सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुन दलबाट को कलाकार बने उम्मेदवार ?

बुधबार, २२ कात्तिक २०७४, १४ : ४४
बुधबार, २२ कात्तिक २०७४

काठमाडौँ । आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति अगाडि थुप्रै कलाकर्मी उमेदवार बन्ने दौडमा थिए । जसमा अभिनेत्री रेखा थापा, गायिका कोमल वली, कलाकार निर्देशक नीर शाह, निर्माता रमेशजंग रायमाझी, निर्माता–नायक–निर्देशक रोज राणा, सहाबहार अभिनेत्री करिस्मा मानन्धर लगायत थुप्रै कलाकर्मीका नाम चर्चामा थियो । तर, समानुपातिकको बन्द सूची र प्रत्यक्षतर्फको अन्तिम नामावली बुझाउने मिति पछि भने केही चर्चामा रहेका र केही चर्चा भन्दा बाहिर रहेका कलाकर्मी उम्मेदवारको रुपमा अगाडि देखिए ।

उम्मेदवार बनेका कलाकर्मी नेकपा एमाले बाहेकको दलबाट देखिएका छन् । यो निर्बाचनमा एमालेबाट कोमल वली देखिने चर्चा धेरै पहिले चले पनि एमालेले अन्तिम समयमा आएर वलीलाई पत्याएनन् । यो निर्वाचनमा को–को कलाकर्मी कहाँबाट उम्मेदवार बने ।
 
करिश्मा मानन्धर
नेपाली चलचित्रमा सदाबहार नायिकाको छवि बनाएकी करिश्मा नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बनेकी छिन् । प्रतिनिधिसभातर्फ उनको नाम समानुपातिक सूचीमा एक नम्बरमा राखिएको छ । नयाँ शक्ति पार्टीले देशभर खसेको कूल मतबाट ३ प्रतिशत मत ल्याउन सफल भए उनी प्रतिनिधिसभा सांसद बन्नेछिन् । उनी पार्टीको केन्द्रीय कार्यकारीणी समिति सदस्य पनि हुन् । पछिल्लो समय चलचित्र र निर्माण भन्दा उनी राजनीतिमा सक्रिय रहँदै आएकी छन् । थुप्रै चलचित्र अभिनय गरेकी करिश्माले आधा दर्जन जति चलचित्र समेत बनाएकी छन् ।
 
प्रदीप कुमार उदय 
निर्माता, प्रदर्शक र बितरकको परिचय प्रदीपको चलचित्र क्षेत्रमा बनेको छ । उनी राप्रपा प्रजातान्त्रीका तर्फबाट प्रदेश नम्बर ५ को प्रदेश सदस्यका उम्मेदवार बनेका छन् । राप्रपा प्रजातान्त्रीका केन्द्रीय प्रवक्ता समेत रहेका उनी अहिले चुनाव प्रचार प्रसारमा होमिइ सकेका छन् । रुपन्देहीका प्रभावसाली नेतामा समेत गनिदै आएका उनी मिडियाकर्मी पनि हुन् । उनी अध्यक्ष रहेको स्टार एफ.एमको नेपाली मिडियाको दुनियाँमा अलग्गै पहिचान छ । उनी पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रचार हुँदै आएको सामाजिक श्रृखला ‘परिचय’ अभिनयमा समेत देखिदै आएका छन् ।
 
नवल खड्का
चलचित्रका नायक तथा निर्माता हुन् नवल । नजिकिदै गरेको निर्वाचनमा उनी उम्मेदवारको रुपमा आगाडी देखिएका छन् । केही पहिलेसम्म चुपचाप रहेका उनले सहकर्मीलाई चकित तुल्याउदै उमेदवार बनेका छन् । राष्ट्रिय चासोको बिषयमा चलचित्र निर्माण गरेर जनचेतना जगाउने कार्यमा सक्रिय रहँदै आएका उनलाई नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं. १ बाट प्रदेशसभा तर्फ समानुपातिकको बन्दसूचीमा समावेश गरेको हो । छुट्टै राष्ट्रिय चलचित्र निर्माता संघ नेपाल खोलेर ब्यवसाहिक निर्माताहरुको हकहितका खातिर आवाज उठाउँदै आएका नवल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष पनि हुन् । उनले आफ्नो कार्यकालमा कलाकार सम्बृद बनाउन विभिन्न अभियान समेत सञ्चालन गरेका थिए । कलाकारले सरकारबाट राष्ट्रिय परिचय पत्र पाउनुको पछाडी नवलको पनि महत्वपूर्ण योगदान रहेको छ । नवल भारतीय सीमामा काँडेतार अभियानको अभियन्ता, वागमती सफाइ महाअभियानका सुरुवाती अभियन्ता पनि हुन् । नवलले ‘दशगजा’, ‘भीमदत्त’ जस्ता चलचित्र राष्ट्रिय विषयमा निर्माण गरेका थिए ।
 
राज घिमिरे
केही बर्ष पहिले निर्माण भएको चलचित्र ‘चपली हाइट’बाट अभिनयमा देखिएका राज यो निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार बनेका छन् । उनलाई माओवादी केन्द्रले प्रदेश नम्बर ३ ललितपुर जिल्लाको क्षेत्र १ बाट समानुपातिकमा सिफारिस गरेको छ । गत जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि ललितपुरकै गोदावरी नगरपालिका वडा नं ३ को वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेका उनी थोरै मतको अन्तरलले पराजित भएका थिए । उनलाई अहिले फेरी माओवादी केन्द्रले उम्मेदवारको रुपमा अगाडि सारेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भन्ने नार घन्काउँदै आएका घिमिरे स्थानिय तहमा हुने भ्रष्टचारको विरुद्द समेत लड्दै आएका व्यक्ति हन् ।
 
मदुकुमार श्रेष्ठ
नायक तथा निर्माता मदुकुमार नेपाली काँग्रेस धादिङ क्षेत्र न १ को प्रदेश सभा (क)को प्रदेश सभासदका प्रत्यक्ष उम्मेदवार बनेका छन् । बामगठबन्धनबाट अगाडि आएका राजेन्द्र पाण्डेका उनी प्रतिद्वन्द्वी हुन् । ‘बजार’ चलचित्रमा लगानी गरेर कलाक्षेत्रमा प्रवेश गरेका उनले बनाएको चलचित्र ‘बिन्दाश’ र ‘बिन्दाश २’ पनि हो । यी दुबै चलचित्रका उनी नायक को रुपमा समेत थिए । वर्ष २०७२ मा देशले महाभूकम्पको चपेटा भोगेको समयमा उनीस्थानिय क्षेत्र लगायत देशका बिभिन्न भागमा राहत लिएर पुगेका थिए । स्वस्थ्य, शिक्षा र रोजगारका नारा उनले अहिले अगाडी सारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप