चुनावी मैदानमा २६ मन्त्री : को कति सुरक्षित ?
आसन्न प्रतिनिधि सभा निर्वाचनमा वर्तमान सरकारका २६ मन्त्रीहरू चुनावी प्रतिस्पर्धामा छन् । प्रधानमन्त्रीसहित विनाविभागीय मन्त्रीहरू समेत निर्वाचनमा सहभागी भएर प्रचार प्रसारमा समेत जुटिरहेका छन् । अधिकांश मन्त्रीहरूले आफू पहिले निर्वाचित भएको क्षेत्रबाट नै टिकट पाएका छन् । हामीले स्थानीय तहको निर्वाचनमा दलका वडाध्यक्षहरूले पाएको मत परिणामका आधारमा उनीहरूको सम्भावित अवस्थाका बारे आँकलन गर्ने प्रयास गरेका छौँ ।
१. प्रधानमन्त्री शेरबहादुर देउवा : डडेल्धुरा
प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माण र सामान्य प्रशासन मन्त्रालय गरी ६ मन्त्रालयको जिम्मेवारीसमेत लिएका प्रधानमन्त्री शेरबाहादुर देउवा आगामी निर्वाचनमा डडेल्धुराबाट चुनावी प्रतिस्पर्धामा छन् । दोस्रो चरणअन्तर्गत मङ्सिर २१ गते उनको क्षेत्रमा निर्वाचन हुँदैछ । माओवादी केन्द्रका खगराज भट्ट र प्रधानमन्त्री देउवाबीच चुनावी भिडन्त हुँदैछ ।
प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा यसअघि देउवाले एकछत्र रूपमा विजय हासिल गर्दै आएका थिए । गत स्थानीय तहको निर्वाचनमा डडेल्धुराका स्थानीय तहमा प्रमुख तथा वडाध्यक्षले पाएको मतका आधारमा हेर्दा नेपाली काङ्ग्रेसले १९ हजार ५ सय २३ मत ल्याएको थियो । नेकपा एमालेले १६ हजार ९ सय १५ मत र माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत ल्याएको थियो । यहाँ गठबन्धन दलको २७ हजार ८ सय ६० मत छ जुन नेपाली काङ्ग्रेसले ल्याएको मत भन्दा ८ हजार ३ सय ३७ बढी हो । यस आधारमा यहाँ आफ्नो जित निकाल्न काङ्ग्रेस सभापति देउवाले ८ हजार बढी भोट बढाउनुपर्नेछ ।
प्रतिनिधि सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको डडेल्धुुरामा ८१ हजार ७ सय ३२ मतदाता रहेका छन् ।
देउवाका प्रतिस्पर्धी रहेका खगराज भट्ट २०६४ तथा २०७० को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए ।
२. उपप्रधानमन्त्री विजयकुमार गच्छदार : सुनसरी ३
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहेका विजयकुमार गच्छदार चुनावको मुखमा आफ्नो पुरानो पार्टी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए । उनले आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि सुनसरी ३ बाट उम्मेदवारी दिएका छन् । उनका मुख्य प्रतिस्पर्धीका रूपमा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी रहेकी छिन् ।
गत स्थानीय तहमा उनको निर्वाचन क्षेत्रमा रहेका स्थानीय तहमा पाएको मतका आधारमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादीले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९, फोरम लोकतान्त्रिकले १७ हजार ६ सय ७३ र सङ्घीय समाजवादी फोरमले ३ हजार ४ सय २७ मत पाएको थियो ।
यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनका पक्षमा २६ हजार २० मत छ भने काङ्ग्रेसको पक्षमा काङ्ग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकको मत जोड्दा ४१ हजार १ सय ३९ मत देखिन्छ । अर्थात यहाँ नेपाली काङ्ग्रेसको पक्षमा १५ हजार १ सय १९ मत रहेको छ । यस आधारमा हेर्दा यहाँ विजय गच्छदार पुनः निर्वाचित हुन सक्नेछन् ।
अगाामी निर्वाचनका लागि सुनसरी क्षेत्र नं. ३ मा १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् ।
३. उपप्रधानमन्त्री कमल थापा : मकवानपुर १
ऊर्जा मन्त्रालय सम्हालिरहेका उपप्रधानमन्त्री कमल थापा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नं. १ बाट एमालेका कृष्णप्रसाद दाहालसँग चुनावी प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तहको निर्वाचनमा मकवानपुर १ का स्थानीय तहमा दलका वडाध्यक्षहरूले ल्याएको मतका आधारमा नेपाली काङ्ग्रेसले २३ हजार ५ सय ४८, एमालेले २७ हजार १ सय ४३, माओवादीले १४ हजार ५ सय २ र राप्रपाले १० हजार ८ सय ३५ मत पाएको थियो । यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा ४१ हजार ६ सय ४५ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३४ हजार ३ सय ८३ मत रहेको छ । यहाँ ७ हजार ३ सय ३३ मतले वाम गठबन्धन अगाडि रहेकाले कमल थापाका लागि जित निकाल्न कठिन सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।
४. उपप्रधानमन्त्री कृष्णबहादुर महरा : दाङ २
माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका विनाविभागीय उपप्रधानमन्त्री कृष्णबहादुर महरा आगामी प्रतिनिधि सभाको निर्वाचनमा दाङ क्षेत्र नं. २ मा काङ्ग्रेसका उम्मेदवार राजु खनालसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत स्थानीय तहको निर्वाचनमा स्थानीय तहका वडाध्यक्षहरूले पाएको मतका आधारमा दाङ क्षेत्र नं. २ मा काङ्ग्रेसले २१ हजार ३ सय ९, एमालेले १७ हजार ९ सय ६, माओवादीले १७ हजार ५ सय ३५ र राप्रपाले १ हजार ८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३५ हजार ४ सय ४१ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २२ हजार ३ सय ९७ मत रहेको छ । अर्थात यहाँ महरालाई आफ्नो जित निकाल्न कुनै कठिनाइ नहुने देखिन्छ ।
५. उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ : स्याङ्जा २
नेपाली काङ्ग्रेसका नेतासमेत रहेका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं. २ बाट वाम गठबन्धनकी नेतृ पदमा अर्यालसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले ३१ हजार ७ सय २९, नेकपा एमालेले ३१ हजार २५, माओवादीले ४ हजार १ सय १३, राप्रपाले ७ सय ९ मत पाएका थिए । यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा ३५ हजार १ सय ३८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३२ हजार ४ सय ३८ मत रहेको छ । यहाँ वाम गठबन्धन २७ सय मतले अगाडि रहेको छ । यस आधारमा यहाँ वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
६. विनाविभागीय मन्त्री गिरिराजमणी पोखरेल : महोत्तरी १
यसअघि स्वास्थ्यमन्त्रीसमेत रहेका विनाविभागीय मन्त्री, माओवादी नेता गिरिराजमणी पोखरेल महोत्तरी क्षेत्र नंं. १ मा नेपाली काङ्ग्रेस सीताराम भण्डारीसँग प्रतिस्पर्धा गर्दैछन् । गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले १२ हजार ८ सय ५४, नेकपा एमालले ७ हजार ७ सय १८, माओवादीले १६ हजार १ सय २१, राजपाले ८ हजार ९ सय २१, सङ्घीय समाजवादी फोरमले ३ हजार ७ सय १४, राप्रपा ३ सय १६ र फोरम लोकतान्त्रिकले १ सय ८१ मत पाएका थिए ।
यस अधारमा यहाँ वाम गठबन्धनको पक्षमा २३ हजार ८ सय ३९, काङ्ग्रेस, राप्रपा, फोरम लोकतान्त्रिकसहितको लोकतान्त्रिक गठबन्धनको पक्षमा १३ हजार ३ सय ५१ र मधेसी मोर्चाको पक्षमा १७ हजार २ सय ८० मत खसेको थियो । यस अधारमा यहाँ लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन १० हजार हाराहारी र मधेसी मोर्चाभन्दा ६ हजार हाराहारी मतले अगाडि रहेको छ ।
७. अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की : सुनसरी ४
नेपाली काङ्ग्रेसका नेतासमेत रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं. ४ मा वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा सुनसरी ४ मा नेपाली काङ्ग्रेस २१ हजार, १ सय ४५, एमालेले २० हजार २ सय १३, माओवादीले ४ हजार ७ सय ८६, राप्रपाले १५ सय ५६ मत पाएको थियो ।
यस अधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ९ सय ९९ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २२ हजार ७ सय १ मत रहेको छ, अर्थात यहाँ वाम २ हजार २ सय ९८ मतले अगाडि रहेको छ । यो मतको आधारमा यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुनेछ ।
८. श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर : बारा क्षेत्र नं. ३
नेपाली काङ्ग्रेसका नेतासमेत रहेका श्रम तथा रोजगारमन्त्री आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नं. ३ बाट एमालेका अध्यानन्द पाण्डे र सङ्घीय समाजवादी फोरमका रामकिशोर यादवसँग प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तहको निर्वाचनमा बारा क्षेत्र नं. ३ मा काङ्ग्रेसले १७ हजार १ सय ३१, एमालेले १५ हजार १ सय ७७, माओवादीले ७ हजार ७ सय, राजपाले ३ हजार ७ सय ३४, राप्रपा राप्रपा प्रजातान्त्रिकले ८ सय २५ र सङ्घीय समाजवादीले ४ सय ७३ मत पाएको थियो ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ८ सय ७७, लोकतान्त्रिक गठबन्धनको पक्षमा १७ हजार ९ सय ५६ र मधेसी मोर्चाको पक्षमा ४ हजार २ सय ७ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन भन्दा ६ हजार ९ सय २१ मतले अगाडि छ । अर्थात मन्त्री मन्सुरलाई सहजै जित निकाल्न भने कठिन हुने देखिन्छ ।
९. विनाविभागीय मन्त्री जनार्दन शर्मा : रुकुम पश्चिम
माओवादी केन्द्रका नेता, पूर्वऊर्जा तथा गृहमन्त्री जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पश्चिम रुकुमबाट उम्मेदवारी दिएका छन् । उनले नेपाली काङ्ग्रेसका नेता गोपालजीजङ्ग शाहसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत स्थानीय तहको निर्वाचनमा पश्चिम रुकुममा माओवादी केन्द्र पहिलो दल बनेको थियो । स्थानीय तहका प्रमुख पदका लागि प्राप्त मतका आधारमा माओवादी केन्द्रले २७ हजार ४ सय ३१ मत ल्याएको थियो । दोस्रो दलका रूपमा नेपाली काङ्ग्रेसले १९ हजार ६७ मत ल्याएको थियो । रुकुम पश्चिममा वाम दलको मत ३५ हजार ८ सय ३५ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसको भन्दा १६ हजार ७ सय ६८ मत बढी हो । यो जिल्लामा राप्रपाले जम्मा १ सय ९२, राष्ट्रिय जनमोर्चाले ४३ र नयाँ शक्ति नेपालले १ सय ६४ मत ल्याएको थियो । प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको यो जिल्लामा ८४ हजार ३० मतदाता छन् । यस अधारमा हेर्दा मन्त्री शर्मा भारी मतले विजयी हुने सहजै आँकलन गर्न सकिन्छ ।
१०. स्वास्थ्यमन्त्री दीपक बोहरा : रूपन्देही ३
राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका स्वास्थ्यमन्त्री दीपक बोहोरा रूपन्देही क्षेत्र नं. ३ मा एमालेका नेता घनश्याम भुसालसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गत स्थानीय तहमा राजनीतिक दलले पाएको मतका आधारमा रूपन्देहीमा काङ्ग्रेसले ११ हजार १ सय ९८, एमालेले १३ हजार ५ सय १७, माओवादीले ४ हजार ४ सय ५ र राप्रपाले ३ हजार ८ सय ३२ मत पाएको थियो ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा १७ हजार ९ सय २२ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १५ हजार २० मत रहेको छ । अर्थात् वाम गठबन्धन २ हजार ९ सय २ मतले अगाडि रहेको छ । एमालेका बौद्धिक नेताको छवि बनाएका भुसालसँग मन्त्री बोहोराको कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
११. विनाविभागीय मन्त्री प्रभु साह : रौतहट ३
पूर्वसहरी विकासमन्त्री समेत रहेका माओवादी नेता प्रभु साह रौतहट क्षेत्र नं. ३ मा नेपाली काङ्ग्रेसका सुनीलकुमार साहर मधेसी मोर्चाका शम्भु साह तेलीसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले १३ हजार ४ सय ७६, एमालले १२ हजार ६ सय २६, माओवादीका ११ हजार ३ सय ८६, सङ्घीय समाजवादी फोरमको ५ हजार ३ सय ९१, राजपाले १ हजार ८ सय ९५ मत ल्याएको थियो ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३१ हजार ३ सय ८४, लोकतान्त्रिक गठबन्धनको पक्षमा १३ हजार ४ सय ९२ र मधेसी मोर्चाको पक्षमा १४ हजार ४ सय ९ मत देखिन्छ । अर्थात लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धन १७ हजार ८ सय ९२ मतले अगाडि रहेको छ । भारी मतले मन्त्री पभु साह पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने आँकलन गर्न सकिन्छ ।
१२. उद्योगमन्त्री सुनिलबहादुर थापा : धनकुटा
राप्रपाका नेता तथा उद्योगमन्त्री सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधि सभा निर्वाचनमा एमालेका नेता राजेन्द्र राईसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत स्थानीय तहको निर्वाचनमा धनकुटामा स्थानीय तहको निर्वाचनमा धनकुटाका स्थानीय तहका प्रमुख पदमा राजनीतिक दलले पाएको मत अनुसार नेपाली काङ्ग्रेसले १८ हजार १ सय ३२, नेकपा एमालेले २९ हजार ९ सय ३, माओवादी केन्द्रले १० हजार ८३, राप्रपाले ३ हजार ८ सय ३०, मधेसी अधिकार फोरम लोकतान्त्रिकले ७३, नयाँ शक्ति नेपालले ५४ मत पाएको थियो ।
यस अनुसार धनकुटामा वाम गठबन्धनको ३९ हजार ९ सय ८६ मत छ । यस्तै नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनको २२ हजार ८९ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धनको १७ हजार ८ सय ९७ हाराहारी बढी मत देखिन्छ । स्थानीय तहको मतलाई आधार मान्ने हो भने मन्त्री थापालाई आफ्नो जित निकाल्न कठिन पर्ने अनुमान गर्न सकिन्छ ।
१३. वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे : चितवन क्षेत्र नं. ३
राप्रपाका नेतासमेत रहेका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे चितवन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । यसकारण पनि चितवन क्षेत्र नं. ३ को चुनाव राष्ट्रिय आकर्षणमा परेको छ ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले २६ हजार ९ सय २३, एमालेले २४ हजार ४ सय ९४, माओवादीले १८ हजार १ सय ४ र राप्रपाले ८ हजार ३ सय ४२ मत पाएको थियो ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ४२ हजार ५ सय ९८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३५ हजार २ सय ६५ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन ७ हजार हाराहारी मतले अगाडि रहेको छ । मन्त्री पाण्डेलाई आफ्नो पक्षमा जीत निकाल्न कठिन पर्ने देखिन्छ ।
१४. सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत ः सिन्धुपाल्चोक १
नेपाली काङ्ग्रेसका नेतासमेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ मा पूर्व सञ्चारमन्त्रीसमेत रहेका माओवादी नेता अग्नि सापकोटासँग चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं. १ अन्तर्गत त्रिपुरासुन्दरी, लिसंखु पाखर, सुनकोसी, भोटेकोसी, जुगल गाउँपालिका पर्छन् भने बाह्रबिसे नगरपालिका र चौतरा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा रहेका छन् ।
त स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेपाली काङ्ग्रेसले २१ हजार ३ सय १६, एमालेले २४ हजार २ सय २४, माओवादीले १९ हजार ८ सय ५५ र राप्रपाले ३ हजार ७ सय ७५ मत ल्याएको थियो ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ४४ हजार ७९ मत रहेको छ भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार ९१ मत देखिन्छ । अर्थात यहाँ वाम गठबन्धन १८ हजार हाराहारी मतले अगाडि रहेको छ । स्थानीय तहको मत परिणाम हेर्ने हो भने मन्त्री बस्नेतलाई पूर्वमन्त्री सापकोटालाई पराजित गर्न कठिन पर्ने देखिन्छ ।
१५. कृषि विकास मन्त्री रामकृष्ण यादव : धनुषा क्षेत्र नं. २
नेपाली काङ्ग्रेसका नेता तथा कृषि विकास मन्त्री रामकृष्ण यादव धनुषा क्षेत्र नंं २ मा वाम गठबन्धनबाट माओवादीका रामचन्द्र झा र सङ्घीय समाजवादी फोरमका उमाशङ्कर अगरियासँग प्रतिस्पर्धा गर्दैैछन् ।
गत स्थानीय तहको निर्वाचनमा धनुषा क्षेत्र नं. २ मा काङ्ग्रेसले १२ हजार ३ सय ५९, एमालेले ७ हजार ९ सय ३१, माओवादीले ७ हजार ८ सय ९५, राप्रपाले २ सय ९५, राजपाले ४ हजार ९ सय ४५, फोरम लोकतान्त्रिकले ३ हजार २ सय ३२ र सङ्घीय समाजवादी फोरमले ७ हजार २ सय ६३ मत पाएको थियो ।
यस अनुसार यहाँ वाम गठबन्धनको पक्षमा १५ हजार ८ सय २६, लोकतान्त्रिक गठबन्धनको पक्षमा १५ हजार ८ सय ६ र मधेसी मोर्चाको पक्षमा १२ हजार २ सय ८ मत देखिन्छ । यस आधारमा हेर्दा यहाँ वाम, लोकतान्त्रिक र मधेसी मोर्चा गठबन्धनबीच कडा टक्कर पर्ने अनुमान गर्न सकिन्छ ।
१६. खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव : धनुषा क्षेत्र नं. ४
नेपाली काङ्ग्रेसका नेता तथा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव धनुषा क्षेत्र नंंं ४ मा वाम गठबन्धनबाट एमालेका रघुवीर महासेठ र समाजवादी फोरमका महाजन यादवसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले १६ हजार २ सय ३६, एमालेले १६ हजार ३ सय ३५, माओवादीले १० हजार ७ सय ७०, फोरम लोकतान्त्रिकले २ सय ८ राप्रपाले ६ सय ४१, राजपाले ५ हजार ५ सय ४५ र समाजवादी फोरमले ८ हजार ६ सय ६ मत पाएको थियो ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ९ सय १६, लोकतान्त्रिक गठबन्धनको १७ हजार ८५ र मधेसी मोर्चाको पक्षमा १४ हजार १ सय ५१ मत देखिन्छ । अर्थात वाम गठबन्धन झन्डै १० हजार हाराहारी मतले अगाडि रहेको छ ।
१७. सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत : काठमाडौँ ३
नेपाली काङ्ग्रेसकी नेतृ सहकारी मन्त्री अम्बिका बस्नेत काठमाडौं क्षेत्र नं. ३ मा एमालेका कृष्ण राईसँग चुनावी प्रतिस्पर्धामा छिन् ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ३ मा काङ्ग्रेसले १४ हजार ३ सय २४, एमालेले १२ हजार ७ सय ७, माओवादीले ४ हजार ४ सय ५१ र राप्रपाले १ हजार ४ सय ४४ मत पाएको थियो ।
१८. भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर : डोटी
नेपाली काङ्ग्रेसका नेता तथा भौतिक पूर्वाधार मन्त्री वीरबहादुर बलायर आगामी प्रतिनिधि सभा निर्वाचनका लागि डोटीबाट चुनावी प्रतिस्पर्धामा छन् । उनको एमालेका प्रेमबहादुर आलेमगरसँग मुख्य प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको मतका आधारमा डोटीमा काङ्ग्रेसले २४ हजार ८ सय ५, एमालेले २७ हजार ८ सय ८९, माओवादीले ७ हजार ६ सय ८५ र राप्रपाले ७ सय ८७ मत पाएको थियो ।
यस आधारमा वाम गठबन्धनले ३५ हजार ५ सय ७४ र लोकतान्त्रिक गठबन्धनले २५ हजार ५ सय ९२ मत पाएको छ । झन्डै १० हजार हाराहारी मतले वाम गठबन्धन अगाडि रहेका कारण मन्त्री बलायरलाई आफ्नो पक्षमा जित निकाल्न कठिन पर्ने आँकलन गर्न सकिन्छ ।
१९. वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा भने समानुपातिक उम्मेदवार बनेका छन् ।
२०. कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा : कास्की १
काङ्ग्रेस नेता एवं. कानुन मन्त्री यज्ञबहादुर थापा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. १ मा एमालेका खगराज अधिकारीसँग प्रतिस्पर्धा गर्दैैछन् ।
गत स्थानीय तहको निर्वाचनमा कास्की १ मा काङ्ग्रेसले २३ हजार ५ सय ५४, एमालेले २६ हजार ८ सय ३९, माओवादीले ६ हजार १२, राप्रपाले १२ सय ८५ मत पाएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा ३२ हजार ८ सय ५१ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ८ सय ३९ मत रहेको छ । यहाँ वाम गठबन्धन ८ हजार १२ मतले अघि देखिन्छ । यस आधारमा मन्त्री थापालाई जित निकाल्न सजिलो भने नहुने अनुमान गर्न सकिन्छ ।
२१. रक्षामन्त्री भीमसेनदास प्रधान : काठमाडौँ ६
काङ्ग्रेस नेता एवं रक्षामन्त्री भीमसेनदास प्रधान माओवादीका नेता झक्कु सुवेदीसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेसले ११ हजार ३ सय १५, एमालेले १२ हजार ७ सय ९८, माओवादीले ३ हजार ६ सय ९३ र राप्रपाले ९ सय ५६ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको १६ हजार ४ सय ९१ र लोकतान्त्रिक गठबन्धनको १२ हजार २ सय ७१ मत छ । वाम गठबन्धन ४ हजार २ सय २० मतले अगाडि देखिएको छ । मन्त्री प्रधान काठमाडौँका स्थानीय हुन भने सुवेदी रोल्पाका हुन् । मन्त्री प्रधान र सुवेदीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
२२. सिंचाइमन्त्री सञ्जयकुमार गौतम : बर्दिया १
काङ्ग्रेस नेता तथा सिंचाइ मन्त्री सञ्जयकुमार गौतम बर्दिया क्षेत्र नंंं १ मा एमाले नेता वामदेव गौतमसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत स्थानीय तहको चुनावमा बर्दिया १ मा काङ्ग्रेसले २३ हजार ३ सय २३, एमालेले ३१ हजार ६५, माओवादीले २३ हजार ८ सय ४० र राप्रपाले २४ सय १९ मत पाएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा ५४ हजार ९ सय ५ मत देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार ७ सय ४२ मत छ । यहाँ २९ हजार १ सय ६३ मतले वामदल अगाडि रहेको छ । अर्थात यहाँ सिंचाइमन्त्री गौतमले एमाले नेता वामदेव गौतमसँग भारी मतले पराजित हुने अनुमान गर्न सकिन्छ ।
२३. युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी : काठमाडौँ १०
काङ्ग्रेस नेता तथा खेलकुदमन्त्री राजेन्द्र केसी काठमाडौँ क्षेत्र नं. १० मा माओवादी केन्द्रका नेता हीतमान शाक्यसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ १० मा काङ्ग्रेसले १७ हजार १ सय ७०, एमालेले १६ हजार ८ सय ८७, माओवादीले ९ हजार ४ सय ५० र राप्रपाले २ हजार ३ सय ३६ मत ल्याएको थियो । यहाँ वाम गठबन्धन ६ हजार ८ सय ३१ मतले अगाडि रहेको छ ।
२४. विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत : सल्यान
माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सल्यान १ मा नेपाली काङ्ग्रेसका राजेन्द्रबहादुर शाहसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा सल्यानमा नेपाली काङ्ग्रेसले २३ हजार ९ सय ८१, एमालेले २८ हजार ३७, माओवादीले २८ हजार ७ सय ७१ र राप्रपाले ३ हजार ४ सय ५१ मत ल्याएको थियो ।
यहाँ वाम गठबन्धनको पक्षमा ५६ हजार ८ सय ८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २७ हजार ४ सय ३२ मत रहेको छ । स्थानीय तहको चुनावमा वाम गठबन्धन २९ हजार ३ सय ७६ मतले अगाडि भएका कारण मन्त्री बस्नेतको जित निश्चित जस्तै देखिन्छ ।
२५. विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही : कालिकोट ख प्रदेशसभा उम्मेदवार
२६. विनाविभागीय मन्त्री सन्तकुमार थारु : बर्दिया २
माओवादी नेता तथा विनाविभागीय मन्त्री सन्तकुमार चौधरी थारु बर्दिया २ मा काङ्ग्रेसका गोपाल दहित र समाजवादी फोरमका चिरञ्जीवी राम थारुसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत स्थानीय तहको निर्वाचनमा बर्दिया २ मा नेपाली काङ्ग्रेसले २९ हजार ७ सय ७, उमालेले २२ हजार १ सय ७६, माओवादीले ३१ हजार ८ सय ४६ र राप्रपाले १८ सय २९ मत पाएको थियो ।
यहाँ वाम गठबन्धनको पक्षमा ५४ हजार २२ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३१ हजार ६ सय २६ मत देखिन्छ । वाम गठबन्धन २२ हजार हजार हाराहारी मतले अगाडि रहेका कारण मन्त्री थारुको जित सुनिनिश्चित जस्तै हुने आँकलन गर्न सकिन्छ ।
२७. महिला, बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापा : काठमाडौँ ७
राप्रपा नेता तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापा काठमाडौँ ७ मा एमालेका रामवीर मानन्धरसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ ७ मा काङ्ग्रेसले ११ हजार १५, एमालेले ११ हजार ८ सय ५६, माओवादीले ३ हजार १ सय २० र राप्रपाले १९ सय ६४ मत ल्याएको थियो ।
यहाँ वाम गठबन्धनको पक्षमा १४ हजार ९ सय ७६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १२ हजार ९ सय ७९ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन १९ सय ९७ मतले अगाडि रहेको छ । यस अधारमा यहाँ मन्त्री थापा र मानन्धरबीच कडा चुनावी टक्कर हुने अनुमान गर्न सकिन्छ ।