मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रिङरोड बाहिर मेलम्चीको पानी पठाउन अध्ययन सुरु (भिडियोसहित)

शुक्रबार, २४ कात्तिक २०७४, १२ : ४९
शुक्रबार, २४ कात्तिक २०७४


मेलम्ची खानेपानी आयोजना अन्तर्गत काठमाडौँमा पानी वितरण प्रणाली अर्थात पाइपलाइन विच्छ्याउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समिति अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका उपपनिर्देशक दिवाकर ढकालले वितरण प्रणालीको ५० किलोमिटर र थोक वितरण प्रणालीको १० किलोमिटर पाइपलाइन विस्तार गर्न बाँकी रहेको जानकारी दिए । 

घरघरमा पानी वितरणका लागि ६ सय ६० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ६ सय १० किलोमिटर पाइप विछ्याइसकिएको छ । यस्तै थोक वितरण प्रणालीको ६० किलोमिटरमध्ये ५० किलोमिटर पाइपलाइन विस्तार भइसकेको छ । वर्षात र चाडपर्वका कारण केही समय काममा ढिलाइ भए पनि अब कामले गति लिने र छिट्टै पाइपलाइन विस्तारको काम सकिने उपनिर्देशक ढकालको भनाइ छ । 

पाइपलाइन विस्तारमा ढिलाइ हुनुमा स्थानीय समुदायबीच भएको विवाद पनि एक कारण रहेको छ । उपनिर्देशक ढकालले भने– ‘कतिपय स्थानमा स्थानीय समुदायको अवरोधका कारण पनि काम रोकिएको छ । कोटेश्वर, कपनलगायतका क्षेत्रमा विवाद आएपछि टोलवासीसँग छलफल गरेर काम अघि बढाँउँदैछौँ ।’
उनका अनुसार कतिपयले पाइप विछ्उनुपर्ने जग्गाको मुआब्जा मागेर अवरोध गरेका छन् भने कतै पानी लाने रुटका बारेमा छिमेकीहरूले विवाद झिकेका छन् । 
मुख्य पाइपलाइन राख्न बाँकी माइतीघर भद्रकाली सडक खण्ड, बालाजु र जाउलाखेलमा पनि काम सुरु गर्न लागिएको छ । 

ढकालका अनुसार वितरण प्रणालीको पाइपलाइन द्रुतगतिमा विस्तार गरेर सुन्दरीजलमा मेलम्चीको पानी झरेको ३ महिनाभित्र उपभोक्ताको घरको धारामा पानी पुग्नेछ । 

मेलम्ची खानेपानी आयोजनामा अहिले भइरहेको कामको गति हेर्दा माघ फागुनसम्म काठमाडौँमा मेलम्चीको पानी आइपुग्ने अनुमान गरिएको छ । मेलम्चीबाट प्रतिसेकेन्ड २ हजार लिटर पानी सुन्दरीजलमा झर्नेछ । अर्थात देनिक १७ करोड लिटर पानी काठमाडौँ आउनेछ  ।
  
पानी सङ्कलन केन्द्रको ७५ प्रतिशत काम सकियो 
मेलम्ची खानेपानी विकास समिति अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले निमार्ण गरिरहेको पानी सङ्कलन तथा प्रशोधन केन्द्रको ७७ प्रतिशत काम सकिएको छ । अहिले ती केन्द्रहरूको फिनिसिङको काम भइरहेको उपनिर्देशक ढकालले जानकारी दिए । 

काठमाडौँको सुन्दरीजल, आरुबारी, महाङ्काल, बाँसबारी, कीर्तिपुर, पानीपोखरी, बालाजु, खुमलटारमा पानी सङ्कलन तथा प्रशोधन केन्द्र निमार्णको काम पनि अन्तिम चरणमा पुगेको हो । अहिले यी केन्द्रहरूमा फिनिसिङको काम भइरहेको हो । 

मेलम्चीको पानी सुन्दरीजलमा आएपछि निमार्ण भएका उक्त पानी सङ्कलन केन्द्रमा पठाइनेछ र त्यहाँबाट काठमाडौैँको चक्रपथभित्रका घरहरू वितरण गरिनेछ ।
यसैबीच मुख्य पाइपलाइन सफाइको काम पनि भइरहेको छ । बागमतीको प्रशोधित पानीले सुन्दरीजलदेखि काठमाडौंको महाङ्कालसम्मको मुख्य पाइपलाइन सफाइ गरिएको हो । अन्य स्थानमा पनि सफाइको काम जारी रहेको उपनिर्देशक ढकालको भनाइ छ । 

चक्रपथ बाहिर पानी लैजान अध्ययन सुरु  
मेलम्चीबाट आएको पानी पहिलो चरणमा काठमाडौँ उपत्यकाका चक्रपथभित्र मात्र वितरण गरिने भएको छ । चक्रपथ बाहिर घना बस्ती भएका क्षेत्रमा पनि पानी वितरणका लागि अध्ययन थालिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

आयोजना उपप्रमुख दिवाकर ढकालले भने– ‘रिङरोड वरिपरि र बाहिर पनि कसरी समेट्न सकिन्छ भन्ने बारेमा अध्ययन थालेका छौँ ।’ एसियाली विकास बैङ्कको प्राविधिक सहयोगमा चक्रपथ बाहिरका क्षेत्रमा अध्यययन थालिएको हो । उक्त अध्ययन टोलीले ४ महिनामा अध्ययन प्रतिवेदन तयार पार्नेछ । उक्त प्रतिवेदनका आधारमा चक्रपथ बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी वितरणका लागि काम गर्नेबारेमा टुङ्गो लाग्नेछ । 

पानी वितरणमा दुई नेटवर्क
चक्रपथभित्र रहेका घरमा दुई नेटवर्कबाट पानी  वितरण गरिने भएको छ । सुरुमा पुरानै पानी वितरण गर्दै गएको पाइपलाइनबाट पानी पठाइने छ भने बिस्तारै पुरानो नेटवर्क बन्द गरी नयाँ पाइपलाइनबाट पानी पठाइने आयोजना उपप्रमुख ढकालले जानकारी दिए । उनले भने– ‘सुरुमा एकैचोटि नयाँबाट पानी वितरण हुँदैन, विस्तारै पुरानो बन्द गर्छौैँ र नयाँ चलाउँदै जान्छौँ । 

मेलम्ची खानेपानी विकास समितिका अनुसार हालसम्म २७ हजार ५ सय ८४ दशमलव ५ मिटर सुरुङमध्ये २६ हजार २ सय २४ दशमलव ५ मिटर सुरुङ निमार्ण सम्पन्न भइसकेको छ । अब १३ सय ६० मिटर सुरुङमार्ग निमार्णको काम बाँकी छ । 

हेर्नुहोस भिडियो :
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप