सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुलीगढीमा अंग्रेजले हारेको त्यो दिन...

बिहीबार, २३ कात्तिक २०७४, १५ : १७
बिहीबार, २३ कात्तिक २०७४

काठमाडौं–सिन्धुलीगढीमा अंग्रेज सेनालाई पराजित गरेको २५० वर्ष पुरा भएको छ ।  अंग्रेजमाथिको जीतको खुसीयालीमा हरेक वर्ष सिन्धुलीगढीमा  विजयोत्सव मनाइँदै आएको छ । विगतमा जस्तै यसवर्षपनि शुक्रबार विभिन्न कार्यक्रम गरी विजयउत्सव मनाउने तयारी गरिएको  छ । 

विसं १८२४ कात्तिक २४ गते ।  तत्कालिन इस्ट इण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा नेपालमा हमला गर्न भन्दै सिन्धुलीगढीसम्म आइपुगेको  २ हजार ४ सय अंग्रेजी अन्ततः पराजित बन्यो ।

 वीर नेपाली बंशु गुरुङको नेतृत्वको नेपाली फौजले सिन्धलीगढीमा अंग्रेजलाई झुकाएर नेपाल र नेपालीको शीर उँचो पारेको थियो ।  नेपाली फौजले अंग्रेजलाई परास्त गर्न लडेको इतिहासमा स्वर्ण अक्षरले लेखिएका छन् ।  उक्त युद्दमा  १ हजार ६ सय अंग्रेज फौज मारिएका थिए ।  

नेपाल र नेपालीको स्वाभिमान जोगाउन लडाई भएको सिन्धुलीगढीलाई एक एतिहासिक स्थलको रुपमा लिइन्छ । जहाँ  सानोगढी र ठूलो पौवागढी गरी दुई गढी रहेका छन् ।  यस्तै त्यहाँको अर्को आकर्षण भनेको सिन्धुलीगढी दरबार पनि हो । 

त्यसैले त स्वर्गीय  कृष्ण विक्रम थापाले गीत नै बनाएका थिए–‘‘सिन्धुली गढी घुमेर हेर्दा, सिन्धुली माई कति राम्रो दरबार मार्योनी मायाले मार्र्याे....!
तर सिन्धुलीगढी र  दरबारको अहिले चमक हराएको  । दरबार कहाँ छ भन्ने नै थाहा हुन्न । ऐतिहासिक स्थल सिन्धुलीगढी र  दरबार निर्माण तथा संरक्षणको लागि सरकारी निकायले चासो नदिँदा यस्तो अवस्था उत्पन्न भएको हो । 

 दरबार निर्माणको लागि छुट्टै बजेट विनियोजन गर्न जरुरी छ । तर हुन सकेको छैन  । हरेक वर्ष कात्तिक २४ लाई सिन्धुलीगढीमा विजयउत्सोव मनाइन्छ । विजयोत्सवको दिन दरबारको निर्माण र बिकासको बारेमा भाषण छाँट्ने काम हुन्छ ।  तर कार्यान्वयन हुँदैन । 

३० कोठे मूल दरबार, तबेला घर, पाले पहरेदार घर लगायत दरबार आसपासका सबै भवनहरु पूर्ण रुपमा भत्किएर भग्नाबशेष बनेको छ ।  दरबार निर्माण गर्दा दरबारको पुरानो आकारलाई झल्काउने गरी निर्माण गर्ने भनेर जिल्ला विकास समिति सिन्धुलीले पटक÷ पटक भन्दै आईएको छ । तर काम अहिले सम्म सुरु हुन सकेको छैन । 

ऐतिहासिक सिन्धुलीगढीलाई संरक्षण गर्नको लागि पुरातत्व विभाग र सम्बन्धित स्थानिय निकायले चासो नदेखाउदा दरबारको पहिचान नै हराउने चिन्तामा  स्थानीय सरोकारवाला रहेका छन् । यसो त मूल दरबारका जस्तापाता, कला र कृतिहरु चोरी भइसकेका छन् । 

दरबारको अवलोकन गर्न  पुग्नेहरु मर्मत सम्भार नहुँदाको भद्रगोल देखेर खिन्न भएर फर्कने गरेका छन् । 

कमलामाई नगरपालिकाको मेयर खड्ग खत्रीले दरबारको पुरानो संरचनालाई कलर गरेर राखेको बताउँदै विजयोत्सवको दिन सहिदहरुको सम्झनामा बनाईएको मनोस्मृतति स्तम्भको उदघाटनको तयारीमा रहेको बताए ।

नेकपा एमालेबाट नगरपालिकाको मेयर बनेका खत्रीले दरबारको विकास बारे भने केहि खासै खुलाएनन् ।         

विजयको सम्झनामा साइकल यात्रा 
यसैबीच विजयोत्सवको अघिल्लो दिन काठमाडौ —सिन्धुली साईकल यात्रा सुरु गरिएको छ । यात्रामा विश्व साईकल यात्री पुष्कर शाहसहित  १ सय १३ जना साईकल यात्री र ५७ जना व्यवस्थापन समितिका टोलि रहेको जनाइएको छ । 
सम्वृद्ध सिन्धुली अभियान , नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम र कमलामाई नगरपालिकाको सहकार्यमा साईकल यात्राको आयोजना गरिएको  पत्रकार डन्ड गुरुङले जानकारी दिए । आज विहान ८ः३० बजे उपराष्ट्रपति नन्द बहादुर पुनले साइकल यात्रीलाई बिदाई गरेका थिए । 

साईकल यात्रा आज सिन्धुलीको खुर्काेटमा बास बसेर भोलि विजयोत्सवको दिन सिन्धुलीगढीमा पुग्नेछ । विपि राजमार्गको बनेपा— सिन्धुली—बर्दिबास सडकखण्डको १ सय ५३ किलोमिटर दूरी पार  गरी सिन्धुलीगढी पुगिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप