आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘दलाल पुँजीवादले नेकपा एमालेलाई घिसार्न खोजिरहेको छ’

पार्टीभित्र मार्क्सवाद ज्यूँदो छ भन्ने कुराको सशक्त हस्तक्षेपका लागि मेरो उम्मेदवारी : घनश्याम भुसाल
सोमबार, १३ मङ्सिर २०७८, ११ : ३०
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीभित्र मार्क्सवाद, विचार ज्यूँदो छ भन्ने कुराको सशक्त हस्तक्षेपका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । दसौँ महाधिवेशन अन्तर्गत सोमबार उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै भुसालले सधैँ झैँ आफू अहिले पनि पार्टीलाई यसका विचार, सिद्धान्त, यसका नीतिहरू सही बनाउन ध्यान दिनु कम्युनिस्ट पार्टीका लागि सर्वथा महत्त्वपूर्ण हुने कुरामा जोड दिएको बताए ।

उनले भने, ‘अहिलेका पार्टीका नीति, सिद्धान्त बनाउन गएका २० वर्षदेखि मैले निरन्तर प्रयत्न गर्दै आएको छु,’ उनले भने, ‘नवौँ महाधिवेशनदेखि औपचारिक रूपमा हाम्रो विचार, कार्यदिशा अनुसार पार्टी अगाडि बढिरहेको छ ।’ समृद्धि र समाजवादलाई नवौँ महाधिवेशनले समृद्ध नेपाल र सुखी नेपाली भनेको चर्चा गर्दै उनले त्यसका लागि कार्यक्रम नहुने हो भने कार्यदिशाले मात्र कुनै उपलब्धि दिन नसक्ने दाबी गरे ।

‘कार्यदिशा भनेको रेखाङ्कन हो, कार्यक्रम भनेको डीपीआर हो । डीपीआर बिनाको रेखाङ्कनले काम गर्दैन । त्यसैले कार्यक्रम बनाऊँ, त्यो कार्यक्रम बोक्न सक्ने कस्तो संगठनात्मक सिद्धान्त हुन्छ भन्ने कुराको व्याख्या कार्यक्रमले माग्छ । विधान कस्तो बनाउने भन्ने कुरा त्यसपछि सुरु हुन्छ ।’

त्यसो भएको खण्डमा मात्र सिद्धान्त, कार्यदिशा, कार्यक्रम संगठनात्मक सिद्धान्त र विधान संगतिपूर्ण हुने उनको भनाइ छ । त्यसले नै आजको क्रान्तिलाई, समाजवाद र समृद्धितिरको यात्रालाई वास्तविक रूपमा बोक्ने संगठन बन्ने उनले बताए । उनले अगाडि भने, ‘नत्र सिद्धान्त एकातिर हुन्छ, नेताहरू अर्कै थोक हुन्छ । समाजवादका नाममा, लोकतन्त्रका नाममा गैर लोकतान्त्रिक, गैर समाजवादी मान्छेले पार्टीलाई कब्जा गर्दछन् ।’

हाम्रोजस्तो ५० औँ मुलुकमा दलाल पुँजीवादले क्रान्तिलाई अपहरण गरिसकेको चर्चा गर्दै उनले आज नेपालमा पनि दलाल पुँजीवादले क्रान्ति अपहरण गर्ने, समाजवादको झण्डा तिनैले उठाइदिने खतरा बढेको बताए ।

‘यसर्थ आज पार्टीभित्र सिद्धान्त ज्यूँदो छ, पार्टीभित्र मार्क्सवाद ज्यूँदो छ, पार्टीभित्र विचार ज्यूँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दाखिल गरेको छु,’ उनले भने ।

विचार, संगठनका हिसाबले दलाल पुँजीवादले नेकपा एमालेलाई घिसार्न खोजिरहेको चर्चा पनि उनले गरे । उनले भने, ‘अर्कोतिर यो पार्टी बनाएका, निर्माण गरेका त्यागी, पूराना तमाम कार्यकर्ता यो पार्टी निर्माण गर्ने कर्मीहरूचाहिँ यसलाई समाजवादको दिशामा टिकाइराख्न लागिरहेका छन् ।’ उनले आफूलाई तिनीहरूको प्रतिनिधि ठानेर नै उम्मेदवारी दिएको प्रस्ट पारे ।

नेकपा एमाले जत्तिको समृद्ध पार्टी, यत्तिको लोकतान्त्रिक पार्टी, यत्तिको क्रान्तिकारी पार्टी, क्रान्तिकारी जनमतलाई एक ठाउँमा ल्याएको पार्टी अर्को कुनै नरहेको उनको दाबी छ । ‘यसअर्थमा नेकपा एमालेले बेला बेलामा गल्ती गरेको छ । तर त्यसले बेलैमा यसलाई सुधारेको छ,’ उनले भने, ‘किनभने यसका तमाम कार्यकर्ता, समर्थक, शुभचिन्तकहरू जहिलेसुकै परिवर्तनको पक्षमा, क्रान्तिको पक्षमा, श्रमजीवी वर्गको पक्षमा खडा छन् ।’ उनीहरूले पार्टीलाई गल्ती गर्न नदिने पनि भुसालको दाबी छ । ‘कहीँ पार्टीले गल्ती गरिहाल्यो भने पनि त्यसलाई सुधार्ने कार्यकर्ताको लामो परम्परा छ,’ उनले भने, ‘त्यो परम्परा नै मैले जित्ने ग्यारेन्टी हो ।’

पार्टीमा गल्तीका प्रशस्त सम्भावना रहेको उनको बुझाइ छ । उनले भने, ‘अहिले पनि गल्ती हुँदै छ । एउटा एकीकृत पार्टी किन फुट्यो ? यसबारे हामी बेखबर भएर हिँड्दैछौँ ।’

संसारमा एउटा मोडल देखाउन सक्ने त्यत्रो सम्भावनाका बाबजुद त्यसलाई कसरी हामीले बिगार्यौँ र आफ्नै पार्टी किन टिकाउन सकेनौँ, आफ्नै सरकार किन टिकाउन सकेनौँ, त्यो स्थिति किन आयो भन्नेबारे बेखबर भएर हिँड्न खोजिएको भन्दै उनले यसले हामी, हाम्रो लोकतन्त्र, समाजवाद र कम्युनिस्ट पार्टीका यी सम्भावनालाई धेरै डरलाग्दा सम्भावनातर्फ ठोक्काउने खतरा रहेको बताए । त्यसले गर्दा पनि आफूले उम्मेदवारी दिइको उनको भनाइ छ ।

नवौँ महाधिवेशनमा प्यानल बनाउँदा नै आफूले त्यसको विरोध गरेको चर्चा गर्दै उनले दसौँ महाधिवेशनमा पार्टीले त्यो कुरालाई करेक्सन गरेको पनि बताए । यसअर्थमा अहिले आफूले व्यक्तिगत हैसियतमा उम्मेदवारी दिएको उनले प्रस्ट पारे ।

लोकतन्त्रमा पार्टी कसैको कब्जामा नहुने भन्दै उनले लोकतन्त्रमा हरेक मान्छे स्वतन्त्र रहने पनि बताए । उनले भने, सामन्तवादमा एउटाको नाम हुन्थ्यो, एउटाको थर, एउटाको इज्जत हुन्थ्यो, एउटाको प्रतिष्ठा हुन्थ्यो, अरु तमाम रैतीको नाम हुन्थेन, तिनको विचार हुन्थेन । तिनको कुनै निर्णय हुँदैनथ्यो ।’ लोकतन्त्रमा हरेक मान्छेको विचार हुने, उसले स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने उनको भनाइ छ ।

उनले एमालेभित्र ‘१० भाइ’ भनेर चिनिएको समूह एउटा खास मुद्दामा, १० बुँदाका सन्दर्भमा एक ठाउँमा उभिएको प्रस्ट पार्दै त्यसबाहेक, त्योभन्दा अगाडि र त्योभन्दा पछाडि आफूहरू सबै स्वतन्त्र रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप