिएको थियो । यस्तै १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्र संघले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको रूपमा मनाउन थालिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप