मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भृकुटीमण्डपमा काँग्रेस महाधिवेशन : कार्यकर्ताको नाचगानदेखि झाँकीसम्म, तस्बिरमा हेर्नुहाेस्

शुक्रबार, २४ मङ्सिर २०७८, १४ : २१
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ। यतिबेला भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन कार्यक्रम जारी रहेको छ । उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने उनले बताए।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने भएको छ । भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेको काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

उद्घाटन समारोहमा देशका प्रमुख पार्टीका नेता र विदेशी प्रतिनिधिले आ–आफ्ना धारण राख्ने र पार्टीका नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ।  सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ। उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ।

महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ। यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ।

यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन्। अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि महाधिवेशनसम्बन्धी आवश्यक विवरणसहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ।

महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि सुन्धाराका विभिन्न होटलमा व्यवस्था गरिएको छ। यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ। महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ।

यसैगरी पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ। उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र  दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप