गंगालाल अस्पतालको पीसीआर परीक्षण शुल्क एक हजार कायम
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनपछि सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीको पीसीआर परीक्षण शुल्क पनि अन्य सरकारी अस्पताल सरह एक हजार रुपैयाँ कायम गरिएको छ । सरकारी र निजी स्वास्थ्य संस्थामा पिसिआर परीक्षण बापत लिइएको शुल्कमा एकरूपमा कायम गर्न र उक्त अस्पतालमा पनि अन्य सरकारी अस्पतालमा सरह शुल्क निर्धारण गर्न निर्देशन दिएपछि सोमबारबाट सो व्यवस्था कार्यान्वयनमा आएको हो ।
गंगालाल अस्पताल सञ्चालक समितिको अध्यक्षको हैसियतले मन्त्री खतिवडाले सो अस्पतालमा पीसीआर परीक्षण शुल्क १७ सय रुपैयाँ लिँदै आएकोमा एकरूपता नभएको भन्दै चासो राख्दै एकरूपता र सुलभ मूल्य कायम राख्न निर्देशन दिएका थिए । अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिल लगायतका सरकारी अस्पतालहरूमा रु. एक हजार कायम छ भने विदेश जानेहरूका लागि त्रिभुवन विमानस्थल परिसरमै निजी संस्थाले एक हजार दुई सय लिइरहेका छन् ।
स्वास्थ्य मन्त्रीको निर्देशन र अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको तत्परतापछि आवश्यक प्रक्रिया पुरा सोमबारबाटै लागु हुने गरी रु एक हजारमै पिसिआर परीक्षण शुल्क तोकिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ ।