आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

द्रुतमार्गमा अपुरो बजेट

सेनाले माग्यो ३० अर्ब, ८ अर्ब ८४ करोड मात्र निकासा
बिहीबार, १६ मङ्सिर २०७८, १२ : ०२
बिहीबार, १६ मङ्सिर २०७८

तराई द्रुतमार्ग सडक आयोजनाका लागी सरकारले चाहिए जत्ति बजेट दिन सकेको छैन । चालु आर्थिक वर्षका लागी नेपाली सेनाले सरकारसँग ३० अर्ब बजेट मागेको थियो । तर, २०७८/७९ का लागि सरकारले ८ अर्ब ८४ करोड चार लाख मात्रै निकासा गरेको छ । ९ करोड ६ लाख चालु खर्चतर्फ निकासा गरिएको छ । 

पुँजीगततर्फ निकासा भएको बजेट चालु आर्थिक वर्षका लागी थोरै हुने नेपाली सेनाका अधिकारीहरू बताउँछन् । ७२ दशमलव ५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म जाने द्रुतमार्गमा ३ वटा सुरुङ बन्दै छन् । सुरुङ बनाउन सेनाले दुई चिनियाँ निर्माण कम्पनीलाई ठेक्का दिइसकेको छ । महादेवटारमा चाइनास्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले सुरुङ बनाउँदै छ । धेद्रे र लेनडाँडामा पोलिच्याङ्दा इन्जिनियरिङले सुरुङको ठेक्का लिएको छ । 

सुरुङ मार्ग बनाउन मोविलाइजेशन खर्च बापत सेनाले ४ अर्ब रकम निर्माण कम्पनीलाई भुक्तानी गरेको छ । ६ महिनामा डिजाइन र ३ वर्षमा सुरुङ पुरा गरिसक्ने सम्झौताअनुसार अन्तर्राष्ट्रिय कम्पनीहरूले पुसबाट सुरुङ बनाउन थाल्ने द्रुतमार्ग सडक आयोजनाले जनाएको छ । द्रुतमार्ग ११ वटा प्याकेटमा तयार गर्ने लक्ष्य सेनाको छ । 

द्रुतमार्गमा बन्ने ८७ वटा पुलको ठेक्का लगाउन बाँकी छ । पुलको ठेक्का सम्झौता गरेपछि निर्माण कम्पनीलाई सुरुमा भुक्तानी गर्नुपर्ने १० प्रतिशत मोविलाईजेशन खर्च दिँदा नै सरकारले यस वर्ष निकासा गरेको रकम सकिने निर्माणका कार्यमा संलग्न सैन्य अधिकृतहरू बताउँछन् ।  

‘यो वर्ष सरकारले दिएको बजेट पर्याप्त छैन’ द्रुतमार्ग निर्माण कार्यमा संलग्न एक जना सैनिक अधिकृतले रातोपाटीसँग भने–‘टनेल खन्न थालेपछि पुलको ठेक्का सम्झौता गर्दा नै त्यो बजेट सकिन्छ, यस वर्षका लागी ३० अर्ब बजेट माग्यौँ तर,मागेको भन्दा थोरै पैसा निकासा भएको छ ।’ 

यस वर्षबाट सुरुङ मार्ग निर्माण सुरु गर्न लागेको सेनाले आगामी वर्ष सबै आयोजना ठेक्का लगाएर रफ्तारमा निर्माण अघि बढाउने बताएको छ । काठमाडौँ–तराई द्रुतमार्ग आयोजनाका अनुसार सडक पुरा गर्न ११ वटा ठेक्का लगाउनुपर्छ । सेनाले आफ्नो स्रोत साधन र राष्ट्रिय निर्माण व्यवसायीलाई ठेक्का दिएर द्रुतमार्गको ट्रयाक खोल्ने काम सकेको छ । ३० वटा प्याकेटमा ट्रयाक बनाउने र ढुंगामाटोको काम पुरा गरिएको आयोजनाले जनाएको छ । द्रुतमार्गको आधारभूत बेस तयार भैसकेको छ । 

द्रुतमार्गबारे जानकारी गराउँदै आयोजनाका अपरेसन प्रमुख प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडी :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप