आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पौडेल समूहबाट ५ जनाको नाममाथि चाक्सीबारीमा छलफल, देउवा र सिटौला समूहबाट उम्मेदवारी घोषणा

मङ्गलबार, १४ मङ्सिर २०७८, १५ : ३०
मङ्गलबार, १४ मङ्सिर २०७८

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको उम्मेदवार छान्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा छलफल सुरु भएको छ । नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सोमबारबाट पौडेल समूहबाट प्रदेश सभापति छनोटका लागि छलफल सुरु भएको हो । सोमबार नेता सिंहले बागमती प्रदेशका केन्द्रीय नेताहरू अर्जुननरसिंह केसी, रामशरण महत, गगन थापा लगायतसँग छलफल गरेका थिए । सोमबारको छलफलमा बागमती प्रदेश सभापतिका लागि जगदीश्वरनरसिंह केसी, मधु आचार्य, रमेश धमाला, राजुराज जोशी र रामकृष्ण घिमिरेको नाम प्रस्ताव गरिएको छ ।

उनीहरूबाटै उम्मेदवार चयन गरिने सोमबारको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए । त्यसमा पनि केसी, जोशी र आचार्य प्रमुख दाबेदार हुन् । केसीलाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउन नेता अर्जुननरसिंह केसीले लबिङ गरिरहेका छन् । यस्तै आचार्यलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले अगाडि बढाउन चाहेका छन् भने जोशीलाई नेता प्रकाशमान सिंहको साथ छ । सिंहले जोशीको नाम अगाडि सारेपनि केसी र आचार्य निवर्तमान जिल्ला सभापति भएकाले उनीहरूबाटै सभापति चयन गरिने सम्भावना बलियो रहेको स्रोतको भनाइ छ ।

त्यसका लागि आज (मंगलबार) दिउँसो २ बजे सिंह निवास चाक्सीबारीमा छलफल भएकाे छ। बागमती प्रदेशका पौडेल पक्षीय नवनिर्वाचित जिल्ला सभापतिसँग केन्द्रीय नेताहरूले आजको छलफल गरेका थिए। आजै दिउँसो तीन बजे प्रदेश सभापतिका आकांक्षीहरु र नेताहरूबीच छलफल  चलिरहेकाे छ ।

यता सभापति शेरबहादुर देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

बागमती प्रदेशमा पौडेल र देउवा पक्षको प्रतिस्पर्धामा सिटौला पक्ष निर्णायक देखिएको छ । काठमाडौंमा प्रकाशन सिंहको अवस्था राम्रो छ भने ललितपुर र भक्तपुरमा देउवा पक्षको वर्चस्व छ । सबैभन्दा बढी प्रदेश प्रतिनिधि भएको काठमाडौँमा आफ्नो अवस्था बलियो भएकाले चुनाव जित्न सकिने पौडेल पक्षको दाबी छ । यता काठमाडौँको क्षतिपूर्ति ललितपुर र भक्तपुरबाट भएको देउवा पक्ष बताउँछ ।

यस्तै बागमती प्रदेशका लागि अर्का निर्णायक जिल्ला चितवनमा पनि पौडेल पक्ष बलियो छ । त्यसको क्षतिपूर्ति मकवानपुरबाट हुने देउवा पक्षको दाबी छ । मकवानपुरमा देउवा पक्षले क्लिन स्विप पारेको थियो । यस्तै धादिङमा पौडेल पक्ष बलियो छ भने काभ्रे, सिन्धुपाल्चोकमा देउवा पक्षका प्रतिनिधि बढी छन् । नुवाकोट, दोलखा र सिन्धुलीमा भने देउवा र पौडेल पक्षको उपस्थिति उस्ता–उस्तै छ ।

काभ्रे र काठमाडौँमा सिटौला पक्षका प्रतिनिधिको संस्था पनि राम्रो छ  । देउवा, पौडेल र सिटौला गरी  त्रिपक्षीय भिडन्त हुँदा पहिलो चरणमा सभापति जित्न सभापतिका उम्मेदवारलाई कठिन हुने देखिन्छ । पौडेल समूहले पहिलो चरणमै जित्ने दाउमा छ भने देउवा समूहलाई सिटौला समूहको आश छ ।

काँग्रेस मङ्सिर १६ गतेबाट सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन गर्दै छ । बागमती प्रदेश अधिवेशन संयोजनको नेतृत्व नेता सिंहले गरेका छन् । काँग्रेस केन्द्रीय निर्वाचन समितिको नयाँ निर्वाचन कार्यतालिका अनुसार १६ गते उद्घाटन, १७ गते उम्मेदवारी दर्ता र १८ गते मतदान हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप