आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनस्थलमा फरक-फरक प्रचार शैली, तस्बिरमा हेरौं

शुक्रबार, २४ मङ्सिर २०७८, २१ : २१
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटी मण्डपमा आज उद्घाटन गरिएको छ । विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा भृकुटीमण्डपमा आजबाट काँग्रेसको महाधिवेशन उद्घाटन गरिएको हो ।

महाधिवेशन अन्तर्गत आज उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको छ भने आजै साँझबाट बन्द सत्रको कार्यक्रम सुरु हुनेछ । महाधिवेशनको बन्द सत्रले काँग्रेसको आगामी नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवार घोषणा गरिरहेका छन् भने उम्मेदवारहरु महाधिवेशन उद्घाटन सत्रदेखि नै प्रचार प्रसारमा खटिएका छन् ।

केही महाधिवेशन प्रतिनिधिहरु र कार्यकर्ताको सहयोगमा उम्मेदवारहरु महाधिवेशन उद्घाटन स्थलमा उपस्थित प्रतिनिधिहरुसँग मत माग्न व्यस्त देखिन्थे । महाधिवेशन उद्घाटन स्थलमा उम्मेदवारहरु विभिन्न शैलीबाट आफ्नो प्रचारमा सक्रिय रहेका थिए । केही उम्मेदवारहरु नाराबाजी गर्दै मत माग्दै थिए त केही नाँच गानबाट मत माग्दै थिए ।

केही उम्मेदवारहरुले कार्यकर्ताहरु परिचालन गरेर पर्चा, पम्प्लेट, पोस्टर र कार्डहरु वितरण गरिरहेका थिए । केहीले भने फ्लेक्स प्रिन्ट बोर्डबाट उम्मेदवारको प्रचार प्रसार गरिरहेका थिए । महाधिवेशन उद्घाटन भए देखिनै उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारका लागि सचिवालय स्थापनादेखि कार्यकर्ता परिचालनको काममा लागेका छन् ।

स्याङ्जाका लक्ष्मण भुसालको नेतृत्वमा एक हुल युवाको टोली काँग्रेसमा अब युवा नेतृत्व आउनुपर्ने भन्दै महामन्त्री पदका उम्मेदवार गगन थापाको व्यानरसहित प्रचार प्रसारमा खटिएका देखिन्थे । उनले काँग्रेसमा अहिले नेतृत्व हस्तान्तरणको आवश्यका रहेको भन्दै पुराना नेताहरुले विश्राम लिएर सल्लाहकारको भूमिकामा रहनुपर्ने धारणा राखे ।

त्यस्तै धादिङका भगवान कुमालले केन्द्रीय सदस्य पदका उम्मेदवार रमेश धमलाको पक्षमा प्रचार प्रसार गरिरह्का थिए । उनीसँग केही युवाहरु धमलाको फोटोसहितको पोस्टरको माला लगाएर प्रचार गरिरहेका थिए । अहिले काँग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले यो महाधिवेशनले जनताको काम गर्ने, जनताको सुख दुःखका सारथीलाई चुन्न सक्नुपर्ने बताए ।

त्यस्तै महाधिवेशनस्थलमा केन्द्रीय सदस्य पदका उम्मेदवार उदयशमशेर राणा स्वयम् युवाहरुको टोलीका साथमा महाधिवेशन प्रतिनिधिहरुलाई भेटेर मत माग्न खटिएका थिए । त्यस्तै केन्द्रीय सदस्य पदका उम्मेदवार जिपछिरिङ लामाको पक्षमा कार्यकताहरुले मत माग्दै नाराबाजी नै गरेका थिए ।

केन्द्रीय सदस्य पदका आर्क उम्मेदवार ओमबहादुर घर्ती मगर (ओम थापा)ले आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरी कौडा नाँच नचाउँदै चुनावी प्रचार प्रसार गरेका थिए ।

काठमाडौंका राजेन्द्रकुमार केसी (राजन)ले आफ्नो उम्मेदवारीको प्रचारका लागि फ्लेक्स प्रिन्ट बोर्ड एक व्यक्तिलाई बोकाएर महाधिवेशन स्थलमा घुमाएका थिए । बाराबाट आएका केही प्रतिनिधि र कार्यकर्ताहरु काँग्रेसको केन्द्रीय सह–महामन्त्री पदका उम्मेदवार फमुल्लाह मन्सुरको पक्षमा मत माग्दै महाधिवेशन स्थलमा व्यानर प्रदर्शन गर्दै नारासहित र्याली निकालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप