बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुस्तकमार्फत संविधान निर्माणको स्वामित्व : सीके लाल

'यो कथा एक पक्षीय छ'
शनिबार, २५ मङ्सिर २०७८, ०७ : ३५
शनिबार, २५ मङ्सिर २०७८

नरहरिजीको पुस्तक पढ्न निकै आँट गर्नुपर्छ । यो पुस्तकबारे बोल्न चुनौतीपूर्ण लागे पनि मैले स्वीकार गरेँ । यसबारे केही पृष्ठभूमि दिनुपर्ने हुन्छ ।

उहाँसँगको परिचय दुवै विद्यार्थी हुँदा सन् १९८० देखिको हो । उहाँ विद्यार्थीकालदेखि नै राजनीतिक रूपमा सक्रिय, म सुषुप्त मात्रै । पछि १९९० मा हाम्रो पेसागत समूहको अगुवाको रूपमा देखापर्नुभयो । यो समय उहाँको पार्टीगत राजनीति सुरु भइसकेको थियो । यद्यपि औपचारिक रूपमा ४ वर्षपछि आउनुभयो । जसरी १९८० पछि हामी आआफ्नो बाटो लागेका थियौँ, १९९० को आन्दोलनको सफलतापछि पनि आआफ्नो बाटो लाग्यौँ । उहाँले आफ्नो बाटो लामै तय गर्नुभयो । तर हाम्रो सद्भाव रहिरह्यो । अफ्ठ्यारो बेलामा हामी सँगै पर्न जाँदा रहेछौँ ।

पछि माओवादीहरूको सशस्त्र आन्दोलन सुरु भएपछि सँगै आउनुपर्ने बाध्यता आइलाग्यो । त्यसपछि उहाँ केही लेख्नुहुन्थ्यो, म पनि केही लेख्थेँ, बोल्थेँ । मलाई उहाँ आवश्यक महसुस भइरहेका बेला उहाँले नै फोन गर्ने गर्नुहुन्छ, तपाईंको यो कुरा चित्त बुझेन अथवा यो कुरा ठीक छ भन्नुहुन्छ ।

शाही सैनिक शासन सुरु भएपछि हाम्रो भेटघाट पुनः सुरु भयो । योबेला सँगै छलफल गथ्र्यौं । उहाँ पुस्तक लेख्नुहुन्थ्यो, राजनीतिक प्रस्तावनाहरू लेख्नुहुन्थ्यो । त्यसको बारेमा छलफल हुन्थ्यो । जनगणतन्त्र किन हुँदैन, लोकतन्त्र किन उपयुक्त हुन्छ ? जस्ता वैचारिक छलफल हुनेगथ्र्यो ।

सन् २००८ पछि सामान्य अवस्थामा एकत्व त्यति जरुरी नहुने रहेछ र हामी आआफ्नो बाटो लाग्यौँ । त्यस हिसाबले भन्दा आत्मीयता चाहिँ पुरानो हो, खासै निकटता चाहिँ कहिले पनि भएन । उहाँ राजनीतिकर्मी, त्यो चलिरह्यो ।

शारदाजी कविका रूपमा हुनुहुन्छ, उहाँको प्रसंशक पनि हुँ । किनभने कविता पढ्न सजिलो हुन्छ, कविता बुझ्नका लागि शब्दकोश पल्टाउनु पर्दैन, धेरै दृष्टिकोण पनि बुझ्नुपर्दैन । अर्थको लागि भाषा बुझ्नुपर्छ, कविता बुझ्नलाई भाव बुझे पुग्छ । त्यो ठम्याउन खास गाह्रो हुँदैन । त्यसैले शारदाजीको कुरा बुझ्न चाहिँ मलाई सजिलो लाग्छ ।

यति पृष्ठभूमि भनिसकेपछि मैले भन्नुपर्ने कुरा यो उहाँको आफ्नो कथा हो । यो पुस्तकले जीवनलाई पाठशालका रूपमा लिने हो भने जीवन सहज हुन्छ भन्छ । दुःख र सुख हरेकका जीवनमा छन् । दुःखले धेरै सिकाएर जान्छ, सुखले खास केही सिकाउँदैन । जीवनलाई पाठशालका रूपमा लिने हो भने फर्केर हेर्दा दुःख केही होइन जस्तो लाग्छ । त्यसैले यो जीवन एक पाठशाला नामकरण मेरो विचारमा उपयुक्त किसिमको छ ।

यो जीवनलाई हेर्ने शैली हो तर त्यो निकै उपयुक्त हो । पुस्तक पल्टाएर हेर्नुभयो भने यसमा घटनाहरूको जीवन छ, सिलसिला छैन । तर घटनाहरूको विवरण छ ।

यसमा काठमाडौँको बाल्यकाल छ, चुँदीरम्घामा विताएको केही पलहरू छन् । त्यो समयको मध्यम वर्गीय काठमाडौँ उपत्यकाभित्रको ब्राह्मण समाजको चित्रण छ । सम्बन्धहरू, महिला पुरुषको सम्बन्धको चित्रण छ । दरबारसँग नजिक पनि भएको तर नजिक हुन नसकेको, टाढा हुन खोजेको, टाढा हुन नसकिने त्यस्तो किसिमको चुनौती छन् । ती घटनाले बाल्य मन र पछि युवा मनमा पारेको प्रभावको बारेमा अलिकति आत्मचिन्तन पनि छ । मूल्याङ्कन पनि छ । त्यसले छोडेको छापहरूका बारेमा पनि केही गन्थन पनि छ ।

जीवन सबैको प्रायः उस्तै उस्तै हुन्छ । भावनाहरू, दुःख, सुख, भोक, प्यास लाग्ने, सम्बन्धहरू सबैको केही न केही मिल्दोजुल्दो हुन्छ । यो दुई खुट्टे जनावरहरूको हामीलाई धेरै फरक लागे पनि अफ्रिकाको, ल्याटिन अमेरिकाको जहाँको भए पनि मूलभूत भावना, सम्बन्धहरूले उत्पन्न गराउने भावहरू एकनासका हुन्छन् । त्यसकारण यो जुनसुकै पाठकलाई उपयोगी लाग्न सक्छ ।

लेखकको लेख्ने दृष्टिकोण चाहिँ एउटा प्र्रौढ व्यक्तिको जस्तो छ । ५० नाघेपछि १०० पुगेसम्म सबै ज्येष्ठ नागरिक हुन्छन् । ज्येष्ठ नागरिक भइसकेपछि अरूबेला जे भए पनि एक पटक ऐनामा हेरिन्छ । ऐनामा हेर्दा आँखाको तल एक दुईवटा चाउरी, कपाल केही सेतो, कसैको खुइलेको हुन्छ, ती हरेकसँग एउटा कथा हुन्छ । कपाल लामो हुँदाको कथा, चस्मा नलगाउँदाको कथा, गगल्स लगाउँदाको जुन अपिलिङ हो त्यसको कथा, हरेक सम्झनासँग सयकडौँ, हजारौँ कथाहरू जोडिएका हुन्छन् । त्यो आफ्नै खटिराहरूको चेट होस् वा चम्केको बेलाको आनन्द होस्, त्यो सबै फर्केर हेर्ने जुन दृष्टिकोण छ त्यो चाहिँ यो पुस्तकमा मजाको छ । विचार त्यसबाट उत्पन्न हुने हो ।

भन्न त यो विवेकको र विचारको कुरा हो भनिन्छ । तर विवेक र विचार त शून्यबाट आउँदैन । विचार भनेको पनि अध्ययनबाट आउँछ, संस्कृतिबाट आउँछ । कुन पृष्ठभूमिमा हुर्केको हो, त्यसको आधारमा आउँछ । विवेकको निर्माण संस्कार र संस्कृतिबाट हुन्छ । यी कुरा कुनै पनि शून्यतामा हुँदैन । ती कुरा पुस्तक पढ्दै जाँदा अहिले नरहरिजीको विवेक र विचारको पृष्ठभूमि के हो ? त्यो हेर्नलाई उहाँको बाल्यकाल र छात्र अवस्था, खासगरी तीनधारा पाकशालामा उहाँले विताएका समयबारे छ । त्यसबाट चाहिँ फर्केर हेर्नुपर्छ । किनभने पत्रकारितामा, राजनीतिमा, कूटनीतिमा या प्रशासनमा होस्, तीन धारा पाकशालाको निर्णायक प्रभाव रहँदै आएको छ ।

बीपी कोइरालाको जेल जर्नल किन लेखिएको हो भन्नेबारे मित्रजन सुशील शर्मा र राजेन्द्र दाहालजीहरूसँग छलफल हुन्थ्यो । यो जर्नल शब्द किन प्रयोग भएको होला भन्दा फ्रान्सेली भाषाबाट आएको यो शब्द दिन र यात्रालाई जोडेर बनाइएको हो । डेलीका लागि डायरीभन्दा जर्नल शब्द उपयुक्त हो भनेर छनोट गरिएको हो । त्यो किसिमको जर्नल पढेको अनुभव हुन्छ । यसमा उहाँको दैनिकी छ । यससँगै आध्यात्मिक यात्रा, राजनीतिक यात्रा, भौतिक यात्राका बारेमा पनि यसमा छ । यो जीवनयात्रा सिलसिलेवर चाहिँ छैन । यसमा बाल्यकाल, छात्रजीवन, प्राध्यापन, राजनीतिक पृष्ठभूमिको समयको छ । बाहुनहरूमा चलेको वर्गीय भाषा प्रस्तुत छ ।

पुँजी भनेको आर्थिक मात्र होइन, त्यो खर्च पनि तुरुन्तै हुन सक्छ । कमाउन लामो समय लाग्ने पुँजी भनेको सामाजिक पुँजी हो, सांस्कृतिक पुँजी हो । यी दुई पुँजी जोसँग हुन्छ, त्यसलाई आर्थिक पुँजी अथवा बौद्धिक पुँजी जम्मा गर्न खासै गाह्रो हुँदैन । मधेसी, जनजाति, मुसलमान, दलितहरू यो पुँजीभित्र पर्दैन । देवेन्द्रराज पण्डेको यस्तै पुस्तक सार्वजनिक भएका बेला पाल्पाका सचिव भएका, मन्त्री भएका सङ्घर्ष गरेर लेखियो भनेर पढ्दा त कस्तो आनन्द आउने भने । सङ्घर्ष सबैको जीवनमा हुन्छ । राजा वीरेन्द्रको जीवन पनि सङ्घर्षमय थियो । बाटो जुत्ता सिउने मोचीको जीवन पनि सङ्घर्षमय थियो । जीवन छ भने सङ्घर्ष छ ।

राजनीतिज्ञहरूको जीवन अक्वोरियमको माछा जस्तो हुँदो रहेछ । कतिबेला त्यहाँ खोनेकुरा हाल्यो ।  तापक्रम मिलायो, कम भएका बेला बत्ति सुचारु गर्यो । कतिबेला धेरै गरम भयो भने बत्ति अफ गर्यो । सन् १९९० पछिका उनको जीवनको पाठशालका पानाहरू हेर्ने हो भने नयाँ जस्तो लाग्दैन । चुँदीरम्घा पढ्दा गण्डक क्षेत्रको ग्रामीण जीवनको जीवनशैली निकै रुचिकर लागेको छ ।

यो अक्वोरियमको जिन्दगीमा उहाँले पदलाई दायित्वका रूपमा लिनुभएको देखिन्छ । पद त धेरैले लिएका छन् । राष्ट्रपति, प्रधानमन्त्री भएका छन् तर जुन पदमा बसियो त्यसलाई दायित्वका रूपमा ग्रहण गर्ने चोट बुझ्न यो पुस्तकले सहयोग गर्छ । यसमा उहाँको भूमिका एउटा विचारकको रूपमा देखापर्छ । विचारकको रूपमा उहाँको भूमिकालाई अब्बलभन्दा फरक पर्दैन ।

दोस्रो, विचारकभन्दा महत्त्वपूर्ण भूमिका राजनीतिक दलमा प्रचारकको हुन पुग्दो रहेछ । यद्यपि उहाँ सबै जिल्लामा, गाउँगाउँमा पुग्नुभएको छ । मधेस चाहिँ काठमाडौँका राजनीतिककर्मीको राडार बाहिर हुन्छ । त्यसैले मधेसमा त्यति धेरै होइन । तर पहाडमा चाहिँ पूरै पुग्नुभएको छ । प्रचारकमा अलिकति कम, दोयम भन्नुपर्ला भूमिका ।

विस्तारै प्रचार गरिसकेपछि यो प्रचारलाई थाम्नका लागि केही व्यक्तिहरूको छनोट गर्नुपर्ने हुन्छ । नेटवर्क बनाउने, सञ्जाल बनाउनेमा चाहिँ उहाँ सिममा पुग्नुहुन्छ ।

उहाँको चौथो भूमिका सङ्गठकको हुन्छ । सङ्गठकमा पनि धेरै उत्साहवद्र्धक भूमिका देखिँदैन । यो अक्वोरियमको माछाको जिन्दगीजस्तो पल, पल नियालेको जस्तो गरे पनि सङ्गठकको रूपमा भूमिका त्यति धेरै देखिँदैन । फेरि उत्प्रेरकको भूमिकामा उहाँ अब्बल हुनुहुन्छ । राजनीतिकर्मीका यी पाँच भूमिका– विचारक, प्रचारक, विस्तारक, सङ्गठक र उत्प्रेरकमा उहाँ उत्प्रेरकमा चाहिँ अब्बल भएर देखापर्नुभएको छ ।

उहाँले संविधान निर्माणको स्वामित्व लिनुभएको छ । त्यसैले मजस्तालाई अब सजिलो हुन्छ । यो संविधानले मधेसी, जनजाति, दलितलाई समन्याय गरेन भन्नेहरूलाई कसलाई गाली गर्ने भनेर बडो अफ्ठ्यारो थियो । सुशील कोइरालालाई भेट्न जाँदा भन्नुहुन्थ्यो ओलीजीले मान्दै मान्नुभएन । पुष्पकमल दाहाललाई भेट्न जाँदा हेर्नुस् न ओलीजीले मान्दै मान्नु भएन भन्नुहुन्थ्यो । ओलीजीले कुरा गर्न मान्दै मान्नु भएन । अब चाहिँ गाली गर्नु पर्यो भने नरहरिजीलाई सजिलै गाली गर्न पाइने भयो । किनभने अन्तिम जुन परिच्छेद छ, संविधान बनाउने पूरा स्वामित्व अरू कसैले ग्रहण नगरे पनि नरहरिजीले यस पुस्तकमार्फत पूरै स्वामित्व ग्रहण गर्नुभएको छ । अब त्योसँग क्रेडिट लिने हो भने यो आगो सल्काएको अपराधको केही भागीदार त हुनुपर्छ । सभासदहरूले दुई दिन लगाएर अध्ययन गरेर पास गरेको संविधान हो । छ सयभन्दा बढीले अध्ययन गरेको त्यत्रो लामो दस्तावेज राम्रै होला नि ।

पुस्तकमा पढ्न लायक देवेन्द्रराज पाण्डेको भूमिका पनि छ । किनभने त्यतिबेला देवेन्द्रराज पाण्डे, नरहरि आचार्य, पद्मरत्न तुलाधर, डा. मथुराहरू नै हो । पछि फेरि अफ्ठ्यारो परेको बेला उहाँहरू नै हाम्रा नेता बन्ने त्यो संसर्गलाई लिएर राम्रो भूमिका लेख्नुभएको छ ।

जयराज आचार्यजीले ब्लर भन्नुभएको छ, परिचयजस्तो । त्यो अन्तिम पृष्ठमा छ । पुस्तक पढ्न चाहिँ त्यहाँबाट सुरु गरे हुन्छ । त्यसपछि देवेन्द्रराज पाण्डेको भूमिका पढे हुन्छ । सबैभन्दा छोड्नै नहुने चाहिँ यो पुस्तकलाई अथ्र्याउने उत्तरपीठिका (पीठिका– पूजा गर्ने ठाउँ, ज्ञान सङ्कलन गरेर राख्ने ठाउँ) सबै सङ्कन गर्ने काम चाहिँ शारदाजीले गर्नुभएको छ ।

कसैलाई पढ्न अल्छी लाग्छ, पुस्तक किनिहालेँ नरहरिजी चिनेकै हो । यत्रो मिहिनेत कसले गरोस् भन्ने लाग्यो भने पनि उत्तरपीठिका चाहिँ अवश्य पढ्नुहोला । त्यति मात्रै पढे पनि यो पुस्तकमा केही छुटेजस्तो लाग्ने छैन । किनभने नरहरिजीको योगदान एकदमै स्पष्ट छ ।

उहाँका बारेमा हामी नै लेखिरहेका हुन्छौँ । हामीजस्ता दशौँले लेखिरहेका हुन्छन् । टेलिभिजनले देखाइरहेको हुन्छ । उहाँ बिरामी भएको प्रत्येक दिनका डाक्टरहरूको प्रतिवेदन पनि सुनिरहेका हुन्छौँ, उहाँको सङ्घर्षको कथा पनि आइरहेको हुन्छ । त्यसको पृष्ठभूमि बुझ्न चाहिँ गजब छ । तर साह्रै अल्छी गर्ने पनि हामी माझ हुन्छौँ । किताब पढ्ने बानी हट्दै गएको छ, ट्विट पढ्ने, फेसबुक पढ्ने जमात बढ्दै गएको छ । त्यसैले यो पुस्तक कसरी लेखियो भन्ने नरहरिजीको सुरुको पाठ, जयराजजीको ब्लर, देवेन्द्रराज पाण्डेको भूमिका र शारदा शर्माको उत्तरपीठिका नछुटाउनुस् ।

एक ठाउँमा उहाँले आचार्यहरू कहिलेदेखि चुँदीरम्घामा बस्न थाले, त्यसको यथार्थ इतिहास प्राप्त छैन भनेर टिप्पणी गर्नुभएको छ  । एक पटक हिमाल साउथ एसियाको अफिसमा यी आचार्यहरू कहाँबाट आए भनेर चर्चा चल्यो ।  यो खोज्न सीकेजी नै लाग्नुपर्छ भनेर कमलजीले भन्नुभयो र म लागेँ पनि । धेरै गहिरोसँग जान चाहिँ सकिएन । किनभने यसको इतिहास बुझ्नलाई अङ्ग्रेजीमा लेखिएको पढ्ने हो भने त्यसको पूर्वाग्रह खालि अङ्ग्रेजीको मात्रै आउँदैन । अङ्ग्रेजीमा लेख्नेहरूको स्रोत त्यहाँका पण्डित हुन्थे, संस्कृत जानेका । त्यो पूर्वाग्रह पनि आउने भयो । दोस्रो स्रोत फारसी जानेका हुन्थे । फरसी जान्नेले पनि पण्डितलाई नै सोधे ।

तसर्थ यो कथा एक पक्षीय छ । एक पक्षीय कथाले के भन्छ भने दक्षिण भारतमा त्यसको पश्चिमी समुद्री किनारामा महाराष्ट्रको कोङ्कोण क्षेत्रदेखि लिएर कर्णाटकको उड्पीदेखि लिएर केरलको पद्मनाभ मन्दिरसम्म गौड सारस्वत ब्राह्मण भन्ने समुदाय छ । सानो तर बढो प्रभावशाली छ । सम्पत्तिमा विजया माल्याजस्ता, सुन्दरीमा दिपिका पादुकोण जस्ता, विद्वानमा त गनेरै साध्य छैन, शङ्कराचार्यदेखि माधवाचार्यसम्म  छन् । गौड सारस्वत ब्राह्मणले आफूलाई पञ्चगौड आफूलाई ठूलो ब्राह्मण मान्ने, त्यो भनेको बङ्गाल पूर्वीया भनिनेहरू, सारस्वत ब्राह्मण आफूलाई ठूलो मान्ने । किनभने हामी त काश्मीरबाट आएका आर्यहरूको मूल जुन हो, सरस्वती नदीको किनारमा हाम्रो बास भएर सारस्वत भएको हो । गौड सारस्वत चाहिँ हामी दुवै भएकाले सबैभन्दा उच्च छौँ भन्छन् । यी दुवैको समूह बारम्बार पहाडतिर उत्तर जान थाले । माधवाचार्यका शिष्यहरू मुक्तिनाथ पुग्ने, शङ्कराचार्यका शिष्यहरू पशुपतिनाथ आउने । माधवाचार्यका केही शिष्यहरू १३औँ शताब्दीदेखि पटक पटक आए । ती पनि गण्डक किनारमा रहेका फेरि कर्णटक, महाराष्ट्रमै बिहेबारीका लागि पुग्ने गरेका थिए । अनौपचारिक प्रसङ्गमा पनि बीपी कोइरालाले चितपालन, महाराष्ट्रका ब्राह्मणहरू पनि नेपाल पुगेका छन् भनेर उनका पिताजीसँग, परिवारसँग सान्निध्य देखाए ।

त्यो कुन समूहको हो भनेर लेखिएको खोज्न गाह्रो होला तर मौखिक इतिहासमा जाने हो भने खोज्न सकिन्छ । त्यसका लागि स्रोत खोज्नुपर्ने हुन्छ । त्यो स्रोत खोज्ने अनुसन्धानकर्मीहरूले गर्नुपर्छ । केही पारिवारिक कथाहरू पनि लेखिनुपर्छ । केही वर्षअघिदेखि त्यसको सुरुवात भइसकेको छ । सरदार दीपबहादुर पाण्डे, आचार्य राममणि दीक्षितले त पहिलेदेखि नै लेखेका हुन् । यो आत्मवृत्तान्त लेख्ने पनि इतिहासको एउटा कच्चा पदार्थको रूपमा सामग्री उपलब्ध गराउँछ । स्वाभाविक हो– आत्मवृत्तान्त भएपछि एक पक्षीय हुन्छ । पूर्वाग्रह स्वाभाविक रूपमा आउँछ । यदि मान्छे बाँचेको छ भने ऊसँग आग्रह हुन्छ नै । त्यसलाई खोज्ने प्रयत्न गर्नुपर्छ । जीवन हो उपनिषद्ले भनेझैँ चरैवती चरैवती– हेर्दै सिक्दै जाने हो । लामो उपलब्धिमूलक जीवनका लागि धेरै धेरै शुभकामना छ नरहरिजीलाई । शारदाजीलाई शुभकामनाका साथै धन्यवाद पनि छ ।

(नरहरि आचार्यद्वारा ‘लिखित जीवनको पाठशाला : सम्झना र सम्बन्ध’ विमोचन कार्यक्रममा लेखक तथा पत्रकार सीके लालले दिएको पुस्तक अन्तरक्रिया ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप