सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाठेघरको क्यान्सरविरुद्व खोप सुरु गर्ने तयारीमा सरकार

बुधबार, २२ कात्तिक २०७४, १४ : ४७
बुधबार, २२ कात्तिक २०७४

काठमाडौं– पाठेघर क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको बेला  सरकार यसको नियन्त्रणका लागि  नयाँ रणनीतिका साथ अघि बढेको छ । 

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले अबको दुई वर्षमा महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोप सुरु गरिने जनाएको छ । 

तयारी स्वरुप सरकारले सन् २०१५— ०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोपको कास्की र चितवनमा पाइलोटिङक गरेको थियो । 

महाशाखाका खोप अधिकृत भरत भण्डारीले  खोप ९ वर्षदेखि १३ वर्ष उमेरको बालिकालाई लगाइने तयारीका साथ अघि बढिएको जानकारी दिए । 
 पाइलोटिङको क्रममा पनि ९ वर्षदेखि १३ वर्ष सम्मका १३ हजार बालिकालाई खोप लगाइएको थियो । 

भण्डारीका अनुसार पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दुई मात्रामा पुरा हुन्छ । एक जनालाई खोप लगाउनको लागि १० हजार रुपैया खर्च हुने महाशाखाको भनाई छ । 

खोप केहि महंगो भएपनि समयमै लगाउन सके पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिने भण्डारीको भनाई छ । 

महाशाखाका अनुसार महिलाको पाठेघर मुखको क्यान्सर विरुद्ध लगाइने खोपलाई पनि राष्ट्रिय कार्यक्रममा राखिने छ । 

महिलाहरुमा हुने क्यान्सर मध्ये सबै भन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएको बताइन्छ । 

 पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणको कारण हुन्छ । 

विश्व स्वास्थ्य संघको एक तथ्यांकअनुसार यो रोगबाट वर्षैनी २ लाख ७० हजार भन्दा बढी महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ । जसमा ८५ प्रतिशत कम विकसित अर्थात नेपाल जस्तो देशहरु पर्दछन् ।

नेपालमा  बार्षिक १० हजारको हाराहारीमा  पाठेघर मुखको क्यान्सरका नयाँ विरामीहरु थपिने गरेको देखिएको महाशाखाका अधिकारीहरु बताउँछन् । 
 

यसकारण हुन्छ महिलाको पाठेघरमा मुखको क्यान्सर 
पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौनसम्पर्क सुरु भएपछि असर देखिन सुरु हुन्छ ।  सेतो पानी बग्ने र योनी चिलाउने जस्ता पाठेघरको मुखको क्यान्सरका लक्षण भएको चिकित्सकहरु बताउँछन् ।

 यो ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को संक्षमणले हुने क्यान्सर हो । यो संक्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ । संक्रमण भएको ८ देखि १० वर्ष पछि क्यान्सरमा परिणत  हुन्छ । महिलालाई पाठेघरको मुखमा क्यान्सर भएन–भएको बारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात गर्भाशय श्राव परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको चिकित्सकहरुको भनाई छ ।   

परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ । 

समयमानै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ । सानै उमेरमा विवाह गरेमा, असुरक्षित  र सानै उमेरमा यौनसम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा,  धेरै गर्भधारण गरेमा यो रोग लाग्ने  बढी खतरा रहने चिकित्सक जय जोशीले बताए ।  धूमपान गरेको महिलालाई पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुने उनको भनाई छ । यस्तै ५ वर्ष भन्दा बढी हर्माेनयुक्त परिवार नियोजनको साधन प्रयोग गरेका महिलामा पनि क्यान्सरको जोखिम हुन्छ । 
 
पाठेघरको मुखको क्यान्सरको लक्षण 
–यौन सम्पर्क गर्दा रगत देखिने ।
–महिनावारी नभएको समयमा पनि रगत देखिने ।
–सेतो गन्हाउने पानी आउने ।
–सानो पेट दुखिरहने ।
–ढाड दुख्ने ।
–थकाई लाग्ने ।
–लामो समयसम्म खोकी निको नहुने ।
–स्वर परिवर्तन हुने । 
–दिशा वा पिसाब अन्य समय भन्दा फरक समयमा हुने ।
–महिलाको तौल घट्दै जानु पाठेघरको मुखमा हुने क्यान्सरको लक्षणहरु हुन । 

 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप